• १३ साउन २०८१, आइतबार

बाली जोगाउन भोटे कुकुर वितरण

blog

अर्घाखाँची चैत ७ गते । पाणिनी गाउँपालिका पोखराथोकमा वन्यजन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नस्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताउनुभयो । 

बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका सबै गाउँ समेटिने गरी किसानका मागका आधारमा भोटे कुकुर वितरण गरिएको जनाइएको छ । बाँदरका कारण बाली जोगाउन मुस्किल भएका तथा वन्यजन्तुबाट हैरानी खपेका किसान पनि भोटे कुकुर पाएपछि खुसी भएका छन् । पोखराथोकका किसान भाष्करराज पौडेलले भन्नुभयो, “वन्यजन्तुबाट खेतीपाती तथा फलफूल जोगाउन मुस्किल छ । बाँदर तथा वन्यजन्तुबाट पाइरहेको हैरानी भोगेका हामीलाई भोटे कुकुर पाएपछि खुसी भएका छौँ ।” किसानहरूको २५ प्रतिशत र वडा कार्यालयको ७५ प्रतिशत लागतमा ती कुकुर वितरण गरिएको हो । 

वडा अध्यक्षसहित गाउँपालिकाको कृषि तथा पशु शाखाका प्राविधिकहरू समेतले धादिङ भोटे कुकुर क्लब अफ नेपाल, पोखरा महानगर पालिकाको वडा नम्बर २१ र माछापुच्छ्रे गाउँपालिकाबाट खरिद गरी ल्याइएका ती भोटे कुकुर आज किसानलाई एक कार्यक्रममार्फत वितरण गरिएको हो । सबै कुकुरको स्वास्थ्य प्रतिवेदन, डिएनए परीक्षण भइसकेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो । चालिसदेखि ६० दिनसम्मका कुकुरहरूको खरिद मूल्य प्रतिकुकुर ३५ हजार छ । 

बाँदर र बँदेल जस्ता वन्यजन्तुले सताउन थालेपछि अर्घाखाँचीसहित पहाडी जिल्लाका मानिसहरूको बढ्दो बसाइसराइ रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त न्यौपानेले बताउनुभयो । रासस