• १३ साउन २०८१, आइतबार

बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुने न्यून

blog

ढोरपाटन (बागलुङ), चैत ७ गते । बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्छ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरू घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ । 

यहाँका महिलाले नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । पछिल्लो समय बरेङमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । पालिकाको ठाउँ-ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै ‘होमडेलिभरी’ शून्यमा झरेको हो । गर्भवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने, समय-समयमा गर्भ परीक्षण गराउनेलगायत काम थालेपछि मातृ शिशु मृत्युदर पनि कम भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो । 

“पहिलेको तुलनामा महिलाहरू शिक्षित र सचेत बन्दै गएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने चेतना वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “हरेक महिना स्वास्थ्य स्वयंसेविका गर्भवतीको घरमा पुगेर गर्भ परीक्षणबारे जानकारी दिने गरिएको छ ।” स्वास्थ्य शाखा प्रमुख पुनले गाउँपालिकाले समय-समयमा गर्भवतीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो । 

“पहिलाको जस्तो घरमै सुत्केरी हुने चलन कम हुँदै गएको छ । कहिले काहीँ एक-दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो दुई वर्षयता घरमै सुत्केरी भएको तथ्याङ्क हामीले पाएका छैनौँ । स्वास्थ्य स्वयंसेविका तथा नर्सिङ कर्मचारी गर्भवतीको घरमा गएर स्वास्थ्य परीक्षण गर्नुहुन्छ । आवश्यकताअनुसार स्वास्थ्य संस्थामा बोलाउनुहुन्छ ।” गाउँमा आमा समूहको बैठक हुँदा पनि गर्भवतीको स्वास्थ्य जाँचबारे सचेत गराउने गरिएको पुनको भनाइ छ । 

स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सुविधा रहेको भन्दै प्रत्येक महिना गर्भको जाँच, आमा र बच्चाको अवस्था बुझ्न भिडियो एक्स-रे गराइँदै आइएको उहाँले बताउनुभयो । भिडियो एक्स-रे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिर अस्पतालमा पठाउन गाउँपालिकाले पाँच हजार खर्च दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । हरेक गर्भवतीलाई बर्थिङ सेन्टरमा आउने जाने भाडासमेत दिने गरिएको उहाँले बताउनुभयो । दूरीका हिसाबले नजिकलाई एक हजारदेखि टाढालाई तीन हजारसम्म खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । 

बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । पाँच वडामा पाँच स्वास्थ्य चौकी र पाँच सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्य चौकी टाढा भएका स्थानीयलाई लक्षित गरी सामुदायिक स्वास्थ्य डकाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । पाँच स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उहाँको भनाइ छ । रासस