• १३ साउन २०८१, आइतबार

महिलालाई निर्णायक तहमा पुर्‍याउन माग गर्दै देशव्यापी बस यात्रा

blog

झापा, चैत ६ गते । अन्तर-पुस्ता महिला मञ्च (आइजिएफएफ)ले महिलालाई राष्ट्र निर्माणको निर्णायक तहमा पुर्‍याउनुपर्ने उद्घोषका साथ आज पूर्वी नाका काँकडभिट्टाबाट ‘देशव्यापी महिलावादी बसयात्रा’ सुरु गरेको छ । आज काँकडभिट्टा र सोमबार कञ्चनपुरबाट सुरु भएको बसयात्रा यही चैत ९ गते मध्यबिन्दु नवलपुरमा भेट हुने कार्यक्रम छ । 

महिलालाई राज्यको निर्णायक तहमा पुर्‍याउन देशव्यापी जागरण ल्याउनु बसयात्रा अभियानको उद्देश्य रहेको मञ्चका केन्द्रीय सञ्चालक समितिकी संयोजक डा.सुशान्त रिसालले बताउनुभयो । उहाँले परमुखी विकासको कुलो फर्काउनुपर्ने र महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि लैङ्गिक विभेदविरुद्ध सबै मोर्चामा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । 

बसयात्रा उद्घाटनका अवसरमा महिला टोलीले नै नौमति बाजा बजाएर नाचगानसहित अभियानका सहभागीलाई स्वागत गरेको थियो । उक्त अवसरमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पितृसत्तात्मक विभेद र थिचोमिचोविरुद्ध महिलाले साझा दृष्टिकोण बनाएर लड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले महिलालाई उपप्रमुख, उपाध्यक्ष, उपसभामुख र उपप्रधानमन्त्री तथा उपराष्ट्रपति जस्ता दोस्रो तहको नेतृत्वमा सीमित गराइएको भन्दै पार्टी र राज्यको पहिलो नेतृत्व तहमै पुग्न सबैले जोडबल गर्नुपर्ने बताउनुभयो ।

बसयात्रा उद्घाटन कार्यक्रमको संयोजन गरिरहेको महिला जनचेतना केन्द्र झापाकी अध्यक्ष सीता गुरुङका अनुसार महिलावादी अभिानकर्मीहरुले बसयात्राका क्रममा मुलुकका विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्नेछन् । अभियानकर्मी चढेको बस झापा, मोरङ, सुनसरी र सप्तरी छिचोलेर आजै साँझ सिराहाको लहान पुगेर बास बस्ने उहाँले जानकारी दिनुभयो । अन्तर-पुस्ता महिलावादी मञ्च महिला आन्दोलनका लागि पाँच वर्षअघि गठन भएको साझा सञ्जाल हो । 

त्यसमा देशभरका महिला अधिकारकर्मी जोडिएका छन् । यसले महिलावादी एजेन्डा उठाउँदै देशव्यापीरुपमा महिला आन्दोलनलाई समावेशी दृष्टिकोणका साथ एकताबद्ध गरिरहेको मञ्चको केन्द्रीय सञ्चालक समितिकी सदस्य राधा प्रधानले बताउनुभयो । आज काँकडभिट्टाबाट सुरु भएको बसयात्रा अभियानअन्तर्गत चैत ७ गते लहान र ८ गते चन्द्रनिगाहपुरमा पुगेर विशेष कार्यक्रमको आयोजना हुने बताइएको छ । पश्चिमको कञ्चनपुरबाट चैत ५ गते सुरु भएको अभियानले आज कैलाली, चैत ७ गते दाङ र ८ गते भैरहवामा अन्तरक्रिया कार्यक्रम गर्ने अभियानका सदस्य चिङलामु शेर्पाले जानकारी दिनुभयो । रासस