उर्लाबारी समाचारदाता
उर्लाबारी, वैशाख २ गते । सिरुवा पावनी सुरु भएपछि फूलघोडा बनाउने मालाकारलाई भ्याइनभ्याइ छ । कोशी प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, मण्डलहरूको सबैभन्दा ठुलो पर्व सिरुवामा फूलघोडासँगै भगवती राठा, मौरा, झरा, भुटिया खरा र मजुसको व्यापार हुने गर्छ । वैशाख १ गते मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्सी महाराजथानबाट सुरु भएको यो पर्व वैशाख १५ सम्म धुमधामसँग मनाउने गरिन्छ । जस जसले भाकल गरेको छ, उनीहरूले फूलघोडा अनिवार्य चढाउने प्रचलन रहेको छ । अझ भाकल पूरा भएपछि फूलघोडासँगै भगवती राठा, मौरा, झरा, भुटिया खरा र मजुसलगायतले पूजा गर्नु पर्छ ।
भारतको विहारस्थित किसनगन्ज जिल्लाको मटियारी गाउँबाट सयभन्दा बढी मालाकार परिवार फूलघोडा बिक्री गर्न सुनबर्सी आइपुगेका छन् । चैत ३१ गते बिहान सुनबर्सी आइपुगेका उनीहरू डेरा लिएर बसेका छन् । ७२ वर्षका वृद्धदेखि १२ वर्षका बालकसम्म रातभर फूलघोडा बनाउने र मेलामा बिक्री गर्ने गर्छन् । ७२ वर्षीय घेसुलाल मालाकारले भन्नुभयो, “फूलघोडा बनाएर बिक्री गर्ने हाम्रो पुख्र्याैली पेसा हो । उहिले गोरुगाडामा तीन दिन लगाएर आउँथ्यौँ । अहिले मोटरसाइकलमा आउँछौँ । ५३ किलोमिटर दक्षिणबाट आएका उनीहरूको पाँच वटा समूह छन् ।”
विमलकुमार मालाकारले भन्नुभयो, “अब १४/१५ दिन हामी नेपालमै रहन्छौँ । यहीँको स्रोतसाधन प्रयोग गरेर फूलघोडा बनाउँछौँ । उनीहरू आफैँ बनाउने, आफैँ बिव्रmी गर्ने गर्छन् । प्रतिगोटा २० रुपियाँमा बिक्री हुने फूलघोडामा लगानी दुई रुपियाँ हुने गर्छ । अर्को समूहका शम्भु मालाकारले भन्नुभयो, “गत वर्ष १४ दिनमा ३२ हजारको फूलघोडा बेचेर घर गएको थिएँ । यस पटक ४० हजारको बिक्री गर्ने योजना छ । उहाँले बस्ने खाने, भाडा तिर्ने गर्दा दिनको हजार रुपियाँ बचत हुने अपेक्षा छ ।”
विगतमा दहमा पाइने चौनी जातको बनस्पतिबाट फूलघोडा बनाइन्थ्यो । अचेल दह मासिएसँगै चौनी पाइन छोड्यो । चौनीको ठाउँमा थर्माकोल (टिभी फ्रिज) लगायतका सामान प्याकिङमा प्रयोग हुने वस्तुमा रङ भरेर फूलघोडा बनाइन्छ र बाँसका सिन्कामा उनेर बिक्री गरिन्छ ।
तराईमा लाग्ने धिमाल, राजवंशी, गनगाई, सन्थाल, ताजपुरिया सबै जातिले फूलघोडा प्रयोग गर्ने गर्छन् तर बनाउनेहरू नेपाली भन्दा भारतीय बढी हुने गरेका छन् । एक जनाले ४० हजारको बिक्री गर्दा इक सय जनाले ४० लाख फूलघोडा मात्र बिक्री गर्ने उनीहरू नै बताउँछन् तर घर जाने बेलामा सरदर दिनको एक हजार मात्र बस्छ ।