• ३ वैशाख २०८२, बुधबार

पुल तर्ने सपना पूरा हुँदै

blog

तस्बिर : टोपलाल अर्याल गुल्मीको मुसीकोट नगरपालिका–३ र ७ जोड्ने झेँदीखोला पुल ।

रेसुङ्गा समाचारदाता

रेसुङ्गा, वैशाख २ गते । गुल्मीको बडीगाडखोलाको झेँदी पुल २०७६ वैशाख १ गते नयाँ वर्षकै दिन भत्कियो । निर्माण हुँदै गर्दा पुनः २०७७ वैशाख ३ गते ढलान गरेपछि पुनः भत्कियो । करोडौँको संरचना दुई पटक भत्किएपछि निर्माण व्यवसायी मर्कामा परेका मात्र नभई स्थानीय पनि निराश बने । दुई दुई पटक पक्की पुल ढलान हुनासाथ भत्किएपछि स्थानीयका सपना अधुरै बने । २०७३ को बाढीले नजिकैको झोलुङ्गे पुल पनि जोखिमपूर्ण बने पनि वर्षामा सोही पुल र हिउँदमा फड्केबाट स्थानीय आउजाउ गर्छन् । पक्की पुलकै आसमा स्थानीयले घर जोखिममा पारेर सडक निर्माण गरे तर दुई पटक पुल भत्किएपछि आशा र सपना अधुरै रहे ।

मुसीकोट नगरपालिका–३ का बोमबहादुर कार्कीले यो नयाँ वर्षबाट पुल तर्न पाउने आशा पलाएको बताउनुभयो । “कैयौँ वृद्ध पुलको सपना देखेर मरे, दुई पटक भत्किएपछि हाम्रो पनि आशा थिएन,” कार्कीले भन्नुभयो, “अहिले डिजाइन नै परिवर्तन गरेर बल्ल बन्यो ।” 

दुई पटक ढलान गरेपछि भत्किएको गुल्मीको बडीगाडखोलाको झँेदी पुल तेस्रो पटकमा बनेको हो । यो पुल २०७३ मा जिल्ला प्राविधिक कार्यालय गुल्मीले कार्यान्वयन गरेको थियो । पुलको वाइटी जय बुद्ध कन्स्ट्रक्सन प्रालिले पाँच करोड १७ लाख रुपियाँको लागतमा निर्माण सम्झौता गरेको थियो । गुल्मीको मुसीकोट नगरपालिका–३, बडागाउँ र वडा नं. ७ को वामी जोड्ने झेँदी पुल दुई पटक भत्किएपछि डिजाइन नै परिवर्तन गरेर अहिले बन्दै गरेको स्टिल ट्रस कम्पोजिट ब्रिज हो । 

मुख्य पुलको नजिक ब्याकवाला निर्माण र एप्रोज स्ल्याप ढलानको काम भइरहेको योजना कार्यान्वयन गरिरहेको मोटरयोग्य सडक पुल कार्यव्रmम ललितपुरका इन्जिनियर श्रीराम प्रजापतिले जानकारी दिनुभयो । उहाँले पुलको मुख्य काम सकिएर केही फिनिसिङको काम भइरहेको बताउनुभयो । स्विस सरकारको भ्याटसहित पाँच करोड १७ लाख ५० हजार ६६५ रुपियाँको लागतमा जलप कन्स्ट्रक्सन प्रालिले निर्माणको काम गरिरहेको छ । यो पुल निर्माणको सम्झौता २०७९ वैशाख १८ गते भएको थियो । २०८१ फागुन १६ भित्र मुख्य काम सकिएको प्रजापतिले बताउनुभयो । बडिगाडखोलामा निर्माण भएको झेदी पुलको लम्बाइ ५६.३० मिटर रहेको छ । 

पुल निर्माणमा सङ्घीय सांसद गोकर्ण विष्टले निकै चासो दिनुभएको थियो । स्थानीय सरकारका तर्फबाट मुसीकोट नगरपालिकाले अनुगमन तथा सहजीकरण गरिरहेको छ । मुसीकोट नगरपालिकाका प्रमुख जीवन खरेलले सबैको चासो, चिन्ता र दौडधुपका कारण पुल निर्माण सम्भव भएको बताउनुभयो । उहाँले पुल आसपासको संरचना सम्बन्धित निकाय र सडकको स्तर वृद्धिको काम नगरले गर्ने जानकारी दिनुभयो ।