• ३ वैशाख २०८२, बुधबार

नयाँ वर्ष साँझमा गुन्जियो बेँसीसहर

blog

कार्यक्रममा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका अतिथि  ।

नवीनराज कुइँकेल

लमजुङ, वैशाख २ गते । लमजुङ सदरमुकाम बेँसीसहरमा नयाँ वर्ष २०८२ को शुभारम्भका अवसरमा साङ्गीतिक साँझ सम्पन्न भएको छ । बेँसीसहर नगरपालिकासँगको साझेदारीमा नेपाल टेलिभिजनले बेँसीसहरको फूलबारी मञ्चमा आयोजना गरेको नयाँ वर्ष शुभारम्भ साँझ साङ्गीतिक साँझ भएको हो । नेपाल टेलिभिजन कर्मचारी युनियनको संयोजनमा आयोजित कार्यव्रmम लमजुङको पर्यटन प्रवर्धन र संस्कृति संरक्षणका लागि कोसेढुङ्गा बनेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । “लमजुङलाई विश्वले एक पटक हेरेको छ । यहाँको पर्यटन र संस्कृतिलाई बुझ्न पाएको छ,” उहाँले भन्नुभयो, “हाम्रो सांस्कृतिक विविधता विश्वमा देखाउन लायक छ । मौलिक छ ।”

सार्वजनिक सेवा प्रसारण (पिएसपी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपाल टेलिभिजनले हरेक वर्ष नयाँ वर्षको शुभारम्भका अवसरमा देशका विभिन्न भागबाट सांस्कृतिक कार्यव्रmम आयोजना गर्दै आएको बताउनुभयो । कर्मचारी युनियनका अध्यक्ष भोजराज विश्वकर्माले लमजुङको कला संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्धनका लागि नयाँ वर्ष शुभारम्भ साँझ फलदायी बनेको विश्वास व्यक्त गर्नुभयो । सांस्कृतिक कार्यव्रmममा थानेश्वर गौतम, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, सुमन थापा मगर, अनिता चलाउने, राहुल श्रेष्ठ, मुकेश नेपाली र आशा भुसाललगायतका ख्यातिप्राप्त कलाकारले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । यसबाहेक नेपाल प्रहरी क्लब, त्रिवेणी फिल्म्स र स्थानीय कलाकारको समेत प्रस्तुति रहेको थियो । सो अवसरमा बोल्दै बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सिङ्गो जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुगेको बताउनुभयो ।