• ३ वैशाख २०८२, बुधबार

कुस्मा पुल निर्माण सम्पन्न

blog

तस्बिर : छविलाल पाण्डे कुस्माखोलामा निर्माण सम्पन्न भएको पुल ।

बुटवल समाचारदाता

बुटवल, वैशाख २ गते  । रुपन्देहीको सैनामैना नगरपालिका–३, मुर्गियादेखि गौतम बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने कुस्माखोलाको पुल निर्धारित समयमै सम्पन्न भएको छ । सैनामैना नगरपालिका–४, कुस्माखोलामा पुल निर्माण सम्पन्न भएपछि त्यस क्षेत्र भएर यात्रा गर्ने हजारौँ यात्रुलाई सुविधा पुग्ने भएको छ । बुटवलदेखि १४ किलोमिटर पश्चिम मुर्गिया चोकदेखि लुम्बिनी जाने सडक अन्तर्गत निर्माण भएको उक्त पुलले रुपन्देहीको उत्तरी भेग र दक्षिणी क्षेत्रलाई जोड्न सफल भएको छ । 

सैनामैना नगरपालिका–४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले पुल निर्माण सम्पन्न भएपछि रुपन्देहीको उत्तरी भेगका स्थानीयलाई लुम्बिनी पुग्न सजिलो भएको बताउनुभयो । उहाँले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलदेखि पश्चिम क्षेत्रका स्थानीयलाई पुल निर्माणले ठुलो सुविधा पुगेको बताउँदै लुम्बिनी घुम्न जाने आन्तरिक पर्यटकलेसमेत सिधा बाटो प्रयोग गर्न पाउने बताउनुभयो । 

उता सैनामैना–४, कुस्माका केवलप्रसाद थारूले पहिले पुल नहुँदा ठुलो समस्या भोग्दै आएको बताउँदै पुल बनेपछि तरकारी उत्पादक कृषकलाई समेत ठुलो सुविधा पुगेको बताउनुभयो । रुपन्देहीकै गैडहवा र शुद्धोदन र सूर्यपुरा, हसनापुर, बेलवा, कुट्टा क्षेत्रका हजारौँ किसानलाई उक्त पुल निर्माण सम्पन्न भएपछि अब सिधै तरकारीलगायतका उत्पादन बुटवल पु-याउन सुविधा पुगेको थारूले बताउनुभयो ।  

सङ्घीय सरकारको लगानीमा बुटवलको रञ्जना जेभी निर्माण कम्पनीले दुई करोड रुपियाँमा पुल निर्माण गरेको हो । पुल हस्तान्तरण भने अझै भएको छैन तर सञ्चालनमा आएको छ । पुल निर्माणसँगै पुल क्षेत्रको वारिपारिको भागमा अस्फाल्ट प्रविधिबाट पिचको कामसमेत सकिएको छ ।

सूर्यपुराका कृषक रमेश लोधका अनुसार विगतमा कलभर्ट जस्तो होचो पुल थियो तर सडकभन्दा निकै तल भएका कारण निकै सास्ती खेप्नु परेको थियो । अहिले सडक क्षेत्रसँगै पुल निर्माण भएपछि कृषि उत्पादन बिक्रीका लागि बुटवललगायतका बजार पु-याउन निकै सहज भएको छ । 

गैडहवा गाउँपालिकाका प्रवक्ता सुरेन्द्रसिंह कुर्मीले अब बुटवलदेखि १४ किलोमिटर पश्चिम मुर्गियाबाट पनि आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनी जान आउन सहज भएको बताउनुभयो । उहाँले गैडहवा गाउँपालिकाका धेरै किसानलाई कुस्मा पुल बनेपछि तरकारीजन्य उत्पादन बिक्रीका लागि बजार पु-याउन सहज भएकोे बताउँदै पहिले पुल नहुँदा घुमाउरो सडक प्रयोग गर्नुपर्ने अवस्थामा अब त्यो बाध्यता हटेको बताउनुभयो ।