• १५ वैशाख २०८१, शनिबार

गाजाको ‘शतप्रतिशत’ जनसङ्ख्या ‘गम्भीर खाद्य असुरक्षाको अवस्थामा’

blog

मनिला, चैत ६ गते । गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ । समस्याको समाधानका लागि गाजामा सहायता सामग्रीको बढीभन्दा बढी ढुवानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

फिलिपिन्सको औपचारिक भ्रमणमा रहेका ब्लिन्केनले फिलिपिन्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “खाद्य असुरक्षाको मापन गर्ने सबैभन्दा मान्य उपाय अपनाएर गरिएको अध्ययनले गाजामा शत प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षाको गम्भीर स्तरमा रहेको देखाएको छ । यो गाजाको इतिहासमा नै सम्भवतः पहिलो जटिल खाद्य सङ्कट हो ।”

ब्लिन्केनको यो भनाइ मध्यपूर्वका साउदी अरब र इजिप्टमा गाजा युद्धविरामको लागि प्रयास र सहायता वितरण बढाउने प्रयासको बारेमा छलफल गर्न फर्कने तयारी भइरहँदा आएको हो ।

संयुक्त राष्ट्रसङ्घ समर्थित खाद्य सुरक्षा मूल्याङ्कनले सोमबार सार्वजनिक प्रतिवेदनमा आधा गाजावासीले ‘खतरनाक’ भोकमरीको सामना गरिरहेका र तत्काल हस्तक्षेप नगरे सन् २०२४ मे महिना सम्ममा यस क्षेत्रको उत्तरी क्षेत्रमा नागरिकहरूले अनिकाल र भोकमरीको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले घेराबन्दीमा परेको प्यालेस्टाइनी क्षेत्रमा निर्बाध रूपमा सहयोग गर्न दिन इजरायललाई आग्रह गर्नुभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि अकल्पनीय  आक्रमण गरेपछि बदलामा इजरायलले गाजामा हमासविरूद्धको कारबाही सुरु गरेपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो ।

इजरायलले हमासद्वारा सञ्चालित प्यालेस्टाइनी क्षेत्रमा निरन्तर बमबारी अभियान र जमीनी आक्रमणबाट आफूविरूद्ध हमासले गरेको आक्रमणको बदला लिइरहेको छ ।

सहायता निकायहरूले गाजा र विशेष गरी यसको उत्तरमा पहुँच प्राप्त गर्न ठुलो कठिनाइ भइरहेको बताएपछि संयुक्त राष्ट्रसङ्घले हप्तौँदेखि गाजामा अनिकाल पर्न सक्ने चेतावनी दिँदै आएको छ ।

“अनिकालको लागि प्राविधिक मापदण्ड अझै पूरा भएको छैन तर सबै प्रमाणले मृत्यु र कुपोषणको ठुलो वृद्धितर्फ सङ्केत गर्दछन्,” गाजाका लागि एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) साझेदारीसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् । रासस/एएफपी