• १३ साउन २०८१, आइतबार

सामुदायिक तथा राष्ट्रिय वनमा आगलागीका घटना बढ्दै

blog

सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ माथिल्लो बारामा जङ्गलमा लागेको डढेलो । तस्बिर : बाबुराम देवकोटा

सिन्धुलीमाढी, चैत ६ गते । गर्मीको मौसम सुरु भएसँगै सिन्धुली जिल्लाको विभिन्न ठाउँमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागीका घटना बढ्दै गएको छ ।

विगत केही दिनदेखि जिल्लाका विभिन्न भागमा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा दैनिकजसो डढेलो लाग्दै आएको छ । घाँसी, गोठालाले नयाँ घाँस तथा पालुवा पलाउने लागेमा लुकेर वनमा जथाभाबी डढेलो लगाउने गरेको स्थानीयले बताएका छन् ।

उनीहरूका अनुसार वनहरूमा लागेको डढेलोका कारण संरक्षित वन नष्ट हुने र नजिकै बस्तीमा रहेका  घर, गोठ समेत डढेलोको चपेटामा परि आगलागी हुन थाल्दा स्थानीय त्रसित बनेका छन् । गोलन्जोर गाउँपालिका–७ माथिल्लो बारामा आइतबार मात्रै पञ्चकन्या सामुदायिक वनमा लागेको डढेलो नजिकैको बस्तीमा समेत पस्दा तीन घर जलेर नष्ट भएको छ ।

उक्त आगलागी घटनाबाट माथिल्लो बाराका भक्तबहादुर श्रेष्ठको घर, गणेशबहादुर थापाको गोठ र सामबहादुर विकको आरन पूर्णरुपमा जल्दा आठ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल जिल्लाका विभिन्न ठाउँमा रहेको सिला देवी सामुदायिक वन, बुद्ध सामुदायिक वन, चन्द्रमुखी सामुदायिक वन लगायतका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी (डढेलो) लागि रहेको सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष हितलाल श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘वनमा आगलागीका घटना सुरु भएको छ । डढेलो नियन्त्रण गर्न स्वयंसेवकको जत्था नै तयार गर्न सामुदायिक वन समितिलाई भनेका छौँ । अहिले धेरै जसो सामुदायिक वन समितिले उक्त जत्था तयार गर्दै गएका छन् ।’’

कमलामाई नगरपालिका–५ स्थित सरस्वती सामुदायिक वन समितिका उपभोक्ता समेत रहनु भएका अध्यक्ष श्रेष्ठले उक्त सामुदायिक वन समितिले डढेलो नियन्त्रणका लागि सिमानामा अग्नि रेखा तयार गरेको र १० जनाको स्वयंसेवा दस्ता तयार गरी वन क्षेत्रमा दैनिक गस्ती गर्न लगाएको सुनाउनुभयो ।

त्यसो त डिभिजन वन कार्यालय सिन्धुलीले वन डढेलो नियन्त्रणका लागि चैत १ गतेदेखि नै सप्ताह व्यापी प्रचार प्रसार सम्बन्धी कार्यक्रम गरी रहेको जनाएको छ । कार्यालय प्रमुख प्रह्लाद धितालले चैत १ गतेदेखि ७ गतेसम्म र्‍याली, पर्चा पम्प्लेट, समूहहरूलाई सचेत गराउने, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपाल आर्मी लगायतका सुरक्षा निकायसँग समन्वय गरी सहयोग माग्ने जस्ता गतिविधि भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सुराकी दिएर डढेलो लगाउने व्यक्ति पत्ता लगाउनेलाई पुरस्कृत गर्न वन समितिहरूलाई भनेको छु । त्यस्ता व्यक्ति पत्ता लगाएपछि हामी पक्राउ गरी वन ऐन र नियमावली अनुसार कारबाही गछौँ । त्यस्ता व्यक्तिलाई ६० हजार रुपियाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था कानुनले गरेको छ ।’’

अहिले वन डढेलो नियन्त्रणका लागि प्रयोग हुने उपकरणहरू वितरण भइरहेको जानकारी दिनुहुँदै उहाँले मानवीय कारणले नै वनमा डढेलो फैली रहेको स्पष्ट पार्नुभयो । जङ्गलमा सुकेका पातपतिङगर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा घाँसी तथा गाईगोठालाले लुकेर डढेलो लगाउने गरेको पाइएको उहाँको भनाइ छ ।

कार्यालयका अनुसार जिल्लाको नौ वटा स्थानीय तहहरू मध्ये कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा चुरे क्षेत्रको जङ्गल पर्दछ । डढेलोका कारण वन क्षेत्रका साना बिरुवाहरू सखाप भएका छन् भने बहुमूल्य जडीबुटी समेत नष्ट भएको छ ।

जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरी उपभोक्तालाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भइसकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलव ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलव ४२ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ ।