• १३ साउन २०८१, आइतबार

डढेलो नियन्त्रणका लागि अभियान सुरु

blog

सुरक्षा निकायले डढेलो नियन्त्रणका लाागि गरेको अभ्यास । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, चैत ६ गते ।
जिल्लाका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढेपछि डढेलो नियन्त्रण तथा जनचेतना अभियान सुरु गरिएको छ । जिल्लाको रिब्दीकोट, तिनाउ, रामपुर र रैनादेवी छहरामा यो वर्ष डढेलो लागिसकेको छ । सामुदायिक वन तथा निजी वन क्षेत्रमा डढेलोका घटना बढेपछि नियन्त्रणका लागि संयुक्त अभ्यास र जनचेतना अभिवृद्धिका कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन उपभोक्तासँग मिलेर डढेलो नियन्त्रणका लागि संयुक्त अभ्यास तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । अभियानअन्तर्गत जिल्लाभरिका सामुदायिक वनका उपभोक्ता, सर्वसाधारण नागरिकलाई डढेलो लाग्नबाट जोगाउने सम्बन्धी जनचेतना दिइने डिभिजन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । यस्तै, डढेलो लागेको खण्डमा त्यसलाई नियन्त्रण गर्न आवश्यक तालिम, सुरक्षाका उपाय, उपकरण वितरण, सूचना र सहयोग आदानप्रदान कसरी गर्ने भन्नेबारे जानकारी दिइनेछ ।

यो अभियानभरी सामुदायिक वनमा क्षेत्रमा अग्निरेखा निर्माण गर्ने, डढेलो लाग्ने क्षेत्रको पहिचान गर्ने प्रमुख भट्टराईले बताउनुभयो । पाल्पामा हालसम्म पाँच वटा सामुदायिक वनमा डढेलो लागेको छ । त्यसबाट झण्डै ४० हेक्टर क्षेत्रफलको वन तथा वन्यजन्तुका वासस्थान, जडीबुटीलगायत सखाप बनेको डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेतले जानकारी दिनुभयो ।

पाल्पा जिल्लामा अधिकांश सल्लाका रुख भएका सामुदाायिक वन भएकाले पनि द्रुतगतिमा डढेलो लाग्ने सम्भावना छ । त्ससैले पनि डढेलो बढी लाग्ने सम्भावित स्थानको पहिचान गरेर ती क्षेत्रमा आवश्यक सतर्कता अपनाइएको सूचना अधिकारी बस्नेतले बताउनुभयो । यो वर्ष हिउँदमा पानी कम परेकाले पनि डढेलोका घटना बढ्न सक्ने अनुमान गरेर जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहलाई डढेलोे नियन्त्रणमा सक्रिय बनाउने योजना छ ।

पाल्पाका ७०१ सामुदायिक वनमध्ये रिब्दीकोटका पाँच वडा, तिनाउका चार वडा, तानसेनका चार वडा, रैनादेवी छहराका चार वडा, माथागढीका चार वडा, निस्दीका तीन वडा र पूर्वखोलाका तीन वडा डढेलोको उच्च जोखिममा छन् । जिल्लाभरका ८१ वडामध्ये २७ वटा वडा डढेलोको उच्च जोखिममा छन् ।