• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभामा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

blog

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल

काठमाडौं, चैत ५ गते । जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद शर्माको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ । उहाँको श्रद्धाञ्जलीस्वरुप सभाका सदस्यहरूले एक मिनेट मौन धारणसमेत गर्नुभयो ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भन्नुभयो, ‘‘सङ्घीय संसद् प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि.सं २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व. अन्सारी जनता समाजवादी पार्टी नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधि सभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व. अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’’

सांसद शर्मा २०७९ सालको निर्वाचन समानुपातिकतर्फको निर्वाचनबाट जनता समाजवादी पार्टीको तर्फबाट समानुपातिक सांसदको रूपमा निर्वाचित हुनुभएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा राजनीतिक यात्रा सुरु गर्नुभएको ६० वर्षीया उहाँको चैत्र ४ गते काठमाडौँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ७ गते बुधबार बिहान सवा ११ बजे बस्नेगरी बोलाइएको छ ।