• १३ साउन २०८१, आइतबार

प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी तथा स्वागतमा आउनुभएका नेता तथा कर्मचारी । तस्विरः धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, चैत ५ गते । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार पदभार ग्रहण गर्नुभएको छ । 

पदभार ग्रहण पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रदेश प्रमुख भण्डारीले नेपालको संविधान र कानुनको अधीनमा रही विधि प्रक्रिया अपनाएर आफूले कामकाज गर्ने बताउनुभयो । त्यसमा सबैको सक्रिय सकारात्मक सहयोगको अपेक्षा रहने बताउनुभयो । 


उहाँले मधेश प्रदेशको समृद्धि र विकासका लागि सदैव आफ्नो साथ रहने भन्दै मधेश प्रदेशको उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभयो । पदभार ग्रहणपश्चात् प्रदेश प्रमुखलाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, एमालेका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, एमाले नेता सुमन प्याकुरेल, पूर्वमन्त्री शत्रुधन सिंहसहितका नेताहरुले भेटेर बधा दिनुभयो । 


सोमबार बिहान १० ः २५ को बुद्ध एयरको विमानबाट जनकपुरधाम आउनुभएका प्रदेश प्रमुख भण्डारीलाई जनकपुरधाम विमानस्थलमा मधेश प्रदेश सरकारको तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सुरीता साहसहित प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादव, विभिन्न मन्त्रालयका सचिव, एमालेका नेता कार्यकर्ताले स्वागत गर्नुभएको थियो । 


आज प्रदेश प्रमुख भण्डारीले जनकपुरधामको जानकी मन्दिर पुगेर जानकी माताको दर्शनपश्चात् पदभार ग्रहण गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव यादवसहितका उच्चपदस्थ कर्मचारीले स्वागत गरेपछि नेपाली सेनाको एक टोलीले प्रदेश प्रमुखलाई सलामी दिएको थियो ।