• १६ वैशाख २०८१, आइतबार

इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने

blog

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

जेरुसेलम, चैत ४ गते । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ । 

“हमासलाई समाप्त पार्न, हाम्रा सबै बन्धकलाई रिहा गर्न र गाजाबाट इजराइलविरुद्ध खतरा सिर्जना नहोस् भन्ने सुनिश्चित गर्न कुनै पनि अन्तर्राष्ट्रिय दबाबले हामीलाई युद्धका सबै लक्ष्य साकार गर्नबाट रोक्न सक्तैन”, नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा जारी गर्नुभएको भिडियोमा भन्नुभयो, “यस्तो गर्नका लागि हामी रफामा पनि काम गर्नेछौँ ।”

कतारको राजधानी दोहामा गाजामा युद्धविरामको दिशामा पुनः वार्ता सुरु हुने अपेक्षा गरिएको बेला उहाँको यस्तो टिप्पणी आएको हो । गाजामा इजराइलले पाँच महिनाभन्दा बढी समयदेखि हमास लडाकूविरुद्ध सैन्य अभियान सञ्चालन गरेको छ । 

नेतान्याहुले आइतबार जर्मन चान्सलर ओलाफ सोल्ससँग भेट गर्ने तयारी गर्नुभएको थियो । भेटमा सोल्सले रफामा स्थल आक्रमणविरुद्ध आफ्नो चेतावनी दोहोराउने अपेक्षा गरिएको थियो । रफामा अधिकांश गाजाबासीले लगातारको इजराइली आक्रमणबाट शरण मागेका छन् । 

गाजा युद्धमा इजराइलको समर्थन गर्नुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वसनीय नागरिक सुरक्षा योजनाबिना रफामा गरिने आक्रमणले इजराइल ‘वार्ताबाट भागेको’ हुने बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानम घेब्रेयससले शुक्रबार ‘मानवताको नाममा’ इजराइलसँग रफामा आक्रमण नगर्न आग्रह गर्नुभएको थियो । 

नेतान्याहुले रफामा अपरेसनका लागि सेनाको योजनालाई अनुमति दिनु भएको उहाँको कार्यालयले शुक्रबार बताएको थियो । यद्यपि आक्रमणका लागि कुनै समयतालिका दिइएको छैन । 

रफा गाजामा अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र हो । यहाँ अहिलेसम्म युद्धमा स्थल आक्रमण भएको छैन । दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको थियो । रासस/एएफपी