अर्जुन काफ्ले
स्याङ्जा, चैत ४ गते । अन्धाअन्धी दह पितृभक्त श्रवण कुमारका दृष्टिविहीन वृद्ध बावुआमाको आँशुले बनेको तालमा धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास हुँदैगएको छ ।
समाधिस्थल राजा दशरथको शब्दभेदी बाणबाट श्रवण कुमारको मृत्यु भएको स्थलको रुपमा लिइन्छ । त्रेतायूगमा आफ्ना दृष्टीविहीन वृद्ध बावुआमालाई तीर्थ लिएर पितृभक्त श्रवण कुमार मुक्तिनाथ जानेक्रममा तिर्खा लागेपछि आँधीखोला २ मा राखेर पानीको खोजीमा वडा ४ स्थित रहेको घयाङ्गछ्याङ्गदीमा कुवामा गाग्रो डुवाउँदा सिकार खेल्दैआएका राजा दशरथले गाग्रो डुवाएको आवाजलाई मृगकोजस्तो आवाज ठानी वाण हान्दा श्रवण कुमारलाई लागेर मृत्यु भएको किम्बन्दती छ ।
छोराको मृत्यूले व्याकूल भएका श्रवण कुमारका बुवाआमाले रुँदै राजा दशरथलाई ‘पुत्रशोकले मृत्यु हुनु परोस्’ भनी श्राप दिएका थिए । दशरथका ज्येष्ठपुत्र राम वनबास गएपछि राजा दशरथको श्रापकै कारण पुत्रशोकले मृत्यु भएको किम्बदन्ती रहेको बुढापाकाहरुको भनाइ छ ।
अहिले वडा २ उखुबारीको अन्धाअन्धी दह र वडा ४ को घयाङ्गस्याङ्गदीमा रहेको श्रवणकुमार समाधीस्थललाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन गाउँपालिका जुटेको छ ।
बिश्वभर परिचित रहे पनि आवश्यक संरचना नहुँदा ओझेलमा परेको अन्धाअन्धी दह र श्रवणकुमार समाधिस्थललाई गाउँपालिकाले पर्यटन बोर्ड र नेपाल आर्मीसँग साझेदारी गरी बिभिन्न संरचना निर्माण गरेर धार्मिक पर्यटकीय गन्तब्य बनाउन जुटेको हो ।
दह तथा समाधिस्थललाई परिचित गराउन आँधीखोलाको प्रवेशद्वार सिदार्थ राजमार्गको नागडाँडामा श्रवणकुमारले बाबुआमा बोकेको सालिक बनाइएको छ । यस्तै, पालिकाले अन्धाअन्धी दह जान डेढ किलोमिटर गोरेटो बाटो निर्माण गरेको छ भने दहमा अन्धाअन्धीको र श्रवणकुमारको सालिक निर्माण गरेको छ ।
यस्तै, समाधिस्थलमा श्रवणकुमार बाण लागेर ढलेको सालिक र बिश्रामघर निर्माण गरिएको छ भने समाधिस्थल पुग्ने बाटो समेत निर्माण गरिएको छ । यस्तै, श्रवण कुमारको मृत्यु भएको स्थानमा निर्माण गरिएको तलाउनजिक रातो रगतजस्तै पानी आउनेगरेको छ ।
गाउँपालिकाका अध्यक्ष बिश्व पौडेलले बाण लागेर श्रवणकुमार छट्पटिएको ठाउँमा पञ्चकोशी मन्दिर निर्माण गरिएको बताउनुभयो । हालसम्म संरचना निर्माण गर्न डेढ करोड खर्च भएको बताउँदै पौडेलले सोचेअनुसार पर्यटकीय गन्तब्य बनाउन करोडौं खर्च हुने बताउनुभयो ।
यस्तै, पालिकाले राजा दशरथले शब्दभेदी बाण हानेको तिखे चुलोमा दशरथले बाण हानेको सालिक बनाउने तयारी गरेको र पैदल बाटो निर्माण गरिसकेको बताउनुभयो । सिदार्थ राजमार्ग हुँदै भारतीय तथा नेपाली पर्यटक धेरै मुक्तीनाथ पुग्ने बताउँदै पूर्व गाउँपालिका अध्यक्ष एवं प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले मुक्तीनाथ जाने १५ प्रतिशत पर्यटकलाई आँधीखोला भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।
आँधीखोला करिडोर हुँदै पर्वत पुगेर मुक्तीनाथ पुग्न सबैभन्दा छोटो बाटो अन्धाअन्धी तथा समाधिस्थलबाट हुने बताउँदै पौडेलले पालिका रणनीति सफल हुने बताउनुभयो । श्रवणकुमारका बुवाआमाको आँसुले त्यहाँ दह बनेको र जुन दह अन्धाअन्धी दहको नामले प्रख्यात रहेको छ ।
अन्धाअन्धी दहबाट बगेको खोलालाई अन्धाअन्धी खोला हुँदै अपभ्रंश भई आँशु खोला, अन्धाअन्धी खोला हुँदै आँधीखोलाको रुपमा प्रसिद्ध बनेको छ ।