• २० वैशाख २०८१, बिहिबार

हरिवंश आचार्य र प्रकाश सपुत पोखरामा सम्मानित

blog

सम्मानित व्यक्तित्व वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत

रमेश पौडल

पोखरा, चैत ३ गते । वरिष्ठ कलाकार हरिवंश आचार्य र गायक एवं कलाकार प्रकाश सपुत पोखरामा पुरस्कृत हुनुभएको छ । पोखरा नदिपुरस्थित प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’ बाट हरिवंश र ‘प्रतिभा वर्ष युवा पुरस्कार’बाट प्रकाश सपुतलाई पुरस्कृत गरेको हो । 

पुरस्कृत व्यक्तित्वद्वयलाई राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, संस्थापक प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले नगद एक/एक लाख राशीसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । 

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नाम जस्तै काम गरेर उत्कृष्ट नतिजा ल्याउनका लागि  शुभकामना दिँदै प्रतिभा सम्मान कार्यक्रमले देश र जनताका लागि केही गर्छु भन्नेलाई थप हौसला प्रदान गरेको बताउनुभयो । 

सम्मानित व्यक्तित्व कलाकार हरिवंश आचार्यले सम्मानले अझै अगाडि बढ्नका लागि उत्प्रेरणा दिएकोे भन्दै यस विद्यालयबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउनुभयो । यो नगद एक लाख सामाजिक कार्यमा प्रतिभाकै नाममा प्रदान गर्ने पनि उहाँले घोषणा गर्नुभयो । 

अर्का सम्मानित कलाकार प्रकाश सपुतले ‘गाएर ठीक गरेछु’ भन्ने महसुस भएको भन्दै यस सम्मानले आफूलाई नयाँ कार्य गर्नका लागि जिम्मेवारी थपेको बताउनुभयो । 

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै ध्यान दिएको बताउनुभयो । उहाँले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न विद्यालयले सम्मान गर्ने संस्कृतिको विकास गरी वर्षेनी पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो ।

आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुशी छरेकाले सम्मान गरिएको विद्यालयका निर्देशक तथा संस्थापक प्राचार्य किरण  सापकोटाले बताउनुभयो । त्यस्तै सपुतले गीत र संगीतका माध्यमबाट विभिन्न विकृतिका विरुद्ध चेतना फैलाएकाले सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँले २०४३ मा स्थापित प्रतिभाले युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण पोखराको उच्च शिक्षामा प्रमुख आकर्षणको गन्तव्य बनेको जानकारी दिनुभयो । 

प्रतिभाले यसअघि प्रा.डा सुरेशराज शर्मा र प्रा.डा अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व सम्मान अर्पण गरिसकेको छ । यस्तै, नेपाली क्रिकेट टीमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पनि वर्ष युवा पुरस्कारबाट  जनही एक लाखले पुरस्कृत गरिसकेको छ ।

प्रतिभा सम्मान समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत् शिक्षक शिक्षिकालाई दीर्घ सेवा सम्मान गरेको छ ।