• १३ साउन २०८१, आइतबार

नयाँ शैक्षिक सत्र लागु गर्न हतार

blog

फाइल तस्बिर

हुम्ला, चैत ३ गते । सरकारी नियमको अवज्ञा गर्दै हुम्लाका केही पालिकाले फागुन २ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गरेका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत वर्षदेखि देशभर वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने निर्णय गर्दै त्यसै अनुरूप कक्षा सञ्चालन गर्न परिपत्र गरेको थियो । विगतमा चिसोका कारण हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, मनाङ र मुस्ताङमा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेकोमा केही वर्षअघि मुगु र कालिकोटमा पनि वैशाख १ देखि नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आएको थियो । गत वर्षदेखि भने बाँकी पाँच वटा जिल्लामा पनि वैशाख १ देखि नयाँ शैक्षिक सत्र लागु गरिएको थियो ।

सरकारले निर्धारण गरेको शैक्षिक सत्रभन्दा दुई महिनाअघि नयाँ शैक्षिक सत्र सुरु गरेका हुम्लाका केही पालिकाले पाठ्यपुस्तक अभाव भएको गुनासो गरेका छन् । ताँजाकोट, अदानचुली, चङ्खेली, सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा शैक्षिक सत्र सुरु गरेको तर पाठ्यपुस्तक नआएको गुनासो छ ।

पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले भने वैशाख १ देखि नयाँ सत्र सुरु हुने आधारमा नेपालगन्ज वा सुर्खेतबाट जति पनि पाठ्यपुस्तक प्राप्त गर्न सकिने र नयाँ शैक्षिक सत्रका लागि आगामी चैत १५ देखि बिव्रmीवितरण थालिने जनाएको छ । 

ताँजाकोट गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जयरुद्र ढकालले कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक अभाव भएको बताउनुभयो । सो गाउँपालिकाका विद्यालयमा फागुन ९ गतेदेखि पढाइ सुरु भइसकेको छ । 

सरकारले गत वर्ष कक्षा १–५ निजी क्षेत्रलाई र कक्षा ६–१० जनक शिक्षालाई छपाइ तथा वितरणको जिम्मा दिएको थियो । यस वर्ष कक्षा १–४ निजी क्षेत्रलाई र कक्षा ५–१० जनक शिक्षालाई जिम्मा दिइएको छ । पाठ्यव्रmम विकास केन्द्रले कक्षा ५ को प्रिन्ट रेडी कपी (पिआरसी) भर्खर जनक शिक्षालाई उपलब्ध गराएको छ । 

पाठ्यव्रmम विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइ र वितरण गर्नका लागि केही दिनअघिमात्र निजी प्रकाशकको छनोट गरी सूची सार्वजनिक गरेको छ । निजी प्रकाशकले चालु शैक्षिक सत्रमा  बिक्री नभएका पाठ्यपुस्तक हुम्ला लगेर वितरण गरेको प्रस्ट हुन्छ । हुम्लाका ती पालिकाले गत वर्ष प्रकाशित कक्षा १–४ का पाठ्यपुस्तक खरिद गरेका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भीमराज कार्कीले स्थानीय तहकै कारण विद्यार्थीको हातमा पुस्तक नपुगेको बताउनुभयो । उहाँले वैशाख १ देखि सुरु गर्नुपर्ने शैक्षिक सत्रलाई पालिकाले कार्यान्वयन नगर्दा समस्या आएको बताउनुभयो । 

जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले चैत १५ देखि देशभरिका जिल्लामा पाठ्यपुस्तकको बिक्रीवितरण खुला हुने बताउँदै भन्नुभयो, “हुम्लामा पाठ्यपुस्तक आवश्यक परे नेपालगन्ज वा सुर्खेतबाट किनेर लैजान सकिन्छ ।”

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।