• १३ साउन २०८१, आइतबार

सामुदायिक वनमा आगलागी, बावुछोरी घाइते

blog

नवदुर्गा वनमा भएको आगलागीमा परी घाइते भएका चौलागाईं । तस्विर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत २ गते । कालीकोटको खाँडाचक्र नगरपालिका –५ को नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबुछोरी जलेर घाइते भएका छन् । 

नवदुर्गा सामुदायिक वनमा दिउँसो आगलागी भएका कारण वनमा बाख्रा चराउँदै गरेका वडा –५ का बर्ष ५० का नन्दलाल चौलागाईं, उहाँको छोरी वर्ष ११ की हेमन्ती चौलागाईं जलेर गम्भीर घाइते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त प्रहरी प्रमुख इन्स्पिेक्टर पोषण थापाले बाबुछोरीसहित घाइते भएको र आगोका कारणले १५ वाख्रा मरेको बताउनुभयो । ६० वटा बाख्रा आगोमा जलेर नष्ट भएको भनिए पनि ६ वटा बाख्रा जीवितै भेटिएका छन् । आगोमा परेर घाइते भएका बाबु छोरीलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीयले गाउँतर्फ आइरहेको आगो नियन्त्रणमा लिएका छन् । भिरालो ठाउँ भएकाले आगो नियन्त्रणमा ल्याउन कठिन भइरहेको र निभाउनेक्रम जारी रहेको निमित्त प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । 

आगोमा जलेका बाबुछोरीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।  कालीकोटका डाँडापाखा आगलागी भएर कालापत्थरजस्तै भएको छ । दैनिकजसो वन क्षेत्रमा आगलागी हुँदा मेला पाखा कालापत्थरजस्तै भएका छन् । प्रायः वनमा स्थानीयले आफैँ जानी–जानी आगो लगाउने गरेका छन् । 

बाक्लो घाँस पलाउने लोभले आगो लगाउने चलनका कारणले वन बिनास हुँदै आएको छ । घाँसको मायाले वनमा आगो लगाउने गरेकाले वनमा उम्रिएका स–साना बिरुवा जलेर नष्ट हुने गरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, तिलागुफा नगरपालिका भित्रका वन क्षेत्रको धेरै भागमा डढेलो लागेको छ ।  

पलाँता –७ का लंकवहादुर बमले आगलागीका कारण पलाँता सधैं सुख्खा क्षेत्र बन्नेगरेको बताउनुभयो । दैनिक यो सिजनमा हुने आगलागीमा डिभिजन वन कार्यालयले पनि केही गर्न सकेको छैन । कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले सचेतीकरणका लागि रेडियोमार्फत सूचना दिने गरे पनि नरोकिएको बताउनुभयो ।