• ८ मंसिर २०८१, शनिबार

पाठक नआउँदा पुस्तकालय सुनसान

blog

घोराही उपमहानगरपालिका –१७ चौघेरास्थित सिद्धरत्ननाथ पुस्तकालय । तस्विरः लीलाधर वली

लीलाधर वली

घोराही, चैत २ गते । घोराही उपमहानगरपालिका –१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा रहेको ‘सिद्धरत्ननाथ पुस्तकालय’ पाठक नआउँदा सुनसान भएको  छ । 

पुस्तकालयमा धार्मिक, सांस्कृतिक, इतिहाससँगै पछिल्लो समयका समसामिक विषयवस्तुसँग सम्वन्धित दुई हजार बढी पुस्तक छन् । करिव ५७ बर्ष पुरानो पुस्तकालयलाई व्यवस्थित गर्दै पढ्न मिल्ने र बचेका पुस्तकलाई राखिएको छ । अस्तव्यस्त भएको पुस्तकालयलाई पुनः २०७६ सालदेखि व्यवस्थित रुपमा सुरुवात गरिए पनि पढ्नलाई मानिस भने अत्यन्त कम मात्रामा आउनेगरेका छन् । 

पढ्ने मानिस नहुँदा करिव पाँच दशक पुरानो पुस्तकालय अधिकांश समय सुनसान हुने गरेको छ । योगी नरहरी नाथले २०२३ सालमा स्थापना गरेको पुस्तकालयलाई व्यवस्थित गरे पनि धार्मिक इतिहास तथा संस्कृतिसम्वन्धी अध्ययनमा कम चासो हुने गरेका कारण धेरै मानिस पढ्न नआउने गरेको पुस्तकालयका लाइब्रेरियन शंकर योगी बताउनुभयो । 

पहिलेको तुलानामा व्यवस्थित गरिए पनि अझ व्यवस्थित र फराकिलोसँगै सबैले सहजै पुस्तक पढ्न सक्नेगरी विकास गर्न नसकिएको बताउनुभयो । योगीले भन्नुभयो, ‘पहिलेको तुलनामा पुस्तकालयलाई केही व्यवस्थित गरेका छौं, तर जुन रुपमा सहजै सबैले पढ्न सक्नेगरी खुला ठाउँमा हुनुपथ्र्यो त्यो हुन सकेको छैन ।’

उहाँका अनुसार दुई कोठामा व्यवस्थित रुपमा सञ्चालन गरिएको पुस्तकालयमा पढ्न आउनेहरुको सहजताका लागि कपडाका कुसनसँगै सानो टेवुल राखिएको छ । कुसनमा बसेर पुस्तक पढ्न सकिन्छ । पुस्तकालयलाई व्यवस्थित गरेर अध्ययनका लागि हरेक दिन विहान साढे १० बजेदेखि साँझ ४ बजेसम्मको समयमा खुला गरे पनि अध्ययनका लागि मानिसहरु छिटफुट रुपमा आउने गरेको योगीको भनाइ छ ।

उहाँका अनुसार पुस्तकालयमा योगी नरहरी नाथले लेख्नुभएका विभिन्न पुस्तकसँगै संस्कृत तथा नेपाली भाषाका महत्वपूर्ण पुस्तक रहेका छन् । त्यसक्रममा पुस्तकालयमा मानिस ‘इतिहास प्रकाशनमा सन्धिपत्र संग्रह’ ‘शिखरिणी यात्रा’, ‘धर्मसिन्धुसार’, ‘भैषज्यरत्नावली’ लगायतका विभिन्न पुस्तक अध्ययन र योगी नरहरीनाथले लेख्ने कागज, छाप्ने सामग्री, पहाडी कागजका बारेमा जानकारी लिन आउनेगरेको बताउनुभयो । 

लाइब्रेरियन योगीले भन्नुभयो, ‘नरहरिनाथले जहाँ बस्यो, त्यही लेख्नुहुन्थ्यो । त्यो पहाडी कागजमा लेखिएका कुरालाई अक्षर जोडेर पुस्तक तयार हुन्थ्यो । त्यसरी प्रयोग भएका सामग्री र बचेको कागज अहिले पनि पुस्तकालयमा सुरक्षित राखिएको छ ।’ पुरानो पुस्तकालय हुँदा केही लेखिएका पुस्तक भने धमिराका कारण फालिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पुस्तकालयलाई व्यवस्थित गर्ने क्रममा धमिराले माटो बनाएर बिगारेका र पढ्नै नमिल्नेगरी धुजा भएका केही पुस्तक हटाएका थियौं । त्यो क्रममा केही महत्वपूर्ण पुस्तक पनि खेर गएका छन् ।’ उहाँका अनुसार पुस्तकालय अवलोकन तथा अध्ययनका लागि जिल्लााका विभिन्न ठाउँसँगै काठमाडौ, भारतलगायतका अन्य देशका विदेशीहरु समेत आउनेगरेको बताउनुभयो ।

त्यसमध्येमा सबैभन्दा धेरै भने भारतबाटै आउने गरेको बताउनुभयो । त्यससँगै विभिन्न विद्यालयका शिक्षक विद्यार्थी पनि अध्ययन तथा अवलोकनका लागि कहिलेकाँही आउनेगरेको योगीले बताउनुभयो ।  

उहाँका अनुसार इतिहास खोज तथा अनुसन्धानका लागि महत्वपूर्ण पुस्तक भए पनि प्रचारप्रसार नहुँदा पछिल्लो समय पछिपरेको बताउनुभयो । उहाँका अनुसार अहिले पनि योगी नरहरि नाथका हस्तलिखित, अप्रकाशित सामग्री रहेको त्यसलाई संकलन गरेर पुस्तकका रुपमा प्रकाशन गर्ने र राख्न सके चौघेरा मठकै महत्व बढ्ने बताउनुभयो ।