• १३ साउन २०८१, आइतबार

सप्तरीमा धेरै आँप फल्ने अनुमान

blog

देवरामप्रसाद यादव
सप्तरी, चैत २ गते ।
सप्तरीमा यस वर्ष बढी आँप उत्पादन हुने अनुमान छ । हाल मौसममा देखिएको अनुकूलता तथा आँपको रुखमा मञ्जरी लागेका कारण बढी आँप उत्पादन हुने अनुमान रहेको हो ।

आँपको उत्पादन बढ्ने भन्दै सप्तरीका किसान उत्साहित भएका छन् । आँपको बोट तथा पात नदेखिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी वा आँपको बगैँचामा यतिबेला फूलहरू फुलेका छन् ।

कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याङ्क अनुसार सप्तरीमा यसवर्ष आठ हजार दुई सय ८७ हेक्टर जग्गामा किसानले आँप खेती गरेका छन् । ती जग्गामा ४२ हजार तीन सय ३० मेट्रिक टन आँप उत्पादन हुने कार्यालयको अनुमान छ ।

सप्तरीमा उत्पादित आँप स्थानीय बजारमा साथै काठमाडौं नारायणघाट, पोखरा , विराटनगर धरान लगायत अन्य ठाउँमा लग्ने गरिन्छ । ‘‘यस वर्ष आँप फल्ने वर्ष भएको र फूल राम्रो लागेकाले उत्पादन तेब्बर हुने सम्भावना छ ।,’’ कृषि ज्ञान केन्द्र सप्तरीको अनुसार, ‘‘मौसम अनुकूल भएको हावाहुरी र असिनाको असर नगरे अपेक्षा अनुसारको आँप उत्पादन हुने अनुमान छ ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतले भन्नुभयो, “यस वर्ष सबैतिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने र सुख्खा जमिनमा अन्य बाली नफस्टाउने भएकाले अधिकांश कृषक व्यावसायिक आँप खेतीतर्फ आकर्षित हुने गरेको कृषि प्राविधिकहरूको भनाइ छ । झन्झट कम र उत्पादन बिक्री गर्न सहज हुने भएकाले पनि कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

सप्तरीमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, कृष्णभोग, बम्बै, अम्रपाली, दार्जिलिङ केलवा, कलकतिया लगायतका अन्य जातको आँपको रूख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।

जिल्लाका अधिकांश बगैँचामा आँप लगाएको पाइन्छ । सप्तरीको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहाजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रूपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

हेरचाह र फल बिक्रीका लागि बजारसम्म पुर्‍याउन झन्झट ब्यहोर्नुभन्दा बोट नै बिक्री गर्न सजिलो हुने भएकाले किसानहरूले आँप फुल्न सुरु गरे लगत्तै व्यापारीहरूलाई बगैँचा नै ठेक्कामा दिने गरेका छन् । तराई मधेशका सप्तरी, सिराहा, सुनसरी, धनुषा, सर्लाही, महोत्तरी कपिलवस्तु, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, बाँके, बर्दियालगायतमा आँप खेती बढी हुन्छ ।