• २० असोज २०८१, आइतबार

कक्षा आठको परीक्षा दिँदै जनप्रतिनिधि सिंह

blog

८ कक्षाको परीक्षामा सहभागी हुनुभएका गाउँ कार्यपालिका सदस्य राजेन्द्र सिंह (रातो क्यापमा) । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, चैत २ गते । बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिकास्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ ।

जानकी गाउँपालिका न्यायिक समिति सदस्य एवं वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका सिंहले शिक्षा अति नै महत्पूर्ण रहेको र शिक्षाले नै सबै ढोकाहरू खोल्ने आफूले महसुस गरेको भन्दै आफू ८ कक्षाको परीक्षामा सहभागी भएको बताउनुभयो ।

जानकी गाउँपालिका वडा नं. ४ स्थित जानकी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट ८ कक्षाको परीक्षा दिन सुरु गर्नुभएका सिंहले पढ्नलाई उमेरले नछेक्ने बताउनुहुन्छ । “आफू शिक्षित भएपछि मात्र समाजलाई सही गन्तव्यमा अगाडि बढाउन सकिन्छ, पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।” सिंहले भन्नुभयो । सोही स्कुलमा पहिले पढ्दापढ्दै बिचमै छोड्न बाध्य भएको उहाँको भनाइ छ ।

“विगतमा धेरै पढ्ने चाहना र इच्छा थियो, घरको परिस्थितिले गर्दा पढाइलाई निरन्तरता दिन सकिएन, पढाइलाई बिचमै छोडेर पारिवारिक कारणले गर्दा श्रम गर्न बाध्य भएँ ।” सिंहले भन्नुभयो, “अहिले आएर साङ्गठनिक क्रियाकलाप, राजनीति तथा थुप्रै तालिममा सहभागी हुँदा आफू शिक्षित हुनै पर्ने महसुस भयो र पढाइलाई निरन्तरता दिनका लागि परीक्षा दिन सुरु गरेँ ।”

सुरुको दिन बिहीबार भएको अङ्ग्रेजी परीक्षा अत्यन्तै राम्रो भएको उहाँले बताउनुभयो । राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भन्दै उहाँले अब पढाइलाई निरन्तरता दिने बताउनुभयो ।

सिंहले कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य तथा वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक जस्तो महत्त्वपूर्ण पदहरूमा आफू बसेको भन्दै आफू नै शिक्षित नभए अरूलाई कसरी बुझाउन सकिन्छ र भनेर परीक्षामा सहभागी भएर पढाइलाई अगाडी बढाउन लागेको बताउनुभयो । पालिकामा शिक्षामा अरूलाई फोकस गरिरहँदा आफैले आवश्यक शिक्षा हासिल नगरेको अनुभूति हुने गरेको उहाँको भनाइ छ । 

जानकी गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा सिंह गत स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका तर्फबाट अल्पसङ्ख्यक कोटाबाट गाउँ कार्यपालिका सदस्यमा मनोनीत हुनुभएको थियो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।