• १३ साउन २०८१, आइतबार

गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जना पक्राउ

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत २ गते । गोरखामा मोटरसाइकल चोरीमा संलग्न ११ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । आरुघाट गाउँपालिका र चुमुनुब्री गाउँपालिकाबाट विभिन्न स्थान र विभिन्न मितिमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीबार पत्रकार सम्मेलन गरी सार्बजानिक गरेको छ । चोरी भएको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले बताउनु भयो । 

पक्राउ पर्नेमा आरुघाट गाउँपालिकाका – ३ बस्ने वर्ष २६ का सुक बहादुर गुरुङ, सोही वडाका १९ वर्षीय सुजन कार्की, वडा न ६ कल्लेरी बस्ने वर्ष ३१ राम कुमार श्रेष्ठ, वडा न ४ थुमीमा बस्ने वर्ष २८ का पदम बहादुर बराम र जिल्ला बारा गढीमाई नगरपालिका – ११ घर भई हाल आरुघाट गाउँपालिका – ३ आर्खेत स्थित बर्दश वर्कशपमा काम गर्ने वर्ष २४ का शङ्कर शाह सोनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी वासुदेव पाठकले जानकारी दिनु भयो ।

गोरखामा १६ बटा मोटरसाइकल हराएको निवेदनका साथै आम नागरिकको गुनासो पछि जिल्ला प्रहरी कार्यालय गोरखाले मोबाइल चार्ली नामक अप्रेसन चलाएर हराएको मोटरसाइकल पत्ता लगाउने योजनाका साथ अनुसन्धान गर्दा चोरीमा सग्लग्न गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ । 

पक्राउ परेका ५ जना विरुद्ध जिल्ला अदालत गोरखाबाट २०८० साल फागुन २९ गते चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै जाँदा मोटरसाइकल चोरीका घट्नाको  थप अनुसन्धान गर्दा समूहमा मोटरसाइकल चोरी गरी बिक्री गर्ने, आफूले समेत प्रयोग गर्ने योजना बनाई गोरखा र धादिङ जिल्लाबाट चोरी गर्ने गरेको पाइएको छ । 

पक्राउ परेका थप ६ जना मध्ये आरुघाट गाउँपालिका – ३ बस्ने वर्ष १९ का सन्तोष गुरुङ, सोही वडाका  २० वर्षीय उत्तम गुरुङ, वर्ष १९ का देउवा गुरुङ, वडा न २ बस्ने वर्ष २४ अन्जन घले, वडा न ३ वर्ष ३१ का टेक ब आले, सोही वडाका १९ वर्षीय कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताउनु भयो ।   

पक्राउ परेका  ११ मध्ये ६ जना चोरीमा सग्लग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जा फेरबदल गर्ने कार्यमा संलग्न  रहेको बताइएको छ । उनीहरू विरुद्ध चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी आबश्याक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

विशेष गरी २२० सिसिको पल्सर मोटरसाइकल पार्केट गरी चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उत्तरी गोरखाका दुर्गम भेगमा २५ देखि ३० हजार रुपैयाँ सम्म बिक्री गर्ने गरेको पाइएको छ । बरामत भएका ११ मोटरसाइकलमा ४ वटा बिक्री गरेको र ५ वटा आफैले प्रयोग गर्ने गरेको तथा एउटा बेाबरिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।