सुदूरपश्चिमको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुनेभएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्यमा गठबन्धन निर्वाचित
बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धन दलबाट निर्वाचित हुनुभएको छ । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
ईनारमा शव फेला, हत्याको आशङ्का
सिरहाको गोलबजार नगरपालिका –२ टुड्कीया निवासी ज्ञानचन्द्र भन्ने विष्णुदेव साहको शव विहीवार विहान इनारभित्र फेला परेको छ । पत्नीका लागि औषधी लिएर फर्किन्छु भन्दै मङ्गलबार बेलुकी साइकल लिएर बाहिर जानुभएका उहाँ नफर्किनु भएपछि आफन्तले खोजतलास गर्ने क्रममा विहीवार विहान गाउँ नजिकैको इनारभित्र साईकलसहित उहाँको शव फेला परेको हो ।
कपिलबस्तुको भिक्षुचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु
नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
गाई फार्ममा आगलागी हुँदा धनजनको क्षति
जनकपुरधाम उपमहानगरपालिका १७ मनहरपुरस्थित गएराती विजय यादवको ओम पशुसेवा केन्द्रमा आगलागी हुँदा करिब साठी लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चार करोड पेश्की लिएको छ महिनासम्म सडकको काम अलपत्र
प्रेमराज सिम्खडा कालिकोट, जेठ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मूल सडक शान्तिघाट सिपखाना सडक अन्र्तगत शान्तिघाटबाट वडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निर्माण कम्पनीले स्र्काभेटरसहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो । औपचारिक शिलान्यास भएको छ महिना पुग्दासम्म पनि कुनै पनि काम भएको छैन । निर्माण कम्पनीले काम गर्ने भन्दै अग्रिम भुक्तानी (पेश्की)वापत चार करोड ४० लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्राचार गरेर साईडमा आएर काम गर्न निर्देशन गरेको जानकारी दिनुभयो । निर्माण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले २५ करोड ५५ हजारमा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन ।
महानगरको फोहोर सडकमा ‘डम्पिङ’
विराटनगरमा कुइनेटो, घुमाउँरो र खाली ठाउँमा फोहोरको डङ्गुर भेटिन्छ । सडकको फोहोर दैनिक उठाइन्छ तर त्यसको सोझै व्यवस्थापन गर्ने डम्पिङ साइट नहुँदा सहरका विभिन्न ठाउँलाई सङ्कलन केन्द्रजस्तो बनाइन्छ ।
ढुक्कले अझै खानेपानी पाइँदैन
बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका–७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो ।
जनता रिझाउने प्रयत्नमा पालिका
लुम्बिनी प्रदेशका नवनिर्वाचित पालिका प्रतिनिधिहरूले धमाधम लोकप्रिय निर्णय गर्दै आएका छन् । आफ्नो पहिलो निर्णयलाई महत्त्व दिएका प्रमुखले पहिलो निर्णयमा जनतालाई प्रत्यक्ष राहत तथा सुविधा दिने निर्णय गरेका हुन् ।