भगवानपुर र विष्णुपुर गाउँपालिकामा एमाले विजयी
सन्तोष सुवेदीसिरहा, जेठ ३ गते । सिरहाको भगवानपुर र विष्णुपुर गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवारहरु उग्रनारायण यादव र सत्यनारायण यादव निर्वाचित हुनुभएको छ । उहाँहरुले निवर्तमान गाउँपालिका अध्यक्ष रहनुभएका वेचनप्रसाद यादव र जागेश्वर यादवलाई पराजित गरी निर्वाचित हुनुभएको हो । भगवानपुर गाउँपालिका एमालेका उग्रनारायण यादवले चार हजार ३०२ मत प्राप्त गर्नुभएको थियो भने उहाँको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका वेचनप्रसाद यादवले तीन हजार २३९ मत प्राप्त गर्नुभएको थियो ।भगवानपुर गाउँपालिकाको उपाध्यक्षमा एमालेका रेखाकुमारी यादव तीन हजार ९६० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जिवछीदेवी यादवले तीन हजार २१० मत प्राप्त गर्नुभएको भगवानपुर गाउँपालिकाका निर्वाचन अधिकृत विकासकुमार रजकले जानकारी दिनुभयो । यसैगरी, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सत्यनारायण यादवले निकटतम प्रतिद्वन्दीलाई ४१ मतले पछि पार्दै निर्वाचित हुनुभएको छ । नवनिर्वाचित गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले दुई हजार १५८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी जसपाका जागेश्वर यादवले दुई हजार ११७ मत प्राप्त गर्नुभयो । विष्णुपुर गाउँपालिकाका उपाध्यक्षमा भने जसपाकी गीताकुमारी सिंह निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सिंहले दुई हजार २७२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार १६९ मत प्राप्त गर्नुभयो ।
धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस निर्वाचित
धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । जिल्लाको धनौजी गाउँपालिका अध्यक्षमा २ हजार २ सय ६२ मतले काँग्रेसका उम्मेदवार साह विजयी हुनुभएको हो ।
सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी
सर्लाहीको बलरा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका रामाशङ्कर प्रसाद कुशवाहा विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभय कुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।
स्थानीय तह निर्वाचन, कतै स्थगित कतै पुनः मतगणना
मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।
मतगणना स्थलमा विवाद भएपछि प्रहरीद्वारा हवाई फायर
लक्ष्मी चौधरीजनकपुरधाम, जेठ २ गते । धनुषाको धनौजी गाउँपालिकामा मतगणना क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ । धनौजी वडा १ को लखौरी गाउँको मतगणनाका क्रममा मतपत्र बढी देखिएपछि विवाद उत्पन्न भएको स्थानीयले बताएका छन् । विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो । यस्तै, गाउँपालिकाको ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा तीनै वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ को मतगणनामा समेत काँग्रेसकै अग्रता देखिएका कारण अन्य पार्टीका कार्यकर्ताले मतगणना स्थलमा विवाद उत्पन्न गरेपछि सो विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको निवर्तमान गाउँपालिका उपाध्यक्ष रामवती मण्डलले जानकारी दिनुभयो । मतगणना भइरहेको वडामा समेत काँग्रेसकै अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका उम्मेदवारले अग्रता लिएको मण्डलले बताउनुभयो । विवाद साम्य भएपछि सर्वदलीय बैठक बसिरहेको छ । दलहरुको निर्णयअनुसार मतगणना पुनः गरिने उहाँले जानकारी दिनुभयो । त्यहाँको अवस्था अहिले सामान्य रहेको छ ।उक्त गाउँपालिकामा वडा १ र २ मा मतगाणना हुन बाँकी छ । धनौजीमा जम्मा ५ वटा वडा छ । यसअघि पनि काँग्रेसकै अध्यक्ष एवम् उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
जलेश्वर नगरपालिकामा जसपाले खाता खोल्यो
महेशकुमार दास जलेश्वर, जेठ २ गते । जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले खाता खोलेको छ । जारी मतगणना परिणामअनुसार जलेश्वर नगरपालिका १ को वडा अध्यक्षमा जसपाका अनिलकुमार झा विजयी हुनुभएको छ । झा ५४७ मत ल्याइ विजयी हुनुभएको जलेश्वर नगरपालिकाको निर्वाचन अधिकृत ठाकुरचन्द्र त्रितालले बताउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राकेशकुमार साहले ४२७ मत ल्याउनु भएको निर्वाचन अधिकृत त्रितालले बताउनुभयो । जलेश्वर नगरपालिका १ मा निर्वाचित वडा अध्यक्ष झा यसअघि पनि सोही वडाको वडा अध्यक्षमा निर्वाचित भई ५ वर्षे कार्यकाल पूरा गरी वैशाख ३० गते सम्पन्न भएको चुनावमा मनोनयन दर्ता गर्नुपूर्व पदबाट राजिनामा गरी पुनः चुनावमा होमिनु भएको थियो । झा १२० मतको अन्तरले विजयी हुनुभएको छ । विजयी भएका वडा अध्यक्ष झाले जनताले अघिल्लो कार्यकालमा बाँकी रहेको अधुरो काम पूरा गर्ने जिम्मवारीकासाथ दोस्रो पटक जिताएको बताउनुभयो । ‘अधुरो काम पूरा गर्ने विश्वासका साथ चुनाव जिताउनु भएको छ, म जनताको विश्वासमा खडा उतार्ने प्रयास गर्नेछु’ उहाँले भन्नुभयो ।
सर्लाहीको धनकौल गाउँपालिका अध्यक्षमा कांग्रेसका रामआश्रय साह विजयी
जनार्जन खत्री सर्लाही, जेठ २ गते । सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले गोरखापत्रलाई जानकारी दिनुभयो । साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षमा विजयी साहले चार हजार ४७७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत मात्रै प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर विजयी हुनुभएको छ । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । उहाँकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलमकुमारी देवी सहनीले तीन हजार २२५ मत मात्रै ल्याउनुभएको छ । सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडामा विजयी भएका छन् । कांग्रेसले वडा नं. १, २, ४ र ७, माओवादी केन्द्रले वडा नं. ५ र ६ तथा एमालेले वडा नं. ३ मा जित निकालेको छ । यस्तै, सर्लाहीका अन्य १८ वटा पालिकामा अहिले मतगणना जारी रहेको छ । तीमध्ये बलरा नगरपालिका, रामनगर गाउँपालिका, हरिपुर नगरपालिकालगायतका केही पालिकामा सोमबार बेलुकासम्म अन्तिम नतिजा आइसक्ने सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् । जिल्लाको बरहथवा नगरपालिकामा भने मङ्गलबार वडा नंं. १७ मा पुनः मतदान भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत दशरथ पङ्गेनीले बताउनुभयो ।
धनुषाको सात वडामा कांग्रेस विजयी
धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् । कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।
धनुषाको १८ वटै पालिकामा मतगणना जारी
धर्बेन्द्र झा धनुषा, जेठ १ गते । धनुषाको १८ वटै पालिकामा मतगणना जारी रहेको छ । धनुषाको १० वटा पालिकामा नेपाली काँग्रेस, दुई वटामा नेकपा एमाले, दुईमा जसपा र लोसपा, एक वटामा माओवादी केन्द्र र एकमा स्वतन्त्र उम्मेदवारको अग्रता छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसबाट राजीनामा दिएर मेयर पदमा घन्टाघर चुनाव चिन्ह लिई स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार शाह अगाडि हुनुहुन्छ । शाहले १ हजार २ सय ६४ मतसहित अग्रता हासिल गर्नुभएको हो । उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशङ्कर शाह हीराले ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, आँप चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गर्नुभएको छ । उपमेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी शाह १ हजार ३ सय ६२ मतसहित अग्र स्थानमा रहनुभएको छ भने उहाँलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याई पछ्याउँदै हुनुहुन्छ । आँप चुनाव चिन्ह रहेका उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडामध्ये आईतबार चार बजेसम्ममा २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । जनकपुरधाम उपमहानगरपालिका १ मा नेपाली काँग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लभ अधिकारीले ५४१ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी, वडा नम्बर २ मा नेपाली काँग्रेसका शिवकुमार शाहले ६६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एसका अशोक गुप्ताले २९५ मत ल्याउनुभएको हाे । वडा नं.३ मा तमलोपाका दीपेन्द्र शाह विजयी भए पनि औपचारिक घोषणा हुन बाँकी छ । जिल्लाभरिमा मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा ढिलाइ भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले दिनुभएको जानकारी अनुसार कमला नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका सरददेव यादव, क्षिरेश्वरनाथ नगरपालिका १ मा नेपाली काँग्रेसका मुवारक कवाडी, नगराईन नगरपालिका १ मा नेपाली काँग्रेसबाट सीताराम महतो, बटेश्वर गाँउपालिका १ मा नेपाली काँग्रेसका अशोककुमार महतो, मिथिला नगरपालिका १ मा नेपाली काँग्रेसका जोगी महतो, लक्ष्मीनियाँ गाँउपालिका १ मा नेकपा एमालेका दिलिप यादव, २ मा नेकपा एमालेकै लालजी साह तेली, विदेह नगरपालिका १ मा नेकपा एमालेका सञ्जय पाण्डे, वडा नं.२ मा रामपुकार सहनी, शहीदनगर नगरपालिका १ मा नेपाली काँग्रेसका तेजीलाल यादव र हंसपुर नगरपालिका १ मा जसपाका रामदेव कापर विजयी हुनभएको छ ।