महोत्तरीमा नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते
महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।
बारा–२ मा मतगणना सुरु
बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
बारा–२ मा ११ बजेदेखि मतगणना सुरु हुने
बारा क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सोमबार बिहान ८ बजे बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
आचारसंहिता उल्लङ्घन गरेको छैन : मुख्यमन्त्री
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगको विज्ञप्तिप्रति ध्यानाकृष्ट भएको भन्दै उक्त विज्ञप्तिमा उल्लेख गरिएको विषयमा कुनै सत्यता नभएको बताउनुभएको छ। आचारसंहिताविपरीत काम गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। मुख्यमन्त्री यादवले आइतबार एक विज्ञप्ति जारी गरेर आयोगको विज्ञप्तिको भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरमा सम्पन्न गर्न बारा प्रतिनिधि सभा क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई पुनः एक पटक अपिल गर्नुभएको छ।
दमकल बिग्रिएर हैरान
जताततै आगलागी भइरहेका बेला सर्लाहीमा रहेका दुईवटा दमकल पालैपालोजसो बिग्रिएर हैरान पार्न थालेका छन्। सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल तीन महिनापछि मर्मत गरेर ल्याएको एक साता भएको छ भने हरिवन नगरपालिकाको दमकल बिग्रिएर थन्किएको छ। हरिवन नपाले बिग्रिएको दमकल मर्मतका लागि आइतबार बिहान वीरगञ्ज पठाइएको नगरपालिका कार्यालयले जनाएको छ।
निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक
निजी स्कुलका बसलाई गाउँ प्रवेशमा रोक लगाएपछि बर्दिबास–३, पाटु गाउँ तनावमा छ। आइतबार बिहान विद्यार्थी लिन निजी स्कुलका बसलाई गाउँ प्रवेशमा अवरोध गरेपछि गाउँलेबीच विवाद भएको थियो। गाउँलेले अवरोध गरेपछि निजी स्कुलले तीनवटा बसलाई बीच सडकमा तेर्साएर बीपी राजमार्ग करिब ४५ मिनेट अवरुद्ध पारे। घटनास्थल पुगेको प्रहरीले सम्झाई बाटो खुलाएको थियो। प्रहरीले तत्काल आवागमन खुलाए पनि विवाद यथावत् रहेकाले कुनै पनि बेला राजमार्ग पुनः अवरुद्ध हुने सम्भावना नटरेको स्थानीयवासीको भनाइ छ।
सार्वजनिक बाटो अवरुद्ध
महादेवा गाउँपालिका–१ स्थित एक सार्वजनिक बाटो बाँसको टाटी लगाएर बन्द गरिएको छ। स्थानीय श्रवण मण्डलले सो सार्वजनिक बाटो अवरुद्ध गरेका हुन्। छिमेकी रामकुमार यादवसँग जग्गासम्बन्धी विवाद उत्पन्न भएपछि मण्डलले हिँड्न समस्या हुने गरी घरको टाटी लगाएर बाटो छेकेको स्थानीयवासीले बताएका छन्। बाटो छेकेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। बाटो ठप्प हुँदा दैनिक उपभोग्य वस्तुसमेत ओसारपसारमा कठिनाइ हुनुका साथै घर पुग्न पनि समस्या रहेको स्थानीय अशोक यादवले बताउनुभयो।
बारामा सर्वदलीय बैठक बस्दै, त्यसपछि मत गणना सुरु
बारा–२ मा मत गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले मत गणना सुरु गर्ने वातावरण तयार गर्न सूचना जारी गरी बिहान ७ बजेका लागि बैठक आव्हान गरेको हो ।
मटिहानीमा आगलागी, आठ घर जलेर नष्ट
महोत्तरीको सीमावर्ती नगरपालिका मटिहानी –६ स्थित जरहलवा टोलको घनावस्तिमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ । प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार आइतवार दिउँसो स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको छ ।