कतै किट अभाव, कतै उपचारमा समस्या
देशका विभिन्न स्थानमा केही दिनयता डेङ्गु सङ्क्रमण फैलिएको छ। यसले सर्वसाधारणलाई नराम्रोसँग थला पारेको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि डेङ्गुको सङ्क्रमण बढ्दो गतिमा छ। पोखरा समाचारदाताका अनुसार टाउको दुख्ने, एक्कासि ज्वरो आउने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी, हाडजोर्नी दुख्ने लक्षण लिई अस्पताल पुग्ने बिरामी बढ्दो छन्। यस्तो लक्षण देखिनासाथ तुरुन्तै स्वास्थ्य संस्थामा पुग्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेश कार्यालयले जनवरीदेखि नै डेङ्गु सङ्क्रमण देखिएको बताएको छ।
हराउन लाग्यो सम्बन्ध जोड्ने ‘मित’ प्रचलन
म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
अपाङ्गता भएका महिलालाई तालिम
नवलपुरका अपाङ्गता भएका महिला तथा आश्रित परिवारलाई आत्मनिर्भर बनाउन आवाससहित सिलाइ कटिङ तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सिलाइकटाइको ६५ दिने आवाससहितको तालिम सञ्चालन गरिएको हो। कोपिला नेपाल, पोखराकी कार्यकारी निर्देशक बीनाकुमारी सिलवालले शैक्षिक योग्यताले मात्र स्वरोगार हुन नसकिने हुँदा जीवनभरलाई उपयोगी हुने गरी सीप सिकेर स्वरोगार बनाउन सो तालिम सञ्चालन गरिएको बताउनुभयो।
लोप हुँदै थकाई मेटाउने चौतारी
थाकेको बेला, गर्मीले उकुसमुकुस हुँदा एकै छिन मात्रै टुसुक्क चौतारीमा बस्ने हो भने थकान मेटाउन सकिन्छ । तनहुँमा थकाई भुलाउनको लागि पूर्खाले बनाएको चौतारी मासिँदै जान थालकोे छ ।
भीड थाम्न प्रशासनको टोकन
पूर्वीनवलपरासीमा राहदानी बनाउन आउनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली सुरु गरेको छ। वैदेशिक रोजगार र उच्चशिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेका छन्। कोभिडका कारण रोकिएको विदेश भ्रमण यति बेला सहज रूपमा सञ्चालन भएकाले राहदानी बनाउन आउनेको सङ्ख्या बढेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।
व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल
तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ ।
सल्यानका सडकहरू तत्काल मर्मत गर्न निर्देशन
जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग र सहायक सडकको निर्माण, मर्मत तथा अवरुद्ध सडक मर्मत हुन नसक्दा उपभोक्ताहरू मारमा परेका छन् । वर्षा कम भएसँगै तत्काल सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
एक हजार ५८५ थान लागु औषधसहित गुरुङ पक्राउ
लमजुङ, भदौ २८ गते । लमजुङ प्रहरीले लमजुङ प्रवेश नाका सुन्दर बजार नगरपालिका वडा नं. ७ पाउँदीबाट एक जना युवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।लमजुङकै मर्स्याङ्दी गाउँपालिका वडा नं. ७, नयाँ गाउँ घर भई हाल बेंसीसहर नगरपालिका वडा नं. ७ बस्ने २२ वर्षीय नितेश गुरुङ भन्ने ओमप्रकाश गुरुङलाई लागु औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका युवकको साथबाट एक हजार ५ सय थान ट्रामाडोल ट्याब्लेट र ८५ थान नाइट्राभ्याट ट्याब्लेट बरामद गरिएको छ । प्रहरीले पक्राउ परेका व्यक्ति र बरामद गरिएका लागु औषध सोमबार प्रहरी कार्यालयमा एक कार्यक्रमबिच सार्वजनिक गरेको छ । प्रहरीले ती युवकको साथबाट एउटा मोबाइल समेत बरामद गरेको छ ।काठमाडौँबाट बेंसीसहरतर्फ आउँदै गरेको यात्रुवाहक हाइस माइक्रोमा आइतबार राति १० बजेको समयमा ती युवकसहित लागु औषध पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भोटे ओडारका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सनाले बताउनुभयो । चाडबाडको समयमा सुरक्षा व्यवस्थापन मजबुत बनाउँदै लाने क्रममा साँझपख भित्रने सवारी साधनलाई बढी मात्रामा चेकजाँच गर्ने गरिएको र सोही क्रममा ती युवक लागु औषधसहित फेला परेको प्रहरी निरीक्षक तिमिल्सनाले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले लागु औषधसहित पक्राउ परेका गुरुङलाई लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको बताउनुभयो । लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को उपदफा १ (झ) बमोजिम लागू पदार्थ कारोबारीलाई २ वर्षदेखि १० वर्षसम्म र १ लाख रुपियाँदेखि २० लाख रुपैयाँसम्म कारबाही हुने प्रहरीले जनाएको छ । पक्राउ परेका युवक कारोबारी र प्रयोगकर्ता दुवै रहेको खुलेको प्रहरीले बताएको छ ।
ढिलाइ गरेकोप्रति स्थानीयवासीको विरोध
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम ढिलाइ भएको भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । गैँडाकोट– ११ र १२ को सिमाना हर्कपुरमा एक घण्टा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणाधीन अवस्थामा छ । सडक निर्माणको ठेक्का पाएको कम्पनीले समयमा काम नसक्दा यात्रुले सास्ती बेहोर्नुपरेको छ । विरोधस्वरूप एक घण्टा सवारी आवागमन ठप्प पारेका स्थानीयले ‘नेताहरू हेलिकोप्टरमा सरर, जनतालाई धुलो फरर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । ठेकेदार कम्पनीले समयमा काम नसक्दा धुलो र हिलोले आजित भएको भन्दै साङ्केतिक रूपमा एक घण्टा चक्काजाम गरेको स्थानीयले बताएका छन् । सडकको निर्माण कम्पनीसहित अन्य सरोकारवाला निकायसँग छलफलका लागि मुकुन्दपुरका स्थानीयले १३ सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन् ।