सत्ता गठबन्धनको बैठक शुरु, सिट बाँडफाँट टुङ्गिने
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गीने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।
खण्डनभन्दा बढी प्रतिप्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो। आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उहाँले प्रतिप्रश्न गर्नुभएको छ। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उहाँले जिकिर गर्नुभयो। निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।
अनावश्यक राजनीतीकरण दुःखद : प्रचण्ड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्दै उहाँले राष्ट्रिय सहमति जुटाउने सवालमा चासो व्यक्त गर्नुभयो। राष्ट्रपति कार्यालयका प्रेसविज्ञ टीका ढकालका अनुसार नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले नागरिकता विषय राष्ट्रियतासँग जोडिएको र संवेदनशील भएकाले दलहरूबीच सहमति हुनुपर्नेमा जोड दिनुभयो। अङ्गीकृत नागरिकताका बारेमा राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमाथि संसद्मा राष्ट्रिय सहमति नबनेका कारण नयाँ व्यवस्था नगरिएको बताउनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।
जिल्ला न्यायाधीश अधिकारी बर्खास्त
काठमाडौं, भदौ १५ गते । न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो। यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो। न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो। यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कमी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो।
पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताउनुभएको छ। १५ औं पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताउनुभएको हो।
कैलाली ४ बाट नैनसिंह महर सिफारिस
धनगढी, भदौ १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समितिले क्षेत्र नम्बर ४ बाट सिफारिस गरेको छ। कुल ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ। पूर्व माओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जित्नुभएको थियो। २०७० सालमा काँग्रेस नेता दीर्घराज भाट विजयी हुनुभएको थियो।
प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि सांसदकाे प्रतिक्रिया
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान लिनेक्रम बिहीबारसमेत चल्ने भएको छ।बुधबार सबै प्रश्नको जवाफ दिने समय नपुगेपछि महाअभियोग सिफारिस समितिले बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने
बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ।