लक्ष्मण दर्नाल
काठमाडौँ, भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्दै उहाँले राष्ट्रिय सहमति जुटाउने सवालमा चासो व्यक्त गर्नुभयो।
राष्ट्रपति कार्यालयका प्रेसविज्ञ टीका ढकालका अनुसार नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले नागरिकता विषय राष्ट्रियतासँग जोडिएको र संवेदनशील भएकाले दलहरूबीच सहमति हुनुपर्नेमा जोड दिनुभयो। अङ्गीकृत नागरिकताका बारेमा राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमाथि संसद्मा राष्ट्रिय सहमति नबनेका कारण नयाँ व्यवस्था नगरिएको बताउनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अध्यक्ष प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्तति राज्यविहीन बन्ने अवस्था अन्त्य गर्न विधेयक ल्याइएको दाबी गर्नुभएको थियो। उहाँले विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेश र राष्ट्रपतिद्वारा प्रमाणीकरण गरिएको अध्यादेशको व्यवस्थाअनुसार रहेको प्रस्ट पार्नुभएको तथा विधेयकमा अनावश्यक राजनीतीकरण गरिनु दुःखद रहेको पनि उल्लेख गर्नुभएको स्वकीय सचिव मल्लले जानकारी दिनुभयो। छलफलमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलगायतका समसामयिक विषयमा राजनीतिक दलहरूसँग छलफल गरिरहनुभएको छ। यसअघि उहाँले नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपासँग छलफल गरिसक्नुभएको छ।