मतपरिणाम आउनेक्रम जारी
आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। शुक्रबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रतिनिधि सभा सदस्यमा विभिन्न राजनीतिक दलका उम्मेदवारले विजय हासिल गर्नुभएको छ। महोत्तरी समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ।
नेतालाई दिए भोट , युवा हिँडे कमाउन नोट
पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गह्रुँगो मनले हात हल्लाए। सङ्खुवासभा, बानाका द्रोण कोइरालाले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गह्रुँगो बनाउँदै। यही मङ्सिर ४ मा भएको आमनिर्वाचनको सरगर्मीमा रमाउँदै उहाँ आफ्नो कर्मथलोतर्फ लाग्नुभएको हो। कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिक पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे। सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो। परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घरव्यवहार चलाउन उनीहरू विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए।
लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु
“सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान” नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शद्रक्रबारदेखि सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्तिको समान योगदान हुनुपर्ने बताउनुभयो । मन्त्रालयले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा शुक्रबार राजधानीमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
विश्वविद्यालयको विकासमा सरकार प्रतिबद्ध
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ। विश्वविद्यालयको वार्षिक सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/८० को लागि तयार गरिएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै सोहीअनुसार अघि बढेमा विश्वविद्यालयको उन्नति सुनिश्चित हुनेसमेत बताउनुभयो। विश्वविद्यालयले समयको मागअनुसार व्यावहारिक तथा सीपमूलक विषयको पढाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य
आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो ।आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभागले निर्णय नै गरेर फागुन मसान्त तोकेको छ ।
बाजुरामा मतदान आज
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फका करिब तीन चौथाइ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। यता विवादित बनेका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना गर्ने वा पुनः मतदान हुने भन्ने अझै निश्चित भएको छैन। दोलखा, स्याङ्जा र बाजुराका एक एक निर्वाचन क्षेत्र विवादित बनेका हुन्। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले तीनवटै जिल्लाको उजुरी आयोगले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो।
मोरङ २ मा एमालेका पोखरेल विजयी, कांग्रेस नेत्री कोइराला पराजित
मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएका छ ।
उदयपुर १ को (ख) मा कांग्रेसका कार्की विजयी
उदयपुरको निर्वाचन क्षेत्र १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की निर्वाचित हुनुभएको छ ।
कालीकोट १ (ख) मा कांग्रेसका विष्ट निर्वाचित
कालीकोट निर्वाचन क्षेत्र १ प्रदेश (ख) मा नेपाली कांग्रेसका हिक्मतवहादुर विष्ट निर्वाचित हुनुभएको छ । उहाँ सात हजारभन्दा बढी मतले निर्वाचित हुनुभएको हो ।
सिराहा–१ मा एमालेका रामशङ्कर यादव विजयी
सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव निर्वाचित हुनुभएको छ ।
स्याङ्जा क्षेत्र नं. १ (ख) बाट एमालेका सुधिर विजयी
स्याङ्जा जिल्लाको क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (ख) बाट नेकपा (एमाले) का सुधिरकुमार पौडेलले जित निकाल्नु भएको छ ।
सप्तरी ४ (क) प्रदेशसभा सदस्यमा एसका न्यौपाने निर्वाचित
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा १ (ख) प्रदेशसभा सदस्यमा एमालेका मण्डल निर्वाचित
धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
पाल्पा २(ख)मा माओवादीका घर्तीमगर विजयी
पाल्पा क्षेत्र नं. २ (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तुलाराम घर्तीमगर विजयी हुनुभएको छ । घर्तीले १३ हजार ९६६ मत ल्याउनुभएको छ ।
पाल्पा –२ मा एमालेका ठाकुर गैरे निर्वाचित
पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) का ठाकुर गैरे निर्वाचित हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै गैरे विजयी हुनुभएको हो ।
काभ्रेपलाञ्चोक २ मा एमालेका गोकुल बाँस्कोटा विजयी
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उम्मेदवार पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा विजयी हुनुभएको छ ।
मोरङ ५ (क)मा कांग्रेसका मण्डल र (ख)मा अर्याल विजयी
मोरङ क्षेत्र नं. ५ (क)मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनुभएको छ । उहाँले १४ हजार ८४३ मत प्राप्त गर्नुभएको छ ।
मोरङ ५ मा स्वतन्त्र उम्मेदवार मण्डल विजयी
मोरङको निर्वाचन क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुनुभएको छ । उहाँले वाम गठबन्धनका उम्मेदवार शिवकुमार मण्डललाई चार हजार ३३४ मतान्तरले पराजित गर्नु भएको हो ।
पश्चिम नवलपरासी १ (ख) मा कांग्रेसका देवकरण कलवार विजयी
पश्चिम नवलपरासीका प्रदेश निर्वाचन क्षेत्र नम्बर १ (ख)मा नेपाली कांग्रेसका देवकरण कलवार विजयी हुनुभएको छ ।
गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी
निर्वाचन क्षेत्र नम्बर १ गुल्मीमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ ।
मोरङ ४ (ख) मा कांग्रेसका भीम पराजुली विजयी
प्रदेशसभा सदस्यअन्तर्गत मोरङ ४ (ख) मा नेपाली कांग्रेसका भीम पराजुली विजयी हुनुभएको छ ।
नवलपरासी २ मा राप्रपाका ध्रुवबहादुर प्रधान विजयी
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ध्रुवबहादुर प्रधान विजयी हुनु भएको छ ।
उदयपुर १ को (क)मा माअाेवादी केन्द्रका राजन किराँती विजयी
उदयपुरको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजन किराँती १५ हजार ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
नवलपरासी २ (ख) मा कांग्रेसका कलवार निर्वाचित
पश्चिम नवलपरासीको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको छ ।