२४ घण्टामा ११ जनामा कोरोना पुष्टि : ३६ जना डिस्चार्ज
काठमाडौं, वैशाख ४ गते। पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् भने मृत्यु शून्य छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ छ।
जनकपुरमा दुई सय शैय्याको क्यान्सर अस्पताल बन्ने
लक्ष्मी चौधरीजनकपुरधाम, बैशाख ३ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा दुई सय शैय्याको क्यान्सर अस्पतालको शिलान्यास भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २५ स्थित विनयतारा क्यान्सर ट्रस्टद्वारा सञ्चालित दुई सय शैय्या भएको विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।कार्यक्रममा ट्रस्टका प्रमुख विनयकुमार साहले क्यान्सरका बिरामीहरु उपचारका लागि प्रदेशभन्दा बाहिर जानुपर्दा झन् समस्यामा पर्नेगरेको बताउनुभयो । प्रदेशमा नै क्यान्सर अस्पतालको निर्माण हुँदा बिरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले यहाँ अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । मान्छे रोगबाट पीडित भइरहेको हुन्छ त्यसमा पनि पायक पर्ने ठाउँभन्दा बाहिर गएर उपचार गराउनुपर्दा रोग निको भए पनि आर्थिक समस्याबाट जुध्नुपर्ने समस्या हुने चर्चा गर्नुभयो ।यसअघि अमेरिकास्थित विनयतारा ट्रष्टले जनकपुरधाम पुल्चोकमा ४ वर्षदेखि २५ शैय्याको क्यान्सर अस्पताल सञ्चालन गर्दैआएको छ । सो क्यान्सर अस्पतालमा नेपाल तथा भारतका बिरामीको चाप बढ्न थालेपछि दुईसय शैय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको ट्रष्टका प्रमुख साहले बताउनुभयो । यस्तै, विनयतारा क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. वाइपी सिंहले अस्पताल निर्माणमा स्थानीयवासी तथा मनकारीहरुको साथ सहयोगबिना अस्पताल निर्माण हुन नसक्ने भएकाले सबैसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो । अस्पतालमा अमेरिकन प्रविधिबाट उपचार गरिने भएपनि उपचार शुल्क भने न्यून राखिने ट्रष्टले जनाएको छ । सो क्यान्सर अस्पताल निर्माणका लागि ट्रस्टले साढे तीन बिघा जग्गा खरिद गरेको छ । स्थानीय विनोद ठाकुरले अस्पतालका लागि भनेर दान स्वरुप १० कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । चार बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालका लागि डिजाइनरदेखि दक्ष प्राविधिक पनि अमेरिकाबाट ल्याइने जनाइएको छ । तीन वर्षमा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ । अस्पताल निर्माणपछि नेपाल–भारतका ठूलो जनसङ्ख्या लाभान्वित हुने विश्वास सञ्चालनकहरुको छ ।
छ जना सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख ३ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ४३ परीक्षण गर्दा नौ जना सङ्क्रमण पुष्टि भएको हो ।२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ भने ४४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल देशभर चार सय सक्रिय सङ्क्रमित छन् ।पछिल्लो २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा
काठमाडौं, वैशाख ३ गते। वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना हुनुभएका जोशीलाई शनिबार आईसीयूमा सारिएको हो।मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य छ। भोलिसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको हो। जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको निर्देशक बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। १०३ वर्षीया जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो।
मुख कसरी सफा राख्ने ?
काठमाडौं, वैशाख ३ गते। मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ। दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ। मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ। रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सको भनाइ छ। दन्त स्वास्थ्यका बारेमा मानिसमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हुने चिकित्सकको भनाइ छ। स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दाँतको स्वास्थ्यका बारेमा केही गलत आमधारणाका बारेमा सार्वजनिक गरेको छ। दाँत निकाल्दा आँखा कमजोर हुन्छ, दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ, जुठो खाँदा दाँतमा किरा लाग्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ, दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन, कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ भन्नु गलत भएको मन्त्रालयले जनाएको छ। कतिपयले अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर नहुने बुझाइ गलत भएको मन्त्रालयले जनाएको छ। दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने र १(२ वटा दाँत बिग्रदैमा केही नहुने मनोविज्ञान गलत भएको सूचनामा उल्लेख छ।
सत्यमोहन जोशी किष्ट अस्पतालको डिलक्स सुइटमाः मुटुको चालमा गडबढी
काठमाडौंं, वैशाख ३ गते । संस्कृतिविद् सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ । बुधबार छातीमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको छ । १०३ वर्ष वर्षीया जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको निर्देशक बज्राचार्यले बताउनुभयाे । जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो ।
‘चुनाव आयो, भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’
काठमाडौं, वैशाख ३ गते । स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिँदै गर्दा चुनावी आमसभा र पार्टी प्रवेश कार्यक्रमहरु बढेका छन् । गाउँ टोलदेखि नै दलका नेता, कार्यकर्ताको दौडधुपका साथै सभा सम्मेलन बढ्दै गएका छन् । दुई वर्षदेखि कोरोना महामारीबाट तङ्ग्रिन लाग्दै गर्दा नेपाल तीन तहको निर्वाचनमा होमिएको छ । चुनावका बेला हुने भीडभाडले फेरि कोरोना सङ्क्रमण बढाउने त होइन भन्ने चिन्ता पनि सुरु भएको छ । छिमेकी राष्ट्र भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । त्यस्तै, चीनमा पनि सङ्क्रमणदर बढेपछि केही शहरमा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । चीन र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुलाई विज्ञहरुले चौथौ लहर फैलिन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा औसत कोरोना भाइरसको सङ्क्रमणदर ०.४ प्रतिशतमा झरेको छ । नेपालमा सङ्क्रमणदर कम भएको तर शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै छ । त्यसैले सभा, भेला, सम्मेलमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले आग्रह गर्दै आएको छ । गाउँदेखि सहरसम्म हुने चुनावी कार्यक्रम, सभा सम्मेलनमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ । भारतमा सङ्क्रमण फैलिएको १५ दिनभित्र कोरोना नेपालमा पनि फैलने गरेको विगतले देखाउँछ । त्यसैले नेपालमा पनि पुन सङ्क्रमण बढ्न सक्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि कोरोनाको जोखिम घटी नसकेको बताउनु हुन्छ । डा. पुनले भन्नुभयो, “अहिले चीन र भारतमा फैलिएको सङ्क्रमण ओमिक्रोनको परिवर्तित स्वरुप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ओमिक्रोनको सङ्क्रमणदर बढी भएकाले नेपालमा पनि सङ्क्रमण फैलन सक्ने र उत्सर्गमा पुग्न सक्ने देखिन्छ ।” चीनमा र भारतलगायत विश्वका विभिन्न देशमा सङ्क्रमणको सङ्ख्या बढे पनि अस्पतालमा भर्ना भएका घटना न्यून सङ्ख्यामा छन् । त्यसैले कोरोना सङ्क्रमण नेपालमा बढ्न सक्ने सम्भावना भए पनि जटिलता कम हुने डा. पुनको विश्वास छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि धेरै नै छ । “नेपालमा सङ्क्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकाले त्यति जटिल अवस्था नआउन सक्छ,” उहाँ भन्नुहुन्छ । तर खोप नलगाएका तर सङ्क्रमित भएका व्यक्तिहरु चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना सङ्क्रमण फैलने जोखिम बढी हुने चिकित्सक बताउँछन् । कोरोनाको सङ्क्रमण दर घटेको र खोप लगाइसकाले धेरैले हेलचेक्राइँ गर्ने गरेको चिकित्सक बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दा गर्मी मौसममा हुने अन्य सरुवा रोगबाट पनि बच्न सकिने डा. पुन बताउनुहुन्छ । डा. पुन भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य सङ्क्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्यरुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनुपर्छ । चुनावमा कम्तीमा अनिवार्यरुपमा मास्क लगाए पनि कोरोना फैलिने सम्भावना कम हुन्छ ।” आयोगको तयारी निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सभा, गोष्ठी, जुलुस गर्दा कोभिड १९ विरुद्धको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको बताउनुहुन्छ । दलहरुले आयोजना गर्ने आमसभा, बैठक, र्याली, कोणसभामा स्वास्थ्य मापदण्ड पालन गर्न गराउन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । साथै अर्यालका अनुसार, आयोगले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउने र विभिन्न ठाउँमा सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालन गर्ने सम्बन्धी प्रचारप्रसार सामग्री राख्न निर्देशन दिइसकेको छ । मतादान केन्द्रको हकमा निश्चित व्यक्तिलाई मात्र पास दिने व्यवस्था गर्न निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । मतदातालाई बढी भीडभाड नहोस् भनेर दुईवटा लाममा दूरी कायम गराउने र फराकिलो ठाउँमा मतदान केन्द्र बनाउने तयारी गरेको पनि निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रत्येक निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजरका साथै साबुनपानीको व्यवस्था गर्न निर्देशन दिएको छ भने स्वास्थ्य मादपण्ड अपनाउन आवश्यक साम्रगी केन्द्रबाट पठाउने तयारी आयोगले गरेको छ । खोप कार्ड अनिवार्य छ ?निर्वाचनमा मतदान गर्न मतदातालाई खोप कार्ड अनिवार्य गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइनसकेको निर्वाचन आयोगको भनाइ छ । आयोगको सहायक प्रवक्ता अर्यालले खोप कार्ड अनिवार्य गर्दा मतदान झन् झन्झटिलो हुनसक्ने बताउनुभयो । “खोप कार्ड अनिवार्य गरेको छैन । मतदातालाई खोपकार्ड अनिवार्य गर्दा त्यो झन्झटिलोे हुन्छ । सरकारले सबै नागरिकले खोप लगाएको सुनिश्चितता दिएपछि खोप कार्डभन्दा विश्वसनीय हुन्छ”,उहाँले भन्नुभयो ।खोप नलगाउने मतदान गर्न पाउँछन् ?आयोगले सरकारलाई बैशाख १० भित्र सबै नागरिकलाई खोप लगाइसक्न निर्देशन दिएको थियो । तर चैत महिनासम्म १८ वर्ष माथिका ६ प्रतिशतले कोरोनाविरुद्धको खोपको एक मात्रा पनि लगाएका छैनन् । सरकारले खोपको कमी नभएको बताए पनि नागरिकले नै खोप लगाउन नचाहेका जनाएको छ । खोप नलगाएकाले मतदान गर्न पाउँदैनन् कि भन्ने जिज्ञासा धेरैमा छ । आयोगका सहायक प्रवक्ता अर्यालले खोप नलगाएको व्यक्तिलाई मताधिकारबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राज्यले खोप उपलब्ध गराउने हो, खोप लगाउने/नलगाउने अधिकार जनताको हो । उहाँलाई बाध्यकारी बनाउन मिल्दैन । राज्यले खोप दिँदादिँदै खोप लगाउन चाहनुहुन्न भने उहाँहरुको इच्छा हो । भोट हाल्न पाउने उहाँहरुको अधिकार हो । त्यसैले आयोगले भोट नहाल्न भन्न मिल्दैन ।’’
सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौं, वैशाख २ गते। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ। छोरी कादेवी जोशीका अनुसार सास फेर्न अप्ठेरो महसुस भएपछि उहाँलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। पिसाबमा इन्फेक्सन भएको चिकित्सकले बताउनुभएको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरी कादेवीले भन्नुभयो। १०२ वर्षीय जोशीलाई यसअघि माघमा सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे ।
थप १४ जनामा सङ्क्रमण पुष्टि, ५५ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख २ गते । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । कुल ३९ सय तीन परीक्षण गर्दा १४ जना सङ्क्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५५ जना कोरोना मुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।