भारतका प्रधानमन्त्री मोदी नेपाल आउनुहुँदै
प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपाल भ्रमणमा आउनुहुने भएको छ । प्रधानमन्त्री देउवाले गत चैत १८ देखि २० गतेसम्म भएको आफ्नो भारत भ्रमणका बेला भारतका समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । सोहीअनुसार भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउन लाग्नुभएको हो ।
शिक्षकमा बाह्र प्रतिशत मात्र उत्तीर्ण
शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।
किनिए दुई रेल, चल्ने एउटा मात्र
जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ ।
गठबन्धनतर्फ १९० निर्विरोध
स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो ।स्थानीय निर्वाचनको तयारीबारे जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनुभयो । स्थानीय निर्वाचन २०७४ मा भने ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए ।
विविधता नै नेपाली समाजको पहिचान
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र)का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य रहिआएको बताउनुभयो ।
तात्दै छ काठमाडौँको चुनावी माहोल
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तात्दै गएको छ । यही ३० गतेलाई निर्धारित निर्वाचनका लागि काठमाडौँ उपत्यकालगायत देशभरको राजनीतिक माहोल तातेको हो । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेद
डिजिटल नेपालका लागि २२ अर्ब लगानी
डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश केही लक्ष्यको कार्यान्वयनका लागि ‘डिजिटल नेपाल एक्सेलरेसन’ परियोजनामार्फत उक्त लगानी गर्न लागिएको हो ।
छ लेनको सडक ठप्प
माइतीघर–भक्तपुर छ लेन सडकको उत्तरतर्फको सेवा लाइनमा जडीबुटी चोकको पश्चिम–उत्तरमा त्रिपालले छोपेर राखेको एउटा घर छ । पूर्व र पश्चिम सडक विस्तार भइसक्दा पनि हुँदा उक्त घरकै कारण सो सडकखण्ड विस्तार रोकिएको छ ।
आजदेखि उपत्यकामा २७ करोड लिटर पानी
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका प्रमुुख मिलन शाक्यले मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभयो ।
पुनःनिर्माणको पर्खाइमा पुरानो संघीय संसद् भवन
सिंहदरबारभित्रको पुरानो संघीय संसद् भवन जुन अहिले भग्नावशेषका रुपमा रहेको छ ।
गभर्नर मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
पचहत्तर वर्षअघिको स्थानीय निर्वाचन
पन्ध्र दिनपछि सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरूले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता दोहो-याएका छन् । तर, सरकारले नै यस्तो उद्देश्य राखेर नेपालमा पहिलो स्थानीय तह निर्वाचन सम्पन्न गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । ७५ वर्ष बितिसक्दा पनि काठमाडौँको फोहोरको अवस्था भने ज्यूँका त्यूँ छ ।
लगानी ठूलो गुणस्तरमा प्रश्न
छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ । स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन् ।
नेपालीको समुद्रयात्रा
कतै पनि समुद्र नजोडिएको भूपरिवेष्टित देश नेपालका नागरिकले कहिलेदेखि समुद्रयात्रा गर्न सुरु गरे ?, समुद्रयात्रा गर्ने पहिलो नेपाली को थिए ?, तत्कालीन समयमा धेरै नेपालीजनका लागि अपरिचित समुद्रयात्राबारे अग्रजका अनुभव कस्ता थिए ?, यस्ता जिज्ञासा जनस्तरदेखि दिग्गज बौद्धिक जगत्सम्म उठ्ने गर्छन् । यिनै प्रश्नको सेरोफेरोमा रहेर इतिहासकार सूर्यविक्रम ज्ञवालीले ‘नेपाली तथा समुद्रयात्रा’ शीर्षकमा लेख लेखे । पुरातìव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ मा आजभन्दा लगभग ५० वर्षअघि अर्थात् २०२९ सालमा प्रकाशित त्यस लेखमा नेपालीजनको समुद्रयात्राबारे केही रोचक तथ्य अघि सारिएका छन् ।
आकाशमा हेरौँ ग्रहहरूको परेड
आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । अघि–पछि आकाशमण्डलमा मानिसको नजरबाट धेरै पर रहेका ग्रह अहिले सहजै देख्न पाइने विज्ञहरूले बताउनुभएको छ । ग्रहहरू धर्तीमा झर्न उद्यत भएको यो अकल्पनीय दृश्य बारम्बार नआउने अवलोकनकर्ताहरू बताउनुहुन्छ
बदलिँदो नाम
एउटा प्रेम प्रसङ्गमा रोमियोलाई जुलियटले सोध्छिन् “नाममा के छ ? के हामीले गुलाफलाई अरू नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ ?” विलियम शेक्सपियरकृत ‘रोमियो एन्ड जुलियट’ मा नामले पहिचानमा केही फरक नपार्ने तर्क अगाडि सारिएको छ । यद्यपि नेपाली समाजको दुई पुस्ताअघिका नाम केलाउने हो भने नाममा विशेष अर्थ, मान्यता र संस्कृतिको प्रभाव पाइन्छ । नाममा धार्मिक एवं सांस्कृतिक अर्थ प्रस्टै भेटिन्छन् । हाम्रै नेताका नाम हेरौँ न ः विश्वेश्वरप्रसाद अर्थात् ईश्वर, विश्वनाथ । पुष्पलाल अर्थात् फूल । गणेशमान अर्थात् एक देवता । गिरिजा अर्थात् हिमालय पर्वतकी पुत्री, पार्वती । मातृका अर्थात् आमा, जननी, तन्त्रशास्त्रअनुसार सातवटी देवी । मनमोहन अर्थात् मन अर्थात् इच्छा र मोहनको अर्थ कृष्ण । मदन अर्थात् रतिको पति, कामदेव । महेन्द्र अर्थात् महान् इन्द्र । कृष्णप्रसाद अर्थात् विष्णुको दस अवतारमध्ये आठौँ अवतार लिएर गोकुलमा जन्मिएका द्वापरयुगका महापुरुष जसलाई केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इत्यादि नामले समेत पुकारिन्छ ।
१५ करोड रुपियाँ वार्षिक भाडा तिर्दै
समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपियाँ भाडा तिर्दैमा सकिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपियाँ भाडा तिर्नुपर्दछ ।
रुरुक्षेत्रकाे तीनमुखे पुल सञ्चालनमा, पूर्व मुख्यसचिव पौडेलकाे सपना पूरा
तिलाचन पाण्डेतम्घास, वैशाख ६ गते । पूर्व मुख्यसचिव लीलामणि पौडेललाई २०३३ सालमा रिडीखोलामा बगाएको स्मरण गर्नुहुँदै बनाइएको पुल सञ्चालनमा आएको छ । विद्यार्थी हुँदा अध्ययन गरेर फिर्ता हुँदा उहाँलाई रिडीखोलाले बगाएको थियो । रिडीको पारी स्याङजाको कारीकोटमा हनुमानको मूर्ति भए पनि त्यो मूर्ति हेर्न जान पुल नभएकै कारणले अँध्यारोमा परेको र स्याङजासँगको सम्बन्ध नै नभएजस्तो हुने गरेकाले पनि पुलको आवश्यकता बढेको उहाँको भनाइ छ । वि.सं.२०६९ सालदेखि तीनमुखे पुलको अवधारणा र २०७१ साल मङ्सिर १५ गते सो पुल शिलान्यासपछि अहिले सञ्चालनमा आउँदा रुरुक्षेत्रको पहिचान स्थापित भएको छ । तीन वटै जिल्लाहरुको सम्बन्धलाई थप विस्तार गर्न र पर्यटकीयस्थल बनाउन यो तीनमुखे पुलले मद्दत गरेको छ । नयाँ डिजाइन भएकाले तत्कालीन इन्जिनियरले जोखिम मोलेर काम गर्न डराएकाले केही समय निर्माणमा ढिलाइ भएको पौडेल बताउनुहुन्छ । नेपालकै आकर्षक नमूना पुल निर्माणले तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटकमा समेत वृद्धि हुने उहाँको दाबी छ ।यता, रुरुक्षेत्रका स्थानीय चुरामणी तिमिल्सेनाले तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु पुल बनेको प्रतिक्रिया दिनुभयो ।अन्य कुनै स्थानमा यस्तो पुल नभएकाले अवलोकन गर्न आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचारप्रसार हुने बताउनुभयो । यो सँगै यहाँका होटल व्यवसायीहरु पनि फस्टाउँदै जाने र पैदल यात्रीहरुका लागि तीन जिल्ला जान र आउन थप सहज हुने उहाँको भनाइ छ । अहिले सो पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेहरुको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडी, स्याङ्जाको कालीगण्डकी १, कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ ।कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दूरी छ । तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्वर–२ का सांसद चन्द्र भण्डारीले शिलान्यास गरेको पुल निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख भरत अर्यालले जानकारी दिनुभयो । पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा ती संस्था र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो । तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले उद्घाटन गर्ने योजनानिर्माण सम्पन्न भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचारसंहिताका कारण रोकिएको अर्यालले बताउनुभयो ।
मुलुक निर्वाचनमय : निर्वाचन आयोग
निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तरक्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण करिब पूरा गरेको जनाएको छ । निर्वाचनसम्बन्धी गतिविधि र कार्यक्रम अब केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
पुँजीगत खर्च सत्ताइस प्रतिशत
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ४ गते ।चालू आर्थिक वर्ष पूरा हुन तीन महिना बाँकी रहँदा पनि पुँजीगत खर्च एक तिहाइ पनि हुन सकेको छैन । आव २०७८/७९ को नौ महिना पूरा भइसक्दा लक्ष्यको २७.४५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चैतसम्मको पुँजीगत खर्च एक खर्ब तीन अर्ब ७८ करोड रुपियाँ मात्र खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपियाँ पुँजीगत बजेट विनियोजन गरेको थियो । यस हिसाबले सरकारले बाँकी तीन महिनाभित्र दुई खर्ब ७५ अर्ब रुपियाँ खर्च गर्नुपर्ने देखिन्छ । यद्यपि सरकारले मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च कुल विनियोजनको करिब ३८ अर्ब घटाउँदै तीन खर्ब ४० अर्ब ३२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य तोकेको थियो । यस हिसाबले पनि सरकारले बाँकी तीन महिनामा दुई खर्ब ३७ अर्ब रुपियाँ खर्च गर्नुपर्ने हुन्छ । कुल खर्च ४९ प्रतिशतसमीक्षा अवधिमा सरकारले कुल सात खर्ब ९४ अर्ब २५ करोड रुपियाँ खर्च गरेको छ जुन लक्ष्यको ४८.६४ प्रतिशत हुन आउँछ । चालू आर्थिक वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपियाँ खर्च गर्ने लक्ष्य बजेटमार्फत सार्वजनिक गरेको थियो । यसमध्ये सबैभन्दा धेरै चालू शीर्षकमा खर्च भएको कार्यालयको तथ्याङ्क छ । चैतसम्म लक्ष्यको ५८.७२ प्रतिशत अर्थात् छ खर्ब २५ अर्ब ५० करोड रुपियाँ चालू खर्च भएको छ । वित्तीय खर्च भने लक्ष्यको ३४.२९ प्रतिशत अर्थात् ६४ अर्ब ९६ करोड रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्ष एक खर्ब ८९ अर्ब ४३ करोड रुपियाँ वित्तीय खर्च गर्ने सरकारको लक्ष्य छ । राजस्व दुई तिहाइ लक्ष्यअनुसार शीर्षकगत बजेट खर्च नभए पनि राजस्व सङ्कलन भने सन्तोषजनक नै देखिएको छ । चैतसम्म सरकारले लक्ष्यको दुई अर्थात् ६६.८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चैतसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ११ खर्ब ८० अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । कुल राजस्वमध्ये कर राजस्व ६८.१५ प्रतिशत अर्थात् सात खर्ब २७ अर्ब ७८ करोड रुपियाँ सङ्कलन भएको छ । चालू आर्थिक वर्ष १० खर्ब ६७ अर्ब ९६ करोड रुपियाँ कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै चैतसम्म ६१ अर्ब ४७ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ५४.५८ प्रतिशत हो । चालू आर्थिक वर्षका लागि एक खर्ब १२ अर्ब ६३ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको छ । अनुदान झन्डै १४ अर्बचालू आर्थिक वर्षको चैतसम्ममा १३ अर्ब ८८ करोड रुपियाँ अनुदान प्राप्त भएको छ । बजेटमार्फत चालू आर्थिक वर्ष ५९ अर्ब ९१ करोड रुपियाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको थियो । त्यस्तै अन्य प्राप्तितर्फ सरकारले ३८ अर्ब ६१ करोड रुपियाँ सङ्कलन गरेको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेर सरकारले चैतसम्म कुल आठ खर्ब ४१ अर्ब ७५ करोड रुपियाँ प्राप्त गरेको छ । यी सबै शीर्षकमार्फत चालू आर्थिक वर्ष सरकारले १२ खर्ब ४० अर्ब ५२ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य राखेको थियो ।
बस्न हैन,पस्नै गाह्रो
सरोज ढुङ्गेलकाठमाडौँ, वैशाख ४ गते । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् । त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । वीर अस्पतालमा सरसफाइकर्मी सयजना छन् । अस्पतालले राखेका स्थायी ३५ जना र अरू ठेक्कामार्फत राखिएका हुन् । यति धेरै सरसफाइकर्मी भए पनि शौचालय दुर्गन्धित हुनुमा अस्पतालमा मानिसको चाप अत्यधिक रहेको अस्पतालका पदाधिकारीको भनाइ छ । अस्पतालका शौचालय फोहोर भइरहने विषयमा अस्पताल प्रमुख डा. भूपेन्द्रकुमार बस्नेत सामान्य मान्नुहुन्छ । उहाँका अनुसार दैनिक दुई हजारसम्म ओपीडी टिकट जान्छ । अस्पतालमा भर्ना भएका र पछि फेरि जँचाउन आउने बिरामीले गर्दा दुई हजार पाँच सयभन्दा बढीको आवतजावत हुने अस्पतालमा शौचालय फोहोर हुनु सामान्य हो । डा. बस्नेतले भन्नुभयो, “कतिपय मानिस त शौचालय प्रयोग गर्नै नजान्ने पनि आउँछन् ।” समय–समयमा सफाइ कर्मचारीले सफा गर्ने गरेको जानकारी दिँदै उहाँले मानिसको अत्यधिक चापका कारण शौचालय फोहोर भएको बताउनुभयो । थोरै सङ्ख्यामा बिरामी आउने अस्पताल र दैनिक एक हजार पाँच सयदेखि दुई हजारभन्दा बढी बिरामी आउने अस्पताल सरसफाइमा एउटै हुन सक्दैन । डा. बस्नेतले थप्नुभयो, “वीर अस्पतालमा समय–समयमा सफा गर्दा पनि त्यत्तिकै फोहोर भइरहन्छ ।”वीर अस्पतालनजिकका स्थान व्यावसायिक रूपमा अगाडि रहेकाले कतिपय व्यवसायी तथा बाटो हिडँ्ने बटुवा पनि अस्पतालभित्रै आएर शौच गर्छन् । कतिपय मानिसले शौचालयको धारो टुटाइदिने, शौचालयभित्रै प्याड हालिदिने, खैनी, सुर्ती खाएर थुकिदिने, कतिपयले गज पनि शौचालयमै हालिदिने हुँदा जाम हुने गरेको डा. बस्नेतको भनाइ छ । वीर अस्पतालमात्र होइन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका शौचालय भने पूरै फोहोर छ । केही महिनाअघिसम्म शिक्षण अस्पतालमा आउने बिरामी तथा कुरुवाबाट अस्पतालले दिसा–पिसाब गरेको शुल्क लिने गरेको थियो । अस्पतालका कार्यकारी निर्देशकका रूपमा डा. दिनेश काफ्ले आइसकेपछि अहिले शिक्षण अस्पतालमा दिसा–पिसाब गरेको शुल्क लाग्दैन । धेरै गुनासो आएपछि शुल्क लिने कार्य बन्द गराएको जानकारी दिँदै उहाँले त्रिवि शिक्षण अस्पतालमा शौचालय फोहोर हुनुमा बिरामीको अत्यधिक चापलाई नै लिनुभयो । उहाँका अनुसार कतिपय बिरामी तथा बिरामीका आफन्तले शौच गर्न जान्दैनन् । गाउँबाट सिफारिस भई आएका बिरामी र कुरुवा ट्वाइलेटमा बस्नै नजान्ने हुन्छन् । उनीहरूले पानीले भन्दा माटो तथा कागज, कपडा तथा अन्य पदार्थले दिसा पुछ्ने गरेको पाइयो । शिक्षण अस्पतालमा दैनिक दुई हजार पाँच सयभन्दा बढी ओपीडीमा बिरामी आउँछन् । यस्तै, आकस्मिक कक्षमा पाँच सयभन्दा बढी बिरामी आउँछन् ।
सुरुङमार्गको काम ठप्प
भउचप्रसाद यादवकाठमाडौँ, वैशाख ४ गते । सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पु-याएको भन्दै जापानी निर्माण कम्पनीले काम गर्न नमान्दा काम ठप्प भएको हो ।”आयोजना प्रमुख शाक्यका अनुसार करिब एक सय जनाको समूहमा आएका स्थानीयवासीले ढुङ्गामुढा, लाठी र लात्तीमुक्का प्रयोग गरी कार्यालयको ब्लक नम्बर १ भवनको छ सेट झ्याल र एउटा ढोका, ब्लक नम्बर २ को चार सेट झ्याल, मेडिकल हलको दुईवटा झ्याल र एउटा ढोका तोडफोड गरेको थियो ।त्यसैगरी, आक्रमणकारीले कार्यालय परिसरमा राखिएको बा१८च ४१२ नम्बरको जिप तोडफोड गरेका छन् । प्रहरीले घटनालाई केही समयमै नियन्त्रणमा लिएको थियो । दातृनिकाय तथा निर्माण कम्पनीका विदेशी जनशक्तिमाथि कुनै पनि बहानामा आक्रमण गर्नु निकै नै संवेदनशील विषय भएको बताउँदै प्रमुख शाक्यले राज्यको तर्फबाट सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम पुनः सुरु हुन नसक्ने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय काठमाडौँले छलफलका लागि निर्माण पक्ष र स्थानीयलाई आइतबार बोलाएको छ । छलफलमा प्रशासनबाट निर्माणस्थलमा २४ घण्टा सुरक्षाको सुनिश्चितता नभएसम्म हामी काममा फर्कन सक्दैनौँ ।”उहाँका अनुसार दैनिक १२ मिटर सुरुङ खन्ने काम हुँदै गरेकोमा छ दिनदेखि काम ठप्प छ ।सुरुङमार्ग निर्माण ठप्प हुँदा राज्यलाई दैनिक करिब डेढ करोड रुपियाँ घाटा भइरहेको आयोजना प्रमुख शाक्यले बताउनुभयो । राज्यले निर्माण कम्पनीलाई दैनिक डेढ करोड रुपियाँ भुक्तानी गर्नुपर्छ । हाम्रा कारणले काममा अवरोध भएर काम रोकिएको अवस्थामा सो रकम राज्यले तिर्नैपर्छ । आयोजना प्रमुख शाक्यले सुक्खायामका कारण काठमाडौँ उपत्यकाभरि नै पानीका मुहानबाट पानी कम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीका अन्य मुहानजस्तै त्यस टोलको पनि मुहानबाट पानी कम आएको हो । मुहान सुकेको होइन ।”
२२ तस्बिरमा ललितकला प्रदर्शनी
तस्बिर: मनोजरत्न शाही काठमाडौं, वैशाख २ गते। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ सुरु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्नुहुँदै उपराष्ट्रपति पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ। उहाँले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउनुभयो। नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उहाँको भनाइ थियो। अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उहाँले बताउनुभयो। ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याउनुभयो। समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताउनुभयो। समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिनुभयो।
भृकुटीमण्डपमा नयाँ वर्षको रमाइलो (फोटो फिचर)
काठमाडौं, वैशाख १ गते। बिहीबार नयाँ वर्ष २०७९ लाई स्वागत गरिएको छ। नयाँ वर्षको अवसरमा विभिन्न ठाउँमा गएर रमाउनेको भीडभाड देखिन्छ। देशभर सबै नेपालीले आपसी सद्भाव, प्रेम र शुभकामना साटासाट गर्दै नयाँ वर्षलाई उत्सवका साथ मनाइरहेका छन्।नयाँ वर्षमा नजिकका साथीभाइसँगै बसेर मीठोमसिनो खाने, राम्रो लगाएर रमाइलो गर्ने गरिन्छ। आफन्तजनसँग घुम्न जाने, रमाइलो गर्ने विशेष दिनको रुपमा लिइन्छ। अन्य क्षेत्रमा जस्तै नयाँ वर्षको अवसरमा राजधानीको भृकुटीमण्डमासमेत भीडभाड थियो। तस्बिरः मनोजरत्न शाही र केशब गुरुङ