सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताले ११८ वटा अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्ने भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका तीन लाख २८ हजार ४८८ योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर ती अस्पतालबाट वार्षिक एक लाख रुपियाँबराबरको स्वास्थ्य उपचार सेवा लिन सक्ने भएका हुन् ।
नगेन्द्र सापकोटाकाठमाडौँ, वैशाख १० गते । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समयअघिदेखि नै राजीनामा दिन थालेका थिए । यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् ।बागमती प्रदेशका नेकपा (एमाले) का सांसद विजय सुवेदीले भरतपुर महानगरपालिकामा उम्मेदवार हुन राजीनामा दिनुभएको छ । त्यस्तै रौतहटको क्षेत्र नम्बर ४ ‘ख’बाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद शेखअब्दुल कलाम आजादले गढीमाई नगरपालिका प्रमुखको उम्मेदवारी दिन राजीनामा दिनुभएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पनि राजीनामा दिनुभएको छ । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्न पदबाट राजीनामा दिने क्रम सुरु भएको जनाएका छन् । हालसम्म राजीनामा दिनेको यकिन तथ्याङ्क उपलब्ध भइसकेको छैन । नेपालको संविधानले स्थानीय तहका प्रमुखले उपप्रमुखसमक्ष र उपप्रमुखले प्रमुखसमक्ष राजीनामा दिने व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बहालवाला जनप्रतिनिधिले राजीनामा व्यक्तिलाई नभई संस्थालाई सम्बोधन गरेर दिने भएकाले राजीनामा दिने विषयमा अन्योल नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका निर्वाचित प्रतिनिधिले राजीनामा दिँदा स्वीकृत गर्नुपर्ने व्यवस्था छैन । प्रमुख व्यक्ति नभई संस्था भएकाले संस्थामा प्रमुख भए पनि नभए पनि प्रमुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था छ ।” उहाँले राजीनामा पत्र प्रमुख प्रशासकीय अधिकृतले सनाखत गर्ने र सनाखत गरी प्रमाणीकरणको पत्र बनाएपछि सोही पत्रका आधारमा पुनः उम्मेदवार बन्न बाधा नपर्ने बताउनुभयो । बागमती प्रदेशको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले आफूले पुनः अर्को कार्यकालका लागि उम्मेदवार बन्नका लागि उपप्रमुख समक्ष राजीनामा बुझाएको बताउनुभयो । उहाँका अनुसार आफूले बुझाएको राजीनामा कार्यपालिकामा छलफल भएको छ । प्रमुख प्रशासकीय अधिकृतले सनाखत गरी राजीनामा गरिएको पत्र बनाएपछि पुनः उम्मेदवार दर्ता गराउने तयारी गरिएको छ ।
तपाईं–हाम्रो जीवनशैली जति मौलिक हुन्छ, हाम्रो सांस्कृतिक पहिचान पनि त्यति नै चहकिलो हुन्छ । हाम्रो मौलिक पहिचानलाई चम्काउने अनेकन् पक्षमध्ये एउटा पक्ष कथ्य भाषा (जनबोली) पनि हो । कुनै पनि समुदायको पहिचान निर्माणमा स्थानीयपन मगमगाएको कथ्य भाषाको बेजोड भूमिका हुने तथ्यलाई सबैले स्वीकार्दै आएका छन् ।
युवराज गौतमचलचित्रमा कस्ता कथावस्तु र अभिनय दर्शकको रोजाइमा पर्छन् भन्ने कुराको प्रस्ट जवाफ निर्माता–निर्देशकसँग छैन । दर्शकको मनोविज्ञान बुझ्ने काम त्यति सजिलो छैन । अभिनयको कुरा गर्दा सबैलाई कुनै एक कलाकारको अभिनय मन पर्छ भन्ने पनि हुँदैन । दर्शकको मनोविज्ञान, भावना र चाहना बुझेर निर्देशक, पटकथा लेखक र निर्माताले काम गरेको पनि पाइँदैन । त्यसैले धेरै नेपाली चलचित्र सफलताको शिखर टेक्न पाउँदैनन् । बालमनोविज्ञान समेटिएका चलचित्र, बालकलाकारको भूमिका वा अभिनयका बारेमा मात्र समीक्षा गर्ने हो भने नेपाली सिने उद्योगमा यसको उपस्थिति त्यति छैन । निर्देशक भीषण राई बालकलाकार र बालबालिकामा आधारित चलचित्र निर्माणमा सन्तोषजनक नभएको स्वीकार्नुहुन्छ । “वास्तवमा दूरदराजका नेपाली बालबालिकाको कथा र कलाकार सिने उद्योगले पर्याप्त खोज्न सकेकै छैन । सतही रूपमा आएका कथावस्तुले देशभरका बालबालिकाको प्रतिनिधित्व गर्दैन । त्यसैले बालबालिकाको वास्तविक चित्रण र मौलिक कलाकारको खोजी गर्न ढिला भइसक्यो,” राईले भन्नुभयो ।हुन त चलचित्रमा देखिएका बालकलाकार लामो समयसम्म यो क्षेत्रमा टिकेको इतिहास छैन । निर्देशक शोभित बस्नेतका छोरा सलोन बालकलाकार हुँदै कालान्तरमा अभिनेता बने पनि उहाँ सफल बालकलाकारको सूचीमा पर्न सक्नु भएन । होचो कदका प्रतिभावान् कलाकार गोपाल नेपाल ‘फिस्टे’ डेढ दशकअघि निकै चर्चित हुनुहुन्थ्यो । टेलिशृङ्खलामा उहाँको अभिनयले खुबै ताली पाउँथ्यो । ‘ट्वाक्क टुक्क’ नामक हास्य टेलिसिरियलबाट स्थापित हुनुभएका उहाँ ‘जिरे खुर्सानी’ र ‘तितो सत्य’मा निकै चर्चित बन्नुभयो । ठूलो पर्दाका चलचित्रमा पनि उहाँको खुबै गुनगान भयो तर उमेरले जवानी भएसँगै उहाँ अमेरिका पलायन हुनुभयो । अभिनयमा व्यावसायिक निरन्तरता दिन सक्नुभएन ।गोपाल र सलोन प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्ता धेरै बालकलाकारले पर्दालाई नै आफ्नो भविष्य देख्न सक्नुभएन । बाबुआमा कलाकार भएका नाताले बाल्यावस्थामै कला क्षेत्रमा आउनुभएका तर स्थापित नभएकाहरूको सूची पनि लामै छ । बालकलाकार सिने क्षेत्रमा स्थापित हुन नसक्नुमा अभिभावकको भूमिका पनि महìवपूर्ण हुने बताउनुहुन्छ– कलाकार पवन भट्टराई । “सन्तानको इच्छा एकातिर हुन्छ तर अन्य क्षेत्रमा प्रेरित गराउँदाको परिणाम पनि हो यो । त्यसका अलावा नेपाली चलचित्रमा कलाकारको भविष्य सुनिश्चित नहुनु अर्को दुर्भाग्यको कुरो हो,” उहाँले भन्नुभयो ।‘नाइँ नभन्नु ल २’ चलचित्रमा अभिनय गरेर सबैको रोजाइमा पर्नुभएको छ– अनुभव रेग्मी । यस चलचित्रको सबै सिक्वेलमा अभिनय गर्नुभएका रेग्मीले ‘भिसा गर्ल’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यस्तै आठ वर्षकै उमेरमा ‘लभ यु बाबा’ चलचित्र निर्देशन गरेर चर्चामा रहनुभएका छ– सौगात विष्ट । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल हुनुभएका सौगातले ‘हैरान’ पनि बनाउनुभएको छ । सानी परी भनेर चिनिने एन्जल राईले ‘हैरान’मा सडक बालिकाको रूपमा अभिनय गर्नुभयो । यो भूमिकापछि उहाँको धेरैले तारिफ गरे । हलिउड र बलिउडको अवस्था हेर्दा बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र र बालकलाकारमा थुप्रै कमजोरी पाउन सकिन्छ । समीक्षकले नेपाली चलचित्रको गुण र दोष केलाउने क्रममा यस्ता चलचित्र र बालकलाकारका बारेमा सल्लाह सुझाव दिन्छन् तर निर्माता–निर्देशकले समीक्षालाई आफ्नो मार्गदर्शन नठान्दा समस्या देखिने गरेका छन् । दर्शक र निर्माता–निर्देशकको बौद्धिकतामा देखिएको भिन्नताले पनि यो समस्या देखिएको हुन सक्छ तर ठूलो पर्दाका चलचित्रभन्दा वृत्तचित्रमा बालकलाकार र बालबालिकाका कथाले सफलता हासिल गरेका छन् । बालबालिकाको अवस्था, जीवनशैली, घरेलु बालश्रमिक, बालयौन हिंसालगायतका विषयमा बनेका वृत्तचित्रले उत्कृष्ट नतिजा दिइरहेका छन् । यसको उदाहरण सञ्चारकर्मी तथा निर्देशक सङ्गीता श्रेष्ठले निर्माण गर्नुभएको चलचित्र ‘आइसक्रिम’ हो । केही महिनाअघि मात्र यस चलचित्रले ‘अफ्रिका फिल्म फेयर इम्प्याक्ट फेस्टिबल’मा दुई विधामा पुरस्कार पाएको थियो । बालयौन शोषणमा आधारित नौ मिनेट लामो यस वृत्तचित्रले सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा बोलेको छ । बालिका यौन शोषणमा कसरी पर्छन् र यस किसिमको अपराधबाट कसरी बचाउने भन्ने उद्देश्यले वृत्तचित्र बनाएको श्रेष्ठको भनाइ छ । चर्चित साहित्यकार झमककुमारी घिमिरेले बाल्यकालमा भोग्नुपरेका सामाजिक, पारिवारिक समस्यालाई आधार मानेर निर्माण गरिएको ‘जीवन काँडा कि फूल’ले एक बालिकाको जीवन सङ्घर्षलाई उतारेको छ । बालमनोविज्ञान र आमा–छोराबीचको सम्बन्धबारे निर्माता सन्तोष सेनले निर्माण गर्नुभएको ‘मेरी मामू’ चलचित्रमा सात वर्षीय आयुव सेनलाई मुख्य भूमिकामा उतार्नुभएको छ । संवेदनशील र जीवन्त शैलीमा निर्माण भएको चलचित्र ‘कालोपोथी’ वृत्तचित्रले जर्मनीको ‘भेनस फिल्म फेस्टिभल’मा ‘बेस्ट अवार्ड’ जित्न सफल भयो । मीन भामले निर्देशन गर्नुभएको यस चलचित्रमा माओवादी जनयुद्ध चलिरहेका बेला बालमनोविज्ञानमा परेको असर र मुगु जिल्लाको सेरोफेरोलाई जीवन्त रूपमा उतारिएको छ । सामान्य कथालाई सशक्त शैलीमा उतार्नु, स्थानीय बालकलाकारलाई प्राथमिकता दिनुले पनि चलचित्रलाई उत्कृष्ट बनाएको छ । बेचिएको पोथी फर्काउन दुई बालक प्रकाश (खड्का नेपाली) र किरण (शुक्रराज रोकाया)ले गरेको सङ्घर्ष निकै मार्मिक भएकाले उत्कृष्ट बनेको समीक्षकको दाबी छ ।भन्नलाई चलचित्रलाई ‘दृश्य साहित्य’ पनि भनिन्छ । दृश्यलाई नयाँ सिर्जना दिनसक्नु चलचित्रको सफलता हो । लामोभन्दा छोटा चलचित्रमा समेटिएको वास्तविक मौलिकता दर्शकको रोजाइमा परिरहेको छ । कस्मेटिक मौलिकताले भने चलचित्रलाई ओरालो यात्रामा प्रेरित गरेको पाइन्छ । नेपालमा बनेका छोटा चलचित्रहरू पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन हुन पाउनु र सफल हुनुलाई गर्वको विषय भएको समीक्षक तथा लेखक जीवन पराजुली बताउनुहुन्छ । “वास्तविक मौलिकता, जीवन्त कथावस्तु र स्थानीय पात्रको संयोजनमा बनेका चलचित्र सफल भएका छन् । यसबाट चलचित्र निर्माता निर्देशकले सिक्नुपर्छ,” पराजुलीले भन्नुभयो । बालबलिकाको सपना र इच्छालाई मुख्य आधार मानेर निर्माण गरिएको राजेशप्रसाद खत्रीका ‘जुलुङ्गो’ले केही महिनाअघि नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट जुरी अवार्ड नै जितेको थियो । त्यस्तै सडक बालबालिकाको वास्तविक कथामा आधारित चलचित्र ‘चकलेट’ पनि नेपाली दर्शकको रोजाइमा परेको चलचित्र हो ।बलिउड स्टार प्रियङ्का चोपडाले निर्माण गरेको ‘पाहुना’ले पनि नेपाली बालबालिकाले द्वन्द्वमा भोगेको कथा बोकेको छ । द्वन्द्वकालमा नेपालबाट ज्यान जोगाउन भागेर भारतको सिक्किम पुगेका तीन बालबालिकाको कथा यस चलचित्रमा छ । यस कथाले तीनवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । यस्तै घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्र ‘अञ्जली’मा देखिएका बालकलाकारको अभिनयले खुबै ताली पाएको थियो । यद्यपि नेपाली फिल्म नगरीमा बालकलाकार र बालकथामा आधारित चलचित्रले व्यावसायिक सफलता भने पाउन सकेको छैन । अहिलेको डिजिटल युगमा चलचित्रले बालबालिकाको मनोविज्ञानमा ठूलो असर पु¥याएको अध्ययनले देखाएको छ । बालमनोविद्ले चलचित्रमा देखाइने दृश्य र विषयवस्तुले बालमस्तिष्कमा नकरात्मक–सकरात्मक दुवै असर पारिरहेको बताउने गरेका छन् । बालमस्तिष्क कोमल र संवेदनशील हुने र त्यसमाथि नक्कल गर्ने स्वभावका कारण कहिलेकाहीँ दुर्घटना पनि निम्तिने गरेको छ । भारतीय सिने स्टार ऋतिक रोशनको चलचित्र ‘क्रिस’ हेरेर एक आठ वर्षीय बालक क्रिसजस्तै बन्न पटनाको एक अपार्टमेन्टको आठौँ तलाबाट हामफालेको खबरले सन् २००६ मा निकै चर्चा पाएको थियो । त्यसैले चलचित्र निर्माण गर्दा बालमनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।
ठाकुरप्रसाद आचार्य बेनी (म्याग्दी), वैशाख १० गते । बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उहाँले बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्नुहुन्छ । उहाँको यो दिनचर्या चलेको आठ वर्ष भइसकेको छ । “विदेश पनि भोगियो, दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बङ्गुरपालन गरेका छौँ, सबै जना खुसी छौँ,” विश्वकर्माले भन्नुभयो । बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका–७, मङ्गलाघाटका युवा विश्वकर्माले बताउनुभयो । “विदेशमा १२ वर्ष दुःख गरियो,” विश्वकर्माले भन्नुभयो, “विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।” बङ्गुरपालन व्यवसायबाट मासिक एक लाख रुपियाँसम्म आम्दानी गर्न सकिने उहाँको अनुभव छ । दुई लाख ५० हजार रुपियाँबाट सुरु गरेको बङ्गुरपालन व्यवसाय अहिले करिब ५० लाख रुपियाँसम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बङ्गुर जोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्परागत खोरलाई आधुनिकीकरण गरिएको उहाँले बताउनुभयो । भविष्यमा फार्मलाई विस्तार गरेर लगानी बढाउने योजना रहेको विश्वकर्माले बताउनुभयो । उहाँको फार्ममा माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि महिनादेखि एक वर्षमा एक सय केजीसम्मको बङ्गुर हुने उहाँले बताउनुभयो । दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायतलाई सङ्कलन गरेर दानाका रूपमा प्रयोग गरिने उहाँले बताउनुभयो । यसका साथै घरमै पनि दाना बनाउने उहाँले बताउनुभयो । महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने उहाँको भनाइ छ । बङ्गुरको मासु पसलमा प्रतिकेजी ३५० रुपियाँमा बिक्री हुने उहाँले बताउनुभयो । बङ्गुरको मासु बजारमा पु¥याउन सकिएको छैन । मागअनुसार उत्पादन गर्न नसकिएको विश्वकर्माले बताउनुभयो । उहाँका १२ कक्षामा पढ्ने छोरा साजन विकले फुर्सदको समयमा सघाउनुहुन्छ । जिल्लामा बङ्गुर जोन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासु पसल सुधार र आवश्यक परामर्श दिन थालेपछि किसान उत्साहित भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको बङ्गुर जोन कार्यक्रमले बङ्गुर पाल्ने किसानलाई खोर निर्माणमा अनुदान उपलब्ध गराउन थालेको छ ।गत आर्थिक वर्षमा मात्र ३६ लाख ५६ हजार आठ सय रुपियाँ बङ्गुरपालक किसानलाई सहयोग गरिएको छ । खोर निर्माण, दाना बनाउने मिल र खोरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न गोबर ग्यास प्लान्ट निर्माणमा अनुदान उपलब्ध गराएको बङ्गुर जोनका पशु प्राविधिक बलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३५ वटा बङ्गुरका फार्म सूचीकृत भएका छन् । कार्यक्रम लागू भएपछि किसान उत्साहित भएको र बङ्गुरपालन व्यवसायप्रति युवाको आकर्षण बढेको उहाँले बताउनुभयो । बजारको नजिक मङ्गलाघाट क्षेत्रमा मात्र ११ जना युवाले बङ्गुरपालन व्यवसाय गर्दै आएका छन् ।
सिन्धुली समाचारदातासिन्धुलीमाढी, वैशाख १० गते । आसन्न स्थानीय तह निर्वाचनका लागि सिन्धुली जिल्लामा बिहीबार नौवटै पालिकामा स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य आठवटा पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार दुधौली नगरपालिकाको दुधौली, तीनपाटन गाउँपालिकाको चकमके, फिक्कल गाउँपालिकाको खाङसाङबेँसी, गोलन्जोर गाउँपालिकाको ग्वाल्टार, घ्याङलेख गाउँपालिकाको बस्तीपुर, सुनकोसी गाउँपालिकाको रामटार, मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । स्थानीय तह निर्वाचनको प्रक्रियाअन्तर्गत वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । मुख्य निर्वाचन अधिकृत सापकोटाले निर्वाचन अधिकृतको कार्यालयमा जनशक्ति व्यवस्थापन भइसकेको र नौ जना कर्मचारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि सिन्धुली जिल्लामा एक हजार ३३८ कर्मचारी खटिनेछन् ।”नुवाकोट समाचारदाताका अनुसार स्थानीय तह निर्वाचनका लागि नुवाकोटको १२ वटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विदुरमा एक कार्यक्रमबीच जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला अदालत नुवाकोटका न्यायाधीश उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी नारायण रिसालले कार्यालय उद्घाटन गर्नुभएको थियो । लुइँटेलले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थाको अनुगमन गर्ने बताउनुभयो ।बनेपा समाचारदाताका अनुसार स्थानीय तहको निर्वाचनको तयारीका लागि काभ्रेको १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि जिल्लाको धुलिखेलमा रहेको शिक्षा विकास तालिम केन्द्रपरिसरमा मुख्य तथा धुलिखेल नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले स्थानीय तहको निर्वाचनका लागि जिल्लाको सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले काभ्रे जिल्लामा १८९ मतदान स्थल, ३८१ वटा मतदान केन्द्र रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत भट्टराईले काभ्रेमा एक हजारभन्दा बढी मतदाता भएका ३७ वटा र ५०० भन्दा बढी एक हजारभन्दा कम मतदाता भएको ३४२ वटा मतदान केन्द्र रहेको बताउनुभयो । काभ्रेमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् ।
केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।
लक्ष्मी सापकोटाकाठमाडौंँ, वैशाख १० गते । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा पेट्रोलियम पदार्थको कारोबारबाट ८७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्ममा एक खर्ब ८७ अर्ब रुपियाँ बराबरको इन्धन आयात गरेकाले ८७ अर्ब ३४ करोड ४९ लाख ९० रुपियाँ राजस्व सङ्कलन भएको हो । सो अवधिमा २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन (डिजल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल र खाना पकाउने ग्यास) आयात भएको थियो । इन्धन कारोबारबाट आव २०७७÷७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६÷७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धन कारोबारमा निगमले मासिक १२ अर्ब रुपियाँ राजस्व तिर्ने गरेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयात र प्रयोगमा विभिन्न शुल्क र कर लगाइएको छ । यी सबै भन्सार बिन्दुमा नै राजस्व सङ्कलन हुने गर्छ ।पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार शुल्कबापत ३१ अर्ब २६ करोड ६० लाख नौ हजार, पूर्वाधार शुल्कबाट १८ अर्ब ६० करोड ५३ लाख रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । यस्तै सो अवधिमा सडक मर्मत दस्तुरबाट चार अर्ब ८२ करोड ३० लाख ९६ हजार, प्रदूषण कर दुई अर्ब ७९ करोड ७९ लाख पाँच हजार रुपियाँ सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) ३० अर्ब ९९ करोड १० लाख सात हजार रुपियाँ सङ्कलन भएको निगमले जानकारी दिएको छ । निगमले पेट्रोलमा भन्सार महसुल २५ रुपियाँ २० पैसा, सडक मर्मत दस्तुर चार रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६० पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, भ्याट १८ रुपियाँ ४१ पैसा गरेर प्रतिलिटरमा ६० रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । यस्तै डिजलमा भन्सार महसुल १२ रुपियाँ, सडक मर्मत दस्तुर दुई रुपियाँ, पूर्वाधार विकास कर १० रुपियाँ, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ४३ पैसा, वातावरण शुल्क एक रुपियाँ ५० पैसा, मूल्य अभिवृद्धि कर १६ रुपियाँ ४५ पैसा गरेर प्रतिलिटर डिजलमा ४३ रुपियाँ ४१ पैसा राजस्व सङ्कलन हुने गरेको छ । हवाई इन्धनमा भन्सार महसुल दुई रुपियाँ १० पैसा, मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ५६ पैसा, मूल्य अभिवृद्धि कर १७ रुपियाँ ९५ पैसा गरेर प्रतिलिटरमा २१ रुपियाँ ६४ पैसा राजस्व सङ्कलन हुने गरेको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्यास (एलपीजी)मा भन्सार शुल्कबापत १०२ रुपियाँ ४३ पैसा, मूल्य स्थिरीकरण कोषमा १६ रुपियाँ, मूल्य अभिवृद्धि कर १७९ गरेर प्रतिसिलिन्डर ग्यासमा २९७ रुपियाँ कर लिने गरिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले हाल पेट्रोल प्रतिलिटरमा २२ रुपियाँ ९८ पैसा, डिजलमा २८ रुपियाँ र ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपियाँ घाटा रहेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म एक खर्ब ८७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बराबरको २२ लाख ३६ हजार ६७७ किलोलिटर इन्धन आयात भएको छ । आव २०७७÷७८ मा एक खर्ब ५५ अर्ब रुपियाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको थियो । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले इन्धन आयातमा उल्लेख्य वृद्धि भएको छ ।
लोकेन्द्र जोशीदार्चुला, वैशाख १० गते । दार्चुला–टिङ्कर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्विपमेन्ट) नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिरहेको छ । बुधबार दार्चुला आएको हेलिकप्टरले व्यास गाउँपालिकाको सदरमुकाम सुन्सेराबाट व्यास गाउँपालिका–२, दुम्लिङसम्म मेसिन ओसार्ने काम गरिरहेको हो ।सडक बाटो नभएपछि हेलिकप्टरले स्काभेटर, ब्याकहोलोडर, कम्प्रेसरका पार्ट ढुवानी गरिरहेको छ ।मेसिनका स–साना पार्टभित्र राखेर ओसारिरहेको छ भने ठूला पार्ट झुन्ड्याएर ल्याउने गरेको छ । निर्माण सामग्री ढुवानी गर्नुअघि बिहीबार सुरक्षा अधिकारीले सडकको हवाई निरीक्षण गरेका थिए । नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ, विकास निर्माण कार्यदल, २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङ, सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति त्रिभुवन विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत महेशप्रसाद अवस्थी, गुरु गोरख गुल्मका गुल्मपति कृष्णचन्द्र ठकुल्ला, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्र विष्टलगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । नेपाल सरकारले दार्चुला–टिङ्कर सडकखण्डअन्तर्गत व्यास गाउँपालिकाको कोठेधारदेखि टिङ्करसम्मको ७३.२ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । नेपाली सेनाले अहिले पाँच ठाउँबाट सडक निर्माणको काम गरिरहेको जनाएको छ । व्यास गाउँपालिकाको तल्लो दुम्लिङ, फुलचिम, कोठेधार र मालबाट सडक निर्माणको काम गरिरहेको नेपाली सेनाका विकास निर्माण कार्यदल २ नम्बर गण दार्चुलाका गणपति रमेश गुरुङले जानकारी दिनुभयो ।चालू आर्थिक वर्ष २०७८÷०७९ मा सात किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको नेपाली सेनाले अहिलेसम्म तीन किलोमिटर सडक निर्माण गरिसकेको जनाइएको छ । सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सेनालाई २२ करोड ५० लाख रुपियाँ बजेट प्राप्त भएको छ । क्याम्प राख्ने तयारीदार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाले व्यास गाउँपालिका–१, छाङरुमा क्याम्प राख्ने तयारी गरेको छ । व्यास गाउँपालिका–२, कोठेधारमा सडक निर्माण भइरहेको र माथिबाट पनि सडक निर्माण गर्न छाङरुमा सेनाको क्याम्प स्थापना हुन लागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । क्याम्प स्थापना हुने ठाउँको नेपाली सेना र जिल्ला सुरक्षा समितिले हेलिकप्टरमार्फत छाङरु पुगेर अनुगमन गरेको छ । साथै सेनाले निर्माण गरिरहेको सडकसमेत हवाई अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । नेपाली सेनाले दार्चुला–टिङ्कर सडक निर्माणका लागि गत आर्थिक वर्षमा नै सुन्सेरा र दुम्लिङमा क्याम्प स्थापना गरेको थियो । केपी ओली नेतृत्वको सरकारले कोठेधारदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वर्तमान सरकारले तुसरपानीदेखि कोठेधारसम्म थप चार किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई दिएको छ । कोठेधार–टिङ्कर सडकको नयाँ डीपीआर तयार गरेर नेपाली सेनाले सडक निर्माण गरिहेको छ । सरकारले सेनालाई जिम्मा दिँदा ८७ किलोमिटर डिपिआरको कोठेधार–टिङ्कर सडकको जिम्मा दिएको भए पनि सेनाले घुम्ती घटाएर तथा कुनै ठाउँमा मार्ग परिवर्तन गरेर कोठेधारदेखि टिङ्करसम्म ७४ किलोमिटरको नयाँ डीपीआर तयार गरेर सडक निर्माण गरिरहेको छ । तुसरपानीको फतङगाडबाट सेनाले सडक निर्माण गर्ने भएकाले व्यास गाउँपालिका–३, तुसरपानीमा वर्षात्का कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनालाई फतङगाडसम्म निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेकाले दार्चुला–टिङ्कर सडक आयोजनाले सडक सफा गर्ने काम गरिरहेको छ । तुसरपानी गाउँको तल्लो क्षेत्रमा स्थानीयले पहिरो खसेको भन्दै सडक खुलाउन विवाद गरेपछि रिठिङगाड नदीको मार्ग भएर सडक खुलाउने काम भइरहेको बताइएको छ ।
बुटवल समाचारदाताबुटवल, वैशाख १० गते । रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । घरबाट निस्किने फोहोर पानीलाई व्यवस्थित ढलमा जोडेर प्रशोधन केन्द्रसम्म पु¥याउने र त्यहाँ प्रशोधनपछि सिँचाइलगायतमा प्रयोग गर्न मिल्नेगरी १६ करोड रुपियाँको लगानीमा निर्माण गरिएको ढल प्रशोधन केन्द्रबाट त्यस क्षेत्रका हजारौँ स्थानीय लाभान्वित भएका छन् । सङ्घीय सरकारको सहयोगमा खानेपानी उपभोक्ता समितिमार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा रहेको बताइएको छ । सैनामैना–३ को रामबस्ती र वडा नम्बर ४ को करबलामा व्यवस्थित ढल प्रशोधन केन्द्र निर्माण भएको हो । वडाका विभिन्न टोलबाट फोहोर पानी ढलमार्फत प्रशोधन केन्द्रसम्म पुग्नेगरी व्यवस्थित पाइपलाइन जडान गरिएको छ । सङ्घीय आयोजनामार्फत यी दुई ठूला आयोजनाले सैनामैनाको फोहोर व्यवस्थापनमा महìवपूर्ण टेवा पु¥याएका छन् । सैनामैना नगरपालिकाले नर्कटको प्रयोगबाट प्राकृतिक रूपमै ढलको फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने गरेको छ । वडा नम्बर ३ को रामबस्तीमा सैनामैनाका १५० भन्दा बढी घरधुरीको ढल प्रशोधन गरी व्यवस्थित गरिँदै आएको छ भने वडा नम्बर ४ मा पाँच सय घरको ढल प्रशोधन केन्द्रमा लगिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा निर्माण भएको प्रशोधन केन्द्र निर्माणमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाले सहकार्य गरेको छ भने नगरपालिकाले खानेपानी संस्थामार्फत पाँच हजारभन्दा धेरै उपभोक्तालाई अभियानमा सरिक बनाएको छ । यसका बारेमा सचेतनाका काम पनि अगाडि बढाइएको मुर्गिया खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष शालिकराम भण्डारीले बताउनुभयो । नगरपालिकाकै पहलमा सैनामैनाको करिब एक लाख जनसङ्ख्यालाई स्वच्छ खानेपानीको प्रबन्ध गर्नुका साथै घरदेखि उत्सर्जन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गरिएको छ । ढल प्रशोधन केन्द्रमा घरको फोहोर पानी ल्याउनका लागि मुर्गिया बजारदेखि घमाहा खोलासम्म करिब चार हजार मिटर लम्बाइको ढल निर्माण गरिएको छ ।ढल प्रशोधन गरी पानी पुनः खोलामा मिसाउन थालेपछि खोलाको पानी सफा हुनुको साथै हिउँदयाममा सुक्खा रहने घमाहा खोलामा पानी बग्न थालेको छ ।
भउचप्रसाद यादवकाठमाडौँ (मुड्खुभन्ज्याङ), वैशाख १० गते । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिँ्रदै आएको छ ।सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक–पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ । स्थानीयवासीले सो सडक निर्माणको माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन गरी मुड्खुभन्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ देखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने गरिन्छ ।यसै क्रममा सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो सडक निर्माण गर्न स्थानीयवासीसँग भएको सहमतिको म्याद सकिए पनि निर्माण सुरु हुन नसकेकाले पुनः काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने सवारीसाधन अवरोध गर्ने जनाएको छ । समितिका संयोजक भवनाथ गजुरेलले निर्माण सम्पन्न नहुँदा सडकमा समान्य हिँडडुल गर्नसमेत कठिन भएको र दैनिक सवारीसाधन दुर्घटनामा पर्ने गरेको, स्थानीयवासीमा दमजस्ता रोग बढेको, पर्यटनलगायतका व्यवसाय चौपट्टै बनेको बताउनुभयो । उहाँले सडक कालोपत्रे हुनुपर्ने आफूहरूको एकसूत्रीय माग रहेको बताउनुभयो । सडक निर्माण सुरु नभएसम्म स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म जान नदिने दाबी उहाँको छ ।त्यसैगरी फोहोर व्यवस्थापन तथा सङ्कलन गर्ने मापदण्डविपरीतका सवारीसाधनमा फोहोर ढुवानी गरिएको बताउँदै उहाँले खुला रूपमै फोहोर ढुवानी गर्दा यस क्षेत्रमा झिँगा बढ्दै गएको र गाडीबाट झरेर ठाउँठाउँमा सडकमा फोहोर थुप्रिएकाले यस क्षेत्रको जनजीवन नै अस्वस्थ बन्दै गएको छ भन्नुभयो । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरि तिवारीले सडक विस्तारका नाममा सडकका दुवैतिर कटान गर्दा र भएको कालोपत्रेसमेत उप्काउँदा यस क्षेत्रको उद्योग व्यवसाय, पर्यटनलगायत सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्दै गएको बताउनुभयो । “सडक विभागले न यो सडक बनाउँछ, न त निर्माण कम्पनीसँग ठेक्का सम्झौता नै तोड्ने गर्छ । यसको प्रत्यक्ष मारमा यहाँका जनता परेका छन्,” उहाँले भन्नुभयो । सरकारले ठेक्का सम्झौता रद्द गरी स्थानीयवासीलाई निर्माणको जिम्मेवारी दिए काठमाडौँ उपत्यकाका १८ वटा पालिकाबाट तीन करोड रुपियाँका दरले रकम सङ्कलन गरी छ महिनाभित्रै यो सडकखण्ड कालोपत्रे गर्न सकिने दाबी उहाँको छ । यो सडक भएर काठमाडौँ उपत्यकाका १८ वटा पालिकाका फोहोर सिसडोल लगिन्छ ।तारकेश्वर होटल व्यवसायी सङ्घका अध्यक्ष राजु फुयालले विस्तारका नाममा निर्माण कम्पनीले यो सडक बिगार्दा विगत आठ वर्षदेखि यहाँको होटल व्यवसाय बन्दजस्तै बनेको गुनासो गर्नुभयो । ८६ वर्षीय स्थानीयवासी विष्णु आचार्यले चार–पाँच वर्षमै यो सडकको निर्माण २०१४ सालमा सम्पन्न भएको स्मरण गर्दै चार–पाँच वर्षमा नयाँ राजमार्ग नै निर्माण भएको तर आठ वर्षमा समेत यो सडकखण्ड विस्तार र स्तरोन्नति नभएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख १० गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त रहेको जनाएको छ । आयात निरुत्साहनमा केही दैनिक उपभोग्य वस्तु भए पनि अधिकांश वस्तुको आयात नियमित रूपमा भइरहेको र बजारमा हल्ला गरेजस्तो अभाव नभएको विभागको जानकारी दिएको छ । “केही वस्तुको आयातमा कमी आए पनि बजारमा कुनै पनि सामानको अभाव छैन । कृत्रिम अभाव देखाएर अवाञ्छित मूल्य निर्धारण गरेको पाइए तत्काल कारबाही गर्छौं,” विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भन्नुभयो ।रुस–युक्रेन युद्ध र केही वस्तुको आयातमा गरिएको कडाइ, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, ढुवानी भाडामा भएको बढोत्तरीले केही वस्तुको मूल्यमा वृद्धि भएको पाइए पनि कृत्रिम अभाव तथा आधारहीन मूल्य वृद्धि नगराउन उहाँले व्यवसायीलाई आग्रह गर्नुभएको छ ।कच्चा पदार्थ तथा आयात मूल्यमा भएको वृद्धिका कारण केही वस्तुको उपभोक्ता मूल्य बढेको विभागको भनाइ छ । वस्तु तथा सेवाको मौज्दात पर्याप्त भएकाले आवश्यकताभन्दा बढी खरिद गरेर नराख्न विभागले उपभोक्तालाई आग्रह गरेको छ । महानिर्देशक शर्माले विभागका कर्मचारी चुनावमा खटिएकाले जनशक्ति अभाव रहेको जानकारी दिँदै तर पनि दैनिक चारवटा टोलीले बजार अनुगमन गरिरहेको बताउनुभयो । स्थानीय तहमा बजार अनुगमनलाई सक्रिय बनाउन ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको विभागले जानकारी दिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन तीन दिनको समयसीमा तोकेको छ । आयोगले वैशाख १० गतेभित्र उक्त सूचीबाट नाम फिर्ता लिन राजनीतिक दलहरूलाई समयसीमा तोकेको हो ।
नेपालका मिडियाले स्थानीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको करिब सात दशकको इतिहास छ । स्थानीय निर्वाचनबारे समाचार प्रकाशित गरेको इतिहास त त्योभन्दा पनि पुरानो छ । नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ जेठ ३ गते राजधानीमा ‘काठमाडौँ म्युनिसिपालिटी’ को निर्वाचनसँगै प्रारम्भ भएको मानिन्छ ।
गीता श्रेष्ठमहाकवि लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक चर्चितमध्येको एक कविता ‘यात्री’मा ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो...’ ‘....फर्क–फर्क हे जाउ समाऊ मानिसहरूको पाउ, मल्हम लगाऊ आर्तहरूको चहराइरहेका घाउ’ । यो पङ्क्तिले धर्मको परिभाषा गरेको छ । धर्म मानवता हो, प्रकृति संरक्षण हो, समानता हो, सहिष्णुता हो । धर्म गर्नु भनेको आफूमा भएको गलत विचार र व्यवहारको त्याग गरी असल विचार र व्यवहार धारण गर्नु हो । धर्म भनेको सेवा हो । अझ असहायको सेवा गर्नु नै ठूलो धर्म हो, भागवत् सुन्ने, पुराण सुन्ने, भन्नेले पनि यसै भन्छन्, तर पालना कति भयो । सबैले धर्म गर्ने हो भने समाजमा गरिबी, अशिक्षा, विभेद कायमै रहँदैन । आजभोलि वातावरण विनाशको दुष्चक्र सिङ्गो पृथ्वीमा परेको छ । संसारमा मानिने सबै धर्मले प्रकृति संरक्षणलाई उच्च महŒव दिएर विविध थितिसमेत बसालिएको छ । नेपालकै कुरा गर्ने हो भने नदी संरक्षण, वन संरक्षण, पाटी–पौवा, कुलो–कुवाको संरक्षणका लागि अनि वन्यजन्तु संरक्षण गर्न धार्मिक आस्था र विश्वास बोकेका कथा लिपिबद्ध गरियो । ‘वनदेव’, ‘जलदेवता’को पूजा गर्ने चलन त्यसै बसेको होइन । नदीलाई भगवान्को नाम दिएर संरक्षण गरियो । आजभोलि पवित्र मानिएका नदीको हालत के छ ? प्राकृतिक चक्रमा अवरोध नआओस् भनेर चरादेखि मुसा अनि हिंस्रक तथा भीमकाय जनावरसम्मलाई भगवान्का बाहन मानेर संरक्षण गरियो । यी सब संस्कार मानव कल्याणका लागि थियो, प्रकृति संरक्षणका लागि थियो, जसले मानवसँगै सृष्टिका सबै पक्षको भलो होस् भन्ने उद्देश्य थियो । धर्मको ताŒिवक मर्म, अर्थ र व्यवहारलाई कर्ममा उतार्न सकियो भने शान्ति र समुन्नतिको बाटो खुल्छ, सबैबीच हातेमालोको संस्कार बस्छ । अहिलेका धेरै समस्याको समाधान पनि हुन्छ ।दिनभर मन्दिरमा बसेर भजन गाउने, अरूका कुरा काट्ने, समाजमा आइपरेका समस्याबाट भाग्ने वा त्यो मेरो काम होइन, म त धर्मकर्ममा लागेको मान्छे भनेर पन्छने हो भने त्यो मान्छेले गरेको धर्मबाट उसले पनि केही पाउँदैन र समाजले पनि । एउटा सच्चा धार्मिक मानिसले सिङ्गो समाजलाई सत्कर्म गर्न प्रेरित गर्छ, यस्ता अनेक उदाहरण छन् । ठूला–ठूला धार्मिक व्यक्तित्वले कहिल्यै भजन गाएर मात्रै आफूलाई स्थापित गरेका होइनन् । धर्म एकै हो, त्यहाँ पुग्ने अर्थात् सेवा गर्ने बाटो मात्रै फरक हो । धर्मको बाटो अनेक छन् । हामीले सच्चा मनले दुःखीको सेवा गर्नु पनि धर्म हो । मन्दिरमा बत्ती बालेर, मूर्तिको पूजा गरेर शङ्ख फुकेर घण्ट बजाएर एउटा अलग्गै आनन्द त आउँछ तर त्यो धर्म हो वा होइन पत्तो छैन । वास्तवमा आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने कामसँगै अरूको खुसीका लागि पनि केही योगदान गर्ने हो भने त्यो झनै ठूलो धर्म हो । वेद–उपनिषद्, रामायण, भागवद्गीता कुनैमा पनि हिन्दु धर्म र यसभित्रका अनेक पन्थको चर्चा गरिएकै छैन भने शास्त्रमै नभएको पन्थ सिर्जना गरेर केही जान्नेसुन्ने भनिएकाले व्यापार चलाएका छन् । गाउँघरका सोझासिधा महिलालाई भ्रममा पारेर आफ्नो अनुयायी बनाएका छन् । यसैलाई धर्म मानेका छन् । गरिब–दुःखी र असहायलाई दान दिनुभन्दा आफूजस्ता धार्मिक गुरुलाई दान दिए पुण्य मिल्ने भ्रम बाँडेर लुट्छन् ।नेपालमा यस्ता अनगिन्ती अध्यात्मवादी छन्, जसले धर्मलाई मानवसेवामा समर्पित गरेका छन्, शास्त्रको मानव जीवनोपयोगी व्याख्या गरेर सत्मार्गमा लाग्न प्रेरित गरिरहेका छन्, उनीहरूलाई मुरीमुरी धन्यवाद । शास्त्रको सही अर्थ समाजलाई दिन सकियो भने यसले प्राणी मात्रको कल्याण गर्छ, प्राणी, वनस्पतिको कल्याणले नै मानव कल्याण हुन्छ । धर्म दुई अभीष्टका लागि गरिन्छ रे । एउटा आफ्नै स्वार्थका लागि, अर्को जगत्कै लागि । आजभोलि जगत्का लागि धर्म गर्ने कमै छन् । धर्म, संस्कृति, संस्कारका नाममा व्यापार गर्नेको बोलवाला छ । अनि ‘धर्म अफिम हो’ भन्नेहरू तिनै धर्म र संस्कार अनि संस्कृतिको नाममा व्यापार गर्नेलाई महान् वैज्ञानिक र क्रान्तिकारी ठान्छन्, पाठपूजा गर्छन् । धर्मका नाममा व्यापार र समाजमा विभेद बढेको छ । सनातन धर्मले अँगालेको, मार्गनिर्देश गरेको बाटोमा कोही पनि हिँडेका छैनन् । आफूलाई हिन्दु त भन्छन् तर त्यही धर्मभित्र विभेद गर्छन् । कोही कुन पन्थ, कोही कुन पन्थ– एकले अर्कोलाई नीचा देखाउने र आफूले अँगालेको पन्थ मात्र सर्वश्रेष्ठ भन्ने ! के यही हो धर्म ?जब धर्ममा लागेको भनिएकाहरू धर्ममै विभेद गर्छन्, धर्मको नाममा मानव कल्याणका पक्ष बिर्सिएर रामनामी ओढेर अरूलाई अर्ती दिने, आफू त्यो अर्ती पालना नगर्नेको बोलवाला छ । यसले धर्मको रक्षा होइन, नाश गरिरहेको छ । मानवता हराएको छ, धर्मको नाममा व्यापार बढेको छ, संस्कार, संस्कृति संरक्षणमा कसैको चासो छैन । वर्ण विभाजन (श्रम विभाजन)लाई जातको रङ्ग दिएर छुवाछूत गरिन्छ, मान्छेको रगत रातै हुन्छ, रोग लागे जुन जातको रगत पनि चल्ने, तर त्यही रगत दिनेलाई छुनै नहुने ? यो कुन धर्म हो ? सनातन धर्म व्यवस्थाले जातीय विभेद गरेको छैन, मन्दिरका पूजारी र सडकका व्यापारी सबैलाई समान मानेको छ, सबैको महत्त्व बराबर ठानेको छ । अहिले जसले भगवान्को प्रतिमा बनाउँछ उसैलाई मन्दिरमा निषेध छ, जसले सिलाएको लुगा लगाएर ठाँटिएर हिँडिन्छ उसैलाई छुन नहुने बनाइन्छ । विभेदको यो पराकाष्टा कसले तोड्ने ? महिलाको मासिक स्राव नभए सृष्टि रोकिन्छ, तर त्यही मासिक स्रावलाई पापको संज्ञा दिएर त्यस्तो अवस्थामा महिलामाथि दुव्र्यवहार गरिन्छ । शास्त्रले महिलालाई महाशक्तिशाली दुर्गा, महाज्ञानी सरस्वती र धनवान् लक्ष्मीका रूपमा स्विकारेको छ । छोरी जन्मिएको घरमा लक्ष्मी भित्रिएको भन्ने चलन रहेको समाजमा आजभोलि छोरी बोझ हुन थाल्यो किन ? यसको एउटै कारण छ– धर्मको नाममा बनावटीपना, व्यापार र आफूलाई ठालु बनाउने कुकर्म । सच्चा धर्मवान्ले कहिल्यै भेदभाव गर्दैन, मूर्तिमा पनि दूध चढाउँछ र मन्दिरबाहिरका भोकालाई पनि खुवाउँछ । मन्दिरमा पूजा गर्नु आस्था हो, त्यस्तो आस्था मनभित्रबाट आएको छ भने मानिसको आत्मा पवित्र हुन्छ र पवित्र आत्माले अरूको सेवा गर्छ । त्यही पवित्र आत्मा मात्रै धार्मिक मानिन्छ र उसले गरेको धर्म सत्कर्ममा परिणत हुन्छ ।नेपाली समाजमा जातीय र लैङ्गिक विभेदको जरा उखेल्नै सकिएको छैन । यसलाई उखेल्ने भाषण त हुन्छ तर जसले उखेल्न पहल गर्नुपर्ने हो उनीहरू नै जातीय सङ्गठन खडा गरेर राजनीतिक शक्ति आर्जनको स्रोत बनाउँछन् । हरेक राजनीतिक दलभित्र दलित सङ्गठन किन ? विभिन्न धर्म–सम्प्रदायका मानिसको सङ्गठन किन ? अनि जातीय सङ्गठन किन ? यस्ता प्रवृत्ति रहँदासम्म हामी विभेदमुक्त समाजको कल्पना नै गर्न सक्दैनौँ । महिलालाई अधिकार दिनुपर्छ भन्ने पश्चिमा नाराको पछि लागेर उनीहरूलाई पनि राजनीतिक शक्ति आर्जनको औजार बनाइयो, तर हाम्रा शास्त्रले महिलालाई दिएको स्थान र अधिकारका बारेमा बोल्नै चाहँदैनन् । बाहिरबाहिर क्रान्तिकारी र परिवर्तनशील देखिने भित्रभित्रै विभेदको खाडल खन्ने प्रवृत्तिको अन्त्य नभएसम्म समाज विकासको आधार बन्दैन ।