होमियोप्याथिक प्रविधिको विश्वास बढ्दै जान थालेपछि नवलपुरको देवचुली नगरपालिकाको रजहरमा १४ वर्षअघि स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालयप्रति बिरामीको विश्वास बढ्दै गएको छ। रजहरमा स्थापित सामुदायिक प्राकृतिक चिकित्सालय अहिले बिरामीका लागि सबैभन्दा भरपर्दो होमियोप्याथिक उपचारको गन्तव्य नै बन्न पुगेको चिकित्सालयकी निर्देशक आजाद पुरीले बताउनुभयो।
मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीस्थित भीमफेदी कारागारमा शौचालयको उचित निकास नहुँदा कैदीबन्दीसहित कारागार प्रशासनले विगत लामो समयदेखि समस्या बेहोर्दै आएको छ। कारागारमा शौचालयको संरचना पर्याप्त सङ्ख्यामा भए पनि शौचालयमा जम्मा हुने मानव मलमूत्रलगायतको फोहोर निकासका लागि उचित व्यवस्था नहुँदा वर्षौंदेखि समस्या हुँदै आएको हो।
नारायणी नदीमा सञ्चालनमा रहेका मोटर बोट, स्टिमरलगायतका जल यातायातबाट निस्कने ध्वनि प्रदूषणले जलचर प्रभावित बनेका छन्। माछा, गोहीलगायतका जलचरको बासस्थान रहेको नारायणी नदीमा पछिल्लो समय मोटर बोटको ध्वनि प्रदूषण बढ्दो छ। त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाहले बढ्दो ध्वनि प्रदूषण नरोक्ने हो भने जलचरहरूको बासस्थान र संरक्षणमा चुनौती देखिएको बताउनुभयो।
विभिन्न कसुरमा अभियोग लागेका वा अदालतले फैसला गरेका बालकलाई आश्रय दिन स्थापना गरिएको बाल सुधारगृह आफैँ सुधारको पर्खाइमा रहेको छ। बालकको आनीबानी र व्यवहारमा सुधार गर्न स्थापना गरेका बाल सुधारगृहहरूले भौतिक पूर्वाधारलगायतको अभाव रहेको छ। जसका कारणले बालकहरू न्यूनतम अधिकार र सुविधाबाट वञ्चित हुँदै आएका छन्। देशभरमा सञ्चालित आठ बाल सुधारगृहमध्ये बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालित सुधारगृहले पूर्वाधार अभावलगायतका राज्यले नै तोकेका अधिकार र सुविधा बालकलाई उपलब्ध गराउन सकेको देखिँदैन।
सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ। यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति नजिकिँदै गर्दा ओखलढुङ्गा क्याम्पसमा विवाद उत्पन्न भएको छ। सङ्गठन विशेषको आधारमा क्याम्पसले भर्ना शुल्कमा विभेद गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ एकाइ कार्यसमिति ओखलढुङ्गा क्याम्पस आन्दोलित भएको छ। क्याम्पसले विद्यार्थी भर्ना गर्दा विभेदपूर्ण ढङ्गले शुल्क असुलेको दाबी गर्दै सत्यतथ्य विवरण सार्वजनिक गर्न नेविसङ्घले माग गरेको छ। यस क्रममा सङ्घले आइतबार क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ।
लामो समयदेखि एउटै शाखामा बस्दै आएका कर्मचारीलाई सरुवा गरी आन्तरिक प्रशासन सञ्चालन शैलीमा परिवर्तन गरेपछि विराटनगर महानगरपालिकामा केही सुधारका सङ्केत देखा परेको छ। महानगरले कर्मचारी सरुवामार्फत सबै महाशाखा र शाखाको नेतृत्वदेखि अन्य कर्मचारी परिवर्तन गरेपछि सबैजसो शाखामा नयाँपन आएको छ। त्यसको सबैभन्दा सकारात्मक प्रभाव महानगरको राजस्व महाशाखामा देखिएको छ।
नेप्लिज फेसन होमले नेवार बालिकाको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष आयोजना गर्दै आएको मिस लिटिल नेवाःको १४औँ संस्करणअन्तर्गतको ट्यालेन्ट सो राउन्ड सम्पन्न गरेको छ । नेवारी कला, भाषा, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा मिस लिटिल नेवाः ट्यालेन्ट चयनका लागि भएको ट्यालेन्ट सोका सहभागीहरूले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकलाई आकर्षित गर्ने प्रयास गरेका थिए ।
यहाँको महावु गाउँपालिका–१, खरीगैरामा स्थापना भएको साबुन उद्योगले शुक्रबारदेखि उत्पादन बजारमा ल्याएको छ । लामो समय रोजगारीका लागि भारतको अहमदाबाद बसेर फर्केका राजेन्द्रबहादुर खत्रीले ८० लाख रुपियाँको लगानीमा गाउँमै साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतमा रहेका साबुन उद्योगको अध्ययन गरेपश्चात् आफ्नै देशमा रोजगारी गर्ने र अरूलाई समेत रोजगारी दिने उद्देश्यले उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । दैनिक पाँच सय साबुन उत्पादन गर्ने सञ्चालक खत्रीले बताउनुभयो ।
आगामी चैत २८ र २९ गते हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र निर्वाचनका लागि पदाधिकारीको उम्मेदवारी दिने तयारी गरेका उद्यमी व्यवसायी अहिले देश दौडाहामा छन् । हालसम्म दुई प्रदेशको नेतृत्व चयन भइसकेको छ भने पाँचवटा प्रदेशमा प्रदेशस्तरीय नेतृत्वको निर्वाचन हुन बाँकी छ । प्रदेश निर्वाचनबाटै आफ्नो पकड स्थापित गर्ने गरी केन्द्रीय पदाधिकारीका आकाङ्क्षीको सक्रियता देखिएको हो ।
कीर्तिपुर नगरपालिकाले आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । नगरपालिकाको वडा नं. ९ मा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरी उक्त केन्द्रमा प्राविधिक शिक्षा पठनपाठन गराउन लागेको हो । प्राविधिक शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ तीनवर्षे डिप्लोमा कोर्स सञ्चालन गरिनेछ । नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरपालिकाको आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गरी पठनपाठन गराउन लागिएको जानकारी दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बाटोघाटो र पुलको अभावमा बालबालिका पढ्न नपाउने समस्याको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग र एजुकेसन इन इभ्री होमद्वारा आइतबार आयोजित कार्यक्रममा बोल्दै उहाँले मानव अधिकारको दृष्टिले पनि हरेक नागरिकले शिक्षा पाउनु अपरिहार्य भएको तर अहिले पनि पुल नहुँदा बर्सातका बेला स्कुल जान नपाउने र घरपायक क्षेत्रमा स्कुल नै नहुँदा बालबालिका शिक्षाबाट वञ्चित हुनु परेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौँ, फागुन २२ गते । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।“होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ, “यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।”सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ”, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।“विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो”, सन्देशमा भनिएको छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ ।
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिएन ।