सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिक सहित नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन् । कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई र उहाँका छोरा छत्रबहादुर चाम्लिङ राईको घर जलेका हुन ।
चिस्यान केन्द्रको अभाव र बजार नपाउँदा जाजरकोटको नलगाडमा उत्पादन भएको स्याउ बिक्री हुन सकेको छैन । स्थानीय सरकारले चिस्यान केन्द्र र सडक निर्माणमा ढिलासुस्ती गरेका कारण लाखौँ रुपियाँको स्याउ कुहिएर नष्ट हुने गरेको किसानले गुनासो गरेका छन् ।
प्रदेश गौरवका आयोजनाका रूपमा रहेका यहाँका दुई औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको छ । जग्गा व्यवस्थापनमा ढिलाइ हुँदा अलपत्र औद्योगिक क्षेत्र निर्माणको कामले अब गति लिने भएको छ । गण्डकी प्रदेश सरकारले पाँच वर्षअघि कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको थियो । समयमै जग्गाको टुङ्गो नलाग्दा दुवै आयोजना अन्योलमा परेका थिए ।
चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयात ३१.४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँको खाद्यान्न (चामल, मकै, धान, गहुँ, जौ, कोदो) आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ५० अर्ब ५३ करोड २२ लाख २३ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । यो वर्ष धानको उत्पादनमा सामान्य वृद्धिसँगै आयातमा लगाइएका प्रतिबन्धका कारण खाद्यान्न आयातमा कमी भएको हो ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त हुनुहुन्छ ।
माता भनिने सोनिया रेश्मीको शारीरिक यातनाबाट रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको मृत्यु भएको छ। सुरुमा घाँटी र कान दुःखेपछि ज्वरो आएर स्थानीय सालझन्डीको एक क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई घरपरिवारले मातासँग झारफुक गराउने भन्दै सैनामैना–१०, बेम्टेनीकी २२ वर्षीया माता सोनियाकहाँ शनिबार साँझ लिएर गएका थिए।
उपत्यका ट्राफिक प्रहरीले फागुपर्व मनाउँदा नियम उल्लङ्घन गरी सवारी चलाउने एक हजार १५१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुरका विभिन्न ६२ वटा स्थानमा गरिएको चेकजाँचका क्रममा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी चलाइएका सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रदेश सरकारले सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन गरेको छ। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम परिवर्तन गरी ‘भौतिक पूर्वाधार विकास मन्त्रालय’ बनाएको हो। मन्त्रालयको नाम लामो हुँदा अप्ठ्यारो भएको भन्दै मन्त्री दुर्गाप्रसाद चापागाईंले मन्त्रीस्तरीय निर्णय गरेर नाम परिवर्तनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गर्नुभएको थियो। सरकारले सोही सिफारिस बमोजिम मन्त्रालयको नाम परिवर्तन गरेको हो।
मधेश प्रदेशका जिल्लामा रङहरूको पर्व फागुको उमङ्ग छाएको छ। सहरदेखि गाउँटोलसम्म फागुपर्वको उत्सवमा सबै रमाएका छन्। मधेशका जिल्लामा सोमबार, मङ्गलबार र बुधबार रङ खेलिँदै छ। मधेशमा बसोबास गरिरहेका पहाडी समुदायले सोमबार फागुपर्व मनाएका छन्। धनुषाबाहेकका जिल्लामा मङ्गलबार र धनुषामा बुधबार फागु खेलिँदै छ।
लघुवित्त, फाइनान्स र बैङ्क गरी पाँच कम्पनीका कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा फस्र्ट माइक्रोफाइनान्स, आँधीखोला लघुवित्त, आईसीएफसी फाइनान्स, साबिक सेन्चुरी कमर्सियल बैङ्क र प्रभु बैङ्कको गरी कुल एक करोड ५५ लाख ५१ हजार ८५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद सुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ । धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
विदेशी हवाई कम्पनीले भाडामा गरेको एकाधिकार भत्काउन नेपाल वायुसेवा निगमले नेपाल–दक्षिण कोरिया सिधा उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ।
सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।
आफ्नो जन्मस्थान ताप्लेजुङको दुर्गम फक्ताङ्लुङ गाउँपालिकामा आँखाका बिरामीको उपचार गर्न आउनुभएका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीलाई बिदा गरिएको छ।