हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बदली रहेको छ ।
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”
भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्याको वृद्धि हुन थालेको हो ।
म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।
विदेशी नागरिकलाई पर्यटकीय स्थल रामारोशन प्रवेशको अनुमतिका लागि स्थानीयले आग्रह गरेका छन् । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको अगुवाइमा भएको सर्वपक्षीय बैठकले विदेशीलाई एक महिनासम्मका लागि अनुमति दिन माग गरेका हुन् । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नाममा अछाम भित्रिएका विदेशी नागरिक स्थानीय प्रशासनको अनुमति नभएका कारण बिच बाटोमै रोकिएका छन् । ‘वल्र्ड रेन्वो फेमिली’ नामक संस्थाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मका लागि रामारोशनमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागेको थियो ।
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चरालाई स्थानीय नामबाट चिनाउने प्रयास गरिएको छ । यहाँ पाइने ३८० प्रजातिका रैथाने तथा आगन्तुक चरालाई थारू भाषाको नामबाट चिनाउने जमर्को गरिएको छ । ‘घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू’ नामक पुस्तकमा यहाँ पाइने चराको अङ्ग्रेजी, वैज्ञानिक, नेपाली नामका साथसाथै स्थानीय थारू भाषाको नाम पनि उल्लेख गरिएको छ । घोडाघोडी चरा अभय आरण्य क्षेत्र आसपास बसोबास गर्दै आएका स्थानीय जनकलाल चौधरी, बुद्धिप्रकाश, तिलक राम, सीताराम चौधरी र टेङ्गना डङ्गौराको सहयोगमा चराको नाम थारू भाषामा समावेश गरिएको हो ।
बुटवलमा निर्माण गरिएको आधुनिक पशु वधशाला यही असोजभित्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ। करिब २२ करोड रुपियाँ लगानीमा वधशाला निर्माण भएको हो। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडबिच पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैङ्क लिमिटेडका सञ्चालक रामशरण तिमिल्सिनाले वधशाला सञ्चालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
विद्यार्थीको अभावमा शैक्षिक संस्था समायोजन हुँदै गएका छन्। ११ पालिका रहेको स्याङ्जामा ७१ विद्यालय समायोजन भइसकेका छन्। तथापि शिक्षकको दरबन्दी र सङ्ख्या घटेको छैन। समायोजन भएका विद्यालय प्रयोगविहीन भएका छन्। खाली रहेका विद्यालयको अन्य प्रयोजन र संरक्षण हुन सकेको छैन। एक दशकको अन्तरालमा विद्यार्थीको सङ्ख्या निकै घटेको छ। गाउँ गाउँमा खुलेका सामुदायिक विद्यालय अस्तव्यस्त अवस्थामा चलिरहेका छन्। विद्यार्थी सङ्ख्या बढाएरै भए पनि विद्यालय जोगाउन स्वयं शिक्षक नै लागिपरेका छन्। उनीहरूको ध्यान गुणस्तरीय शिक्षा प्रदान गर्नमा छैन, छ त केबल गाउँको विद्यालय जोगाउन र आफ्नो जागिर घरपायक नै रहिरहोस् भन्नेमा मात्रै जोड छ। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन गुणस्तरीय र आधुनिक शिक्षामा जोड दिनु अपरिहार्य रहेको छ तर सरोकारवालाको यसतर्फ ध्यान नै गएको छैन । पछिल्लो समय केही पालिकाले राहत तथा अस्थायी शिक्षकलाई अन्यत्र जिल्लामा पठाउने प्रयास गरिरहेको भए पनि राजनीतिक दबाबकै कारण यसले सार्थकता पाउन सकेको छैन।
सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दिनेशकुमार यादव सदन निममितरूपमा सञ्चालन भएको खण्डमा उपस्थितिमा देखिँदै आएको गणपूरक सङ्ख्याको विषय स्वतः अन्त्य हुने धारणा राख्नुहुन्छ ।
दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ गाउँमा पुगेर पार्टी सदस्यता नवीकरण र वितरण गर्ने कार्य भइरहेको छ। ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा बोकेर नेकपा (माओवादी केन्द्र) नेता तथा कार्यकर्ता भदौ १६ देखि गाउँ पसेका हुन्। अभियानले रूपान्तरणसहितको माओवादी बनाउने लक्ष्य लिएको छ।
सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति)मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ ।
जुम्ला जिल्लाको सिँजा नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको मूल थलोसमेत हो। सिँजा सभ्यताका रूपमा यो पालिका विकासको पाइलातिर लम्किँदै छ। भौतिक पूर्वाधार, कृषि, पर्यटन र विकासलाई प्राथमिकतामा राखेको सिँजाको अध्यक्षमा पूर्णप्रसाद धिताल हुनुहुन्छ। जुम्ला जिल्ला सदरमुकाम खलङ्गाबाट १६ कोस उत्तरपश्चिमको यो सुन्दर उपत्यका सिँजा, हिमा र कनकासुन्दरी गाउँपालिकाको प्रशासनिक र व्यापारिक केन्द्रसमेत हो। यहाँबाट ३ वटै पालिकाका नागरिकलाई नागरिकता वितरण सेवासमेत हुँदै आएको छ।
‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।
दमकका सहकारी संस्थाहरूले दमक नगरपालिकाको सूचना र निर्देशनलाई बारम्बार अटेर गर्ने गरेका पाइएको छ। नगरपालिकाले तोकिएको ढाँचामा आफ्नो विवरण नियमित रूपमा सहकारी शाखामा बुझाउन निर्देशन जारी गरे पनि सोको कार्यान्वयन भएको पाइँदैन।