• ९ मंसिर २०८१, आइतबार

सामुदायिकमा घटे विद्यार्थी

blog

वालिङ समाचारदाता

वालिङ, असोज २ गते  । विद्यार्थीको अभावमा शैक्षिक संस्था समायोजन हुँदै गएका छन्। ११ पालिका रहेको स्याङ्जामा ७१ विद्यालय समायोजन भइसकेका छन्। तथापि शिक्षकको दरबन्दी र सङ्ख्या घटेको छैन।

समायोजन भएका विद्यालय प्रयोगविहीन भएका छन्। खाली रहेका विद्यालयको अन्य प्रयोजन र संरक्षण हुन सकेको छैन। एक दशकको अन्तरालमा विद्यार्थीको सङ्ख्या निकै घटेको छ। गाउँ गाउँमा खुलेका सामुदायिक विद्यालय अस्तव्यस्त अवस्थामा चलिरहेका छन्। विद्यार्थी सङ्ख्या बढाएरै भए पनि विद्यालय जोगाउन स्वयं शिक्षक नै लागिपरेका छन्। उनीहरूको ध्यान गुणस्तरीय शिक्षा प्रदान गर्नमा छैन, छ त केबल गाउँको विद्यालय जोगाउन र आफ्नो जागिर घरपायक नै रहिरहोस् भन्नेमा मात्रै जोड छ। विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन गुणस्तरीय र आधुनिक शिक्षामा जोड दिनु अपरिहार्य रहेको छ तर सरोकारवालाको यसतर्फ ध्यान नै गएको छैन । 

पछिल्लो समय केही पालिकाले राहत तथा अस्थायी शिक्षकलाई अन्यत्र जिल्लामा पठाउने प्रयास गरिरहेको भए पनि राजनीतिक दबाबकै कारण यसले सार्थकता पाउन सकेको छैन। 

विद्यार्थी घटे, दरबन्दी घटेन 

जिल्लामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको छ। जिल्ला शिक्षा समन्वय एकाइले समेत लामो समयको विद्यार्थी सङ्ख्याको विवरण उपलब्ध गराएन। कार्यालय भन्छ, २०७७ सालअघिको विद्यार्थी विवरण तथ्यपरक रूपमा उपलब्ध गराउन सहज छैन। स्याङ्जामा प्रावि तहमा एक हजार ८५९ स्वीकृत दरबन्दी छ। राहतका १३५ जना शिक्षक कार्यरत रहेका छन्। निमावि तहमा ४३० स्वीकृत दरबन्दी रहेको छ। १३७ राहत शिक्षक रहेका छन्। यसै गरी मावि तहमा ३१० स्वीकृत दरबन्दी छ। १२४ राहत शिक्षक कार्यरत रहेका छन्। प्रावि तहमध्ये कुल शिक्षक २९३ रहेकामा २३९ शिक्षकलाई दरबन्दीसहित अन्यत्र पठाउन सिफारिस गरिएको शिक्षा समन्वय एकाइ प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । यो दरबन्दी २०५६ सालअघि नै कायम भएको हो ।  विभिन्न १७ प्रकृतिका शिक्षकको सङ्ख्या जिल्लामा रहेको छ । यो स्वीकृत दरबन्दी अनुसार नै शिक्षक कार्यरत रहेको एकाइले जनाएको छ । केही अवकाशमा जाने र छोड्ने हुँदा खाली भएको ठाउँमा तत्कालै माग हुने कार्यालयको भनाइ छ । यसको अर्थ दरबन्दी अनुशार शिक्षक यथावत् नै रहेको छ भन्ने नै हो । 

कुनै बेला पाँच सयभन्दा धेरै विद्यार्थी पढाएको वालिङ–१४ को जनसेवा मावि डुम्रे भन्ज्याङमा ६९ जना विद्यार्थी छन्। शिक्षकको सङ्ख्या भने १६ जना नै रहेको छ। वालिङ नगरपालिकाका अनुसार यो विद्यालयमा शिक्षक र कर्मचारी गरी २१ जना कार्यरत रहेका छन्। जनसेवा माविमा मात्रै होइन जिल्लाका अन्य विद्यालयको अवस्था पनि यस्तै छ तर शिक्षक कर्मचारीको दरबन्दी भने कायम नै रहेको छ। 

अनुपात अनुसार छैनन् विद्यार्थी 

जिल्लामा रहेका सामुदायिक विद्यालयमा कतै विद्यार्थी धेरै छन् तर शिक्षक अपुग छ। कतै शिक्षक धेरै छन् तर विद्यार्थी छैनन्। शिक्षा ऐन २०२८ अनुसार ४५ जना विद्यार्थी बराबर एक शिक्षक तोकिएको छ। जिल्लामा सामुदायिक तथा संस्थागत गरी ५४ हजार २७३ विद्यार्थी रहेका छन्।

सामुदायिकतर्फ कक्षा १ देखि १२ सम्मका विद्यार्थी सङ्ख्या ३२ हजार १२६ मात्रै रहेको छ। यसबाहेक इसिडीमा चार हजार ९७१ विद्यार्थी रहेका छन्। २०७७ सालमा सामुदायिकतर्फ मात्रै विद्यार्थीको सङ्ख्या ५१ हजार २९४ रहेको कार्यालयका अधिकृत सुरेश सुवेदीले जानकारी दिनुभयो। तीन वर्षको अवधिमा नै विद्यार्थीको सङ्ख्या ६० प्रतिशतभन्दा बढीले घटेको तथ्याङ्कले देखाएको छ। 

विद्यार्थीको सङ्ख्यामा निकै कमी आएको भए पनि सरकारी शिक्षक भने आफूहरूलाई काम पुगेको बताउँछन्। विषयगत रूपमा पढाउनुपर्ने भएकाले सङ्ख्या घटे पनि शिक्षकको जिम्मेवार यथावत् रहेको बताउँदै आएका छन्। २०७६ सालमा गरिएको सर्भे अनुसार जिल्लामा १२ जना विद्यार्थी बराबर एक शिक्षक परेका थिए तर यो सङ्ख्या पनि अहिले निकै घटेको छ। एकाइ प्रमुख आचार्यका अनुसार अनुपातको विवरण यसै भन्न नसकिने अवस्था छ।

राजनीतिले घट्यो गुणस्तर 

शिक्षाको गुणस्तर राम्रो नभएकै कारण विद्यार्थीको सङ्ख्या घटेको जगजाहेरै छ। बढ्दो राजनीतिक प्रभाव, आधुनिक शिक्षाप्रतिको शिक्षक र सरोकारवालाको बेवास्ता आदि कारणले विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित भएका छन्।

गुणस्तरीय शिक्षा दिने हो भने विद्यार्थीको कमी नहुने गतिलो उदाहरण पनि स्याङ्जामा नै छ। जिल्लाको वालिङ–७ मा रहेको बालसिद्ध माविमा विद्यार्थीको सङ्ख्या पछिल्लो समय बढिरहेको छ। जहाँ स्नातक तहसम्म निःशुल्क पढाइ हुन्छ।  अङ्गेजी र नेपाली दुवै शैलीमा पठनपाठन हुन्छ। अनुपातमा विद्यार्थी सङ्ख्या नघटेको विद्यालयमा यो पर्ने बताइएको छ। जिल्लामा सबभन्दा धेरै विद्यार्थी सङ्ख्या सदरमुकाममा रहेको त्रिभुवन आदर्श माविमा रहेका छन्। जहाँ ८५० विद्यार्थी अध्ययनरत छन्। शिक्षकको पढाउनेभन्दा पनि राजनीति  गर्नेतर्फ ध्यान धेरै गएकाले विद्यालयको अवस्था बिग्रँदै गएको अभिभावकको गुनासो छ।

शिक्षक आन्दोलनतिर  

शिक्षकको पहिलो कर्तव्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो तर जिल्लामा रहेका शिक्षक गुणस्तरीय शिक्षा प्रदान गर्नुभन्दा आन्दोलनमा सक्रिय छन्। नेपाल शिक्षक महासङ्घले असोज ३ गतेदेखि विद्यालयमा पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रन सबै शिक्षकशिक्षिकालाई आह्वान गरेको छ। स्याङ्जाका शिक्षकको पेसागत सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमा पूर्ण असहमति जनाउँदै सबै शिक्षकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। वालिङ नगरपालिकाले शिक्षक तथा निजामती कर्मचारीलाई कुनै राजनीतिक कार्यक्रममा संलग्न नहुन निर्देशन गरेको छ। नगरपालिकाका प्रमुख कृष्ण खाणले एक सूचना जारी गर्दै नगरभित्रका शिक्षक तथा कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो । 

उहाँका अनुसार शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संशोधनसहितको दफा १८ को उपदफा १ को (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती सेवा ऐनको दफा ४४ मा निजामती कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रूपमा रहेको छ। वालिङ नगरकार्यपालिकाको भदौ २६ गते बसेको बैठकले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र निजामती कर्मचारी कार्यालय समयमा कुनै पनि राजनीतिक कार्यक्रममा संलग्न हुन नपाउने निर्णय गरेको छ। यो निर्णयविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख खाणले बताउनुभयो ।