• १३ साउन २०८१, आइतबार

धानमा फड्के किराको प्रकोपले किसान चिन्तामा

blog

लीलाधर वली

घोराही, असोज २ गते । दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ । 

जेठको पहिलो साता रोपेको धानको बोट राम्रो भएको भए अहिले बोटमा बाला झुल्ने बेला भए पनि रोगका कारण धान खेतमै सुकेर सेतै भएको छ । रोगका कारण धान सुकेर पहेँलै भएपछि ठुलो क्षति हुने अवस्था आएको किसान पोख्रेल बताउनुहुन्छ । धान रोपेको करिब ७०÷८० दिनसम्म राम्रै रहे पनि पसाउने बेला अहिले सबै धानको बोट सुकेर पहेँलो भएको किसान पोख्रेल बताउनुहुन्छ । 

किसान पोख्रेलले भन्नुभयो, “धानमा किराको प्रकोप देखिएपछि सुरुमा एग्रोभेटमा देखाएको थिएँ । त्यहाँको उपचारले राम्रो नभएपछि गाउँपालिकाको कृषि शाखालाई जानकारी गराएँ, पालिकाबाट कृषि प्राविधिक आएर धानको बोटमा देखा परेको समस्याका बारेमा बुझेर उपचारका लागि सल्लाह दिनुभयो । उहाँहरूको सल्लाह अनुसार विषादी छर्कें तर धान मर्ने क्रम रोकिएन ।” 

औषधी छिटेको ठाउँमा केही किरा मर्ने गरे पनि जमिनको चिसो र ओसका कारण पुनः किरा देखिइहाल्ने समस्या भएको हुँदा धान खेती खेर जाने अवस्था देखिएको किसान पोख्रेल बताउनुहुन्छ । भदौको १७÷१८ गतेतिरबाट धानमा देखा परेको रोग भदौको अन्तिममा आइपुग्दा करिब छ कट्ठा खेतमा रोपेको धान सुकेर पराल बनेको उहाँ बताउनुहुन्छ । 

छोटो समयमा यति धेरै क्षति भएपछि यो वर्षको मेहनत खेर जानका साथै आगामी दिनमा चामल किनेर खानुपर्ने बाध्यता भएको भन्दै पोख्रेलले भन्नुभयोे, “अहिलेसम्म धान खेतमा यस्तो समस्या भएको थिएन । यो पटक खै के भयो यस्तो बिजोग बनायो । वर्षभरि खाने धान सखाप भयो । विगत वर्षमा गोरखनाथ धान रोप्ने गरेको थिएँ । यो पटक साँवा मन्सुली रोपेँ तर सबै चौपट भयो । धानका बोट सबै सुकेर पराल बनेको छ । विषादी छर्केकाले पराल पनि गाईबस्तुलाई खुवाउन मिल्दैन ।”

धान खेतमा रोपेको धान पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण पहिचान गर्दा फड्के किराले असर गरेको पुष्टि भएको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख सीमा भट्ट बताउनुहुन्छ । उहाँका अनुसार धानमा देखा परेको समस्याबारे अनुसन्धान गर्दा फड्के किरा अर्थात् राइस होपरको प्रकोप पुष्टि भएको र धेरै ठाउँमा रोग फैलिएका कारण नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । शाखा प्रमुख भट्ले भन्नुभयो, “धानमा समस्या देखिएको जानकारी पाएपछि हामीले उपचारका लागि पहल थालेका छौँ तर नियन्त्रणमा आउन सकेको छैन ।” उहाँका अनुसार राप्ती गाउँपालिकाको वडा नम्बर १, २, ५, ७ का वडामा फड्के किराको प्रकोप देखा परेको छ ।

धानका बोट धमाधम पहेँलो हुन थालेपछि पालिकाले के भएको हो भन्नेबारेमा बुझेर प्रकोप नियन्त्रणका लागि विषादी सिफारिस गरी थप प्रकोप नियन्त्रण गर्ने काम गरिरहेको कृषि शाखा प्रमुख भट्ट बताउनुहुन्छ । राप्ती गाउँपालिका–७ का रामचरण चौधरीले रोपेको धानमा पनि फड्के किराको समस्या देखा परेको बताउनुभयो । उहाँका अनुसार केही दिन अघिसम्म राम्रो रहेको धानमा अहिले फड्के किराको असरले पहेँलो हुन थालेको बताउनुहुन्छ ।

कृषि प्राविधिकसँगको सल्लाहमा विषादी छर्केर उपचार गरिरहेको भए पनि धान सुक्ने क्रम नरोकिएको उहाँ बताउनुहुन्छ । पालिकाका अनुसार फड्के किराको असरका कारण हालसम्म राप्तीमा करिब १५ बिघाभन्दा बढी क्षेत्रफलमा रोपेको धान पहेँलो भएर सुक्न थालेको कृषि शाखा प्रमुख भट्टले जानकारी दिनुभएको छ ।