जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
राष्ट्रिय योजना आयोगले १६ औँ योजनाका लागि प्रदेशगत रूपमा छलफल सुरु गरेको छ । योजना आयोगले कर्णाली प्रदेशबाहेक अरू छ प्रदेशमा योजना अनुरूप छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि टोली खटाएको जनाएको छ । आयोगले सोमबार बागमती र मधेश प्रदेशसहितका ठाउँमा छलफल सुरू गरेको जानकारी गरायो । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागिता रहेको थियो ।
कवि शकुन्तला जोशीलाई एनएलजी कलाश्री सिर्जना पुरस्कार प्रदान गरिएको छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले आयोजना गरेको विशेष शान्ति कविता गोष्ठीमा जोशीलाई पुरस्कार प्रदान गरिएको हो । कवि तुलसी दिवसलगायतका अतिथिले कवि जोशीलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
विशेष अदालतले सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण समितिका अध्यक्ष र सदस्य तथा प्रधानाध्यापकलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले सोमबार सजाय निर्धारण गर्दै निर्माण समिति अध्यक्ष कन्हैया साह कानु, प्रधानाध्यापक रामवचन प्रसाद, समिति सदस्य रामचन्द्र साह कानुलाई दुई वर्ष छ महिना कैद सजाय निर्धारण गरेको छ ।
१४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।
तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतका लागि डिआरएस कन्टेनर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि तीन र ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुमपश्चिमका लागि पठाइएको हो ।
सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।
सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्नेभएको छ