दोलखाको बिगु गाउँपालिका १ लामा बगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब चार अर्बको बिजुली बिक्री गरेको छ ।
रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो ।
रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार बेलुका नदी किनारको छालमा उक्त शव फेला परेको हो ।
प्रत्येक वर्ष पूर्णिमाको दिन धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदिमा लाग्ने मेलामा दर्शनार्थीरुको घुइँचो लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा अनौठो खालको भूत ‘देवता’ मेला लाग्ने गरेका कारण मेलामा आउनेहरूको घुइँचो लागेको हो ।
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर ९धाम० गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको जुम्ल्याहा नवजात शिशुको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५-६ महिना जतिको देखिने मृत जुम्ल्याहा शिशु फेला परेका हुन् ।
नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ ।
राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्नुहुन्छ ।
बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खप्तड छेडेदह गाउँपालिकामा १४ घर, गौमूल गाउँपालिकामा ४२७ घर र हिमाली गाउँपालिकाका २६७ घरमा क्षति पुगेको छ । त्यस्तै स्वामिकार्तिक गाउँपालिकामा १४ घर, जगन्नाथ गाउँपालिकामा ३१ घर, बडीमालिका नगरपालिकामा ६६६ घर र बुढीगङ्गा नगरपालिकाका छ घरमा क्षति पुगेको पाइएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ का जमुना रोकायाको मृत्यु र एक जना घाइते भएका थिए ।
कर्णाली नदीको किनारमा रहेको सर्केगाड गाउँपालिका–२ र ३ को लिप्नेमा सञ्चालन हुँदै आएको लालीगुराँस माध्यमिक विद्यालयका विद्यार्थी खेतमा बसेर पढ्दै आएका छन् । विद्यालयको कक्षाकोठामा घाम नलागेर चिसो बढ्ने भएपछि विद्यार्थी खेतमा बसेर पढ्नु परेको हो । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा फडेराले चिसोका कारण कक्षामा बसेर अध्ययन गर्न कठिन हुन थालेपछि खेतमै घामको पारिलो तापसँगै पढ्नु परेको बताउनुभयो । कर्णाली नदीको किनारमा विद्यालय रहेका कारण कक्षाकोठामा चिसो बढी हुने भएकाले विद्यालयले नै खेतमा पढाउने व्यवस्था गरेको उहाँले जनाउनुभयो । विद्यालयमा दैनिक दुई घण्टा मात्र घाम लाग्ने गर्छ ।
सुरक्षित कर्णाली अभियान अन्तर्गत सञ्चालन गरिएका प्रदेश प्रहरीका विभिन्न आठ वटा अभियानले कर्णाली प्रदेशको झन्डै सात लाख जनसङ्ख्या लाभान्वित भएका छन् । अपराध न्यूनीकरण गरी शान्त र सुरक्षित प्रदेश बनाउनका लागि कर्णाली प्रदेश प्रहरीले सुरक्षित प्रदेश अभियान सञ्चालन गरेको छ । गत वर्षको माघ १३ गतेदेखि हालसम्म प्रदेश प्रहरीले विभिन्न आठ वटा अभियान सञ्चालन गरेको छ । जसबाट कर्णालीमा छ लाख एक हजार ३० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरुमा प्रहरीले गत वर्षको माघ १३ गतेदेखि अन्तव्रिर्mयात्मक गस्ती परिचालन अभियान थालेको थियो । जसमा सात हजार २७१ वटा गस्ती सङ्ख्या परिचालन गरिएको थियो ।
जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–५ र ६ वडाको सिमानामा पर्ने तुम्कोटभित्रको चट्टानी भिरमा नयाँ गुफा पत्ता लागेको छ । तुम्कोटबाट लिमी जाने क्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको टोलीले सो गुफा पत्ता लगाएको हो । अध्यक्ष लामाले तुम्कोटबाट लिमीतर्फ जाने क्रममा चट्टानी भिरको छेउमा गुफा भेटिएको बताउनुभयो । अध्यक्ष लामाको टोली लिमीका योजनाको अनुगमन गर्न सो क्षेत्रमा पुगेको थियो ।
गुल्मीमा अझै पनि गाडीबाट खानेपानी ढुवानी गर्नुपर्ने बाध्यता छ । यस जिल्लाको कालीगण्डकी गाउँपालिका–१ का देउराली, सिरकोट र वडा नं. २ को कोटका बासिन्दा खानेपानी गाडीबाटै ढुवानी गरेर पिउनुपर्ने बाध्यतामा छन् । वर्षायाममा चिदियारको मूलबाट पानी ल्याउने गरेका स्थानीयवासी हिउँद लागेपछि मुहान सुक्ने भएकाले अझ टाढाबाट गाडीमा ढुवानी गरेर खानेपानी ल्याउने गरेको स्थानीय युवा तिलक रानाले बताउनुभयो । एक पटक खानेपानी ल्याउँदा गाडीलाई एक हजार पाँच सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको ७५ वर्षीय बलबहादुर न्यौपानेले बताउनुभयो ।
नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा सात राँगा ल्याइएको छ । पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले राँगालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । “अब स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउन सकिन्छ,” उहाँले भन्नुभयो । नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्ज पठाइएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यसमेत रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण अलपत्र परेको छ । चालु आर्थिक वर्षमा सङ्घ तथा प्रदेशबाट बजेट प्राप्त नभएपछि फिल्म सिटी निर्माण अलपत्र परेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । “यस वर्ष सङ्घले अध्ययन, अनुसन्धान तथा अनुगमनका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निर्माणकै लागि सम्बन्धित निकायको खासै चासो नदेखिएपछि निर्माण अलपत्र परेको हो,” उहाँले भन्नुभयो ।