रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. २ को कार्यालयको आफ्नै कार्यालय भवन छैन। भवन नभएकै करण यो वडाले मासिक पाँच हजार रुपियाँ भाडा तिरेर कच्ची घरका दुई वटा कोठाबाट सेवा दिइरहेको छ। मुलुक सङ्घीय संरचनामा गएपछि भएको पहिलो स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले पाँच वर्ष भौतिक पूर्वाधारकै क्षेत्रमा बढी बजेट खर्च गरे। यो व्रmममा धेरै सडक खनिए, धेरै स्थानीय तहका सुविधा सम्पन्न पक्की भवन निर्माण भए तर खाँडादेवी गाउँपालिका–२ को वडा कार्यालय भवन अझै बनेको छैन।
निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्। बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्।
ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गर्नुभयो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत गरिएको करको दरको परिवर्तन कसैको स्वार्थ पूरा गर्नका लागि नभएको प्रस्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको आगामी बजेट घोषणापछिको छलफल कार्यक्रममा उहाँले कर निर्धारणमा आफूले अर्थतन्त्रको विस्तार तथा निजी लगानी प्रवर्धनलाई केन्द्रमा राखेको बताउनुभयो । “राजस्वका कुनै पनि दरको हेरफेर स्वार्थप्रेरित छैन,” उहाँले भन्नुभयो ।
स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । बुधबार सुन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख १२ हजार रुपियाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ। राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताउनुभयो।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विपन्न नागरिकलाई छुट्याउनुपर्ने १० प्रतिशत शय्याको विवरण पेस नगर्ने ६८ अस्पतालको विवरण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसमक्ष बुझाउनुभएको छ। अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न नागरिकलाई छुट्याउनुपर्ने हुन्छ। काठमाडौँ महानगरले जेठ ६ गते एक साताभित्र १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार गरेको विवरण महानगरभित्रका स्वास्थ्य संस्थाहरूसँग माग गरेको थियो। समयमा महानगरलाई विवरण नबुझाउने स्वास्थ्य संस्थामाथि कारबाही अगाडि बढाउन महानगरपालिका प्रमुख शाहले स्वास्थ्यमन्त्री बस्नेतसमक्ष उक्त विवरण बुझाउनुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजदेखि सुरु गरेको भारत भ्रमण सद्भावना अभिवृद्धि गर्न केन्द्रित रहने बताउनुभएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजित रात्रिभोजसहितको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपसी विश्वास तथा सद्भावना अभिवृद्धि गर्दै नेपाल र नेपालीको हितमा भ्रमण केन्द्रित रहने बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा नयाँ दिल्ली आएको उल्लेख गर्दै उहाँले यस अवसरमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल हुने उल्लेख गर्नुभयो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोही याङ्जी शेर्पालाई पौडेलले बधाई दिनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ।
पाल्पामा जारी कर्णेल उजीरसिंह ‘पाल्पा गोल्डकप फुटबल’ अन्तर्गत बुधबारको खेलमा सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स चितवन विजयी भएको छ ।
पाँचथर र ताप्लेजुङका विकट क्षेत्रमा गत असोजदेखि निर्माण थालिएका १५ वटा नयाँ झोलुङ्गे पुल निर्माण भएको छ । कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा पूर्वाधार विकास कार्यालय पाँचथरले स्थानीय उपभोक्ता समितिसँगको सहकार्यमा पुल निर्माण भएको हो ।
नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जित्नुभएको छ । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जित्नुभएको हो ।