• २३ वैशाख २०८२, मङ्गलबार

आक्सलाई पञ्चासे संरक्षण पुरस्कार

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर २६ गते । पञ्चासे संरक्षण पुरस्कार २०८० आपसी सहयोग केन्द्र(आक्स) स्याङ्जालाई प्रदान गरिएको छ । आक्सलाई माछापुच्छ्रे विकास कोषले स्याङ्जा, कास्की र पर्वतको सङ्गम स्थल पवित्र पञ्चधाम पञ्चासेमा बालाचतुर्दशीको अवसरमा पुरस्कारले सम्मान गरेको हो । 

धार्मिक एवम् जैविक विविधताले भरिपूर्ण पञ्चासेको वन वातावरण संरक्षण र प्रवर्धन गर्दै सरकारी निकाय तथा संस्थासगँ समन्वय गरी समुदायमा आधारित नमुना संरक्षण क्षेत्र बनाउन गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो । 

आस्कका अध्यक्ष रुकुमदत्त पौडेललाई प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका संयोजक सुधीरकुमार पौडेलले नगद २५ हजार रुपियाँ, सम्मान पत्र र दोसल्ला ओढाएर पुरस्कार प्रदान गर्नुभएको हो । 

२६ वर्ष पहिले स्थापना भएको आपसी सहयोग केन्द्रले वन वातावरण संरक्षणको क्षेत्रमा लगातार काम गर्दै आएको छ । हरियाली जङ्गल र योगका लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य पञ्चासे सुनाखरीको राजधानी हो ।  

पञ्चासेमा थरीथरीका चरा, सुनगाभा र जडीबुटी पाइने गरेको छ भने प्राकृतिक सौन्दर्यता नियाल्न पञ्चासे एक स्थान हो । दुई हजार ५१७ मिटर उचाईमा रहेको पञ्चासेबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमाल  अवलोकन गर्न सकिन्छ ।