सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध नहटाएपछि सवारी साधनको कुम्भ मेला ‘नाडा अटो सो–२०२२’ स्थगित भएको छ । सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो प्रदर्शनीको तयारी थाले पनि प्रतिबन्ध लम्बिएपछि अटो प्रदर्शन स्थगित गरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योगमा साढे तीन अर्ब लगानी थपिएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा तीन अर्ब ५२ करोड ९३ लाख लगानी थपिएको हो । यो घरेलु तथा साना उद्योग कार्यालय दाङमा एक वर्षको अवधिमा दर्ता भएका घरेलु तथा साना उद्योगको लगानी हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले मौद्रिक नीतिले आठ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाब सिर्जना गर्ने देखिएको बताएको छ । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको महासङ्घको धारणा छ ।
ताँजाकोट गाउँपालिकास्थित कर्पुखोला लघुु जलविद्युुत्बाट ११२ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । निर्माणका लागि सम्झौता भएर छोटो समयममै काम सम्पन्न हुँदा उपभोक्ताले विद्युत् उपभोग गर्न पाएका छन् ।
सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष सन् २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान पेन्सन परियोजनाका लागि प्रक्रिया सुरु गरेको छ । चालू आर्थिक वर्षदेखि नै किसानलाई पेन्सन दिने गरी प्रक्रिया अगाडि बढेको कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत कैलालीको भजनी नगरपालिका–९, भुरुवामा २५ घर निर्माण गरी हस्तान्तरण गरेको छ। भुरुवामा लोपोन्मुख राजी परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो। प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीले निर्माण भएको सुरक्षित आवास राजी समुदायलाई हस्तान्तरण गर्नुभयो। आवास निर्माणका लागि २०७७ माघमा राजी जातिको परम्परागत कच्ची घर भत्काएको थियो। सुरक्षित आवास प्राप्त गरेपछि भजनी नगरपालिका–९, भुरुवाकी मीना राजीले खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “नयाँ घर पाउँदा धेरै खुसी भएकी छु।”
बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ ।
नरहरिनाथ गाउँपालिकामा रहेको बैङ्कमा आर्थिक वर्षको अन्त्यमा पैसा झिक्न थेगिनसक्ने भीड लाग्ने गरेको छ। कृषि विकास बैङ्क शाखा कार्यालय कुमालगाउँमा आर्थिक वर्ष २०७८/७९ को भुक्तानी लिन सेवाग्राहीको भीड लाग्ने गरेको हो। बैङ्कमा सबै योजनाको भुक्तानी, रोजगारको भुक्तानी, सामाजिक सुरक्षा भत्ता, बालपोषण तेस्रो र चौथो किस्ताबापतको रुपियाँ भुक्तानी लिन भीड लाग्ने गरेको छ। स्थानीय सरकार स्थापनासँगै गाउँमा बिस्तार भएका बैङ्कमा पनि उत्तिकै भीड लाग्ने गरेको हो। अन्य समय खालीजस्तै हुने गाउँका बैङ्कहरू आर्थिक मसान्तमा भने खुट्टा टेक्नेसम्म ठाउँ हुँदैन। स्थानीय बासिन्दा जीवन विश्वकर्माले सबै भुक्तानी प्रक्रिया बैङ्कबाटै गर्ने हुँदा चाप बढेको बताउनुभयो। सरकारले वृद्धवृद्धाले पाउने सेवा सुविधा पनि बैङ्कमा खाता अनिवार्य गरेपछि कालीकोटका झन्डै १८ हजार वृद्धवृद्धा सकसमा परेका छन् । हिँड्न नसक्ने र सडकको पहुँचमा समेत नजोडिएका बस्तीबाट सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाने वृद्धवृद्धाका लागि बैङ्किङ प्रणालीले निकै दुःख दिएको स्थानीय उमेश विष्टले बताउनुभयो ।
केही समयअघिसम्म सुनवल बजारमा बच्चालाई अङ्ग्रेजी भाषाको शिक्षा दिन महँगो शुल्क तिरेर बोर्डिङ स्कुलमा भर्ना गर्नुपर्ने बाध्यता भएकोमा अब त्यो अवस्था फेरिएको छ। सुनवल नगरपालिकाभित्रका सामुदायिक विद्यालयले पनि न्यून शुल्कमा सुविधा सम्पन्न कक्षाकोठामा गुणस्तरीय शिक्षा प्रदान गर्न थालेका छन्। अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा सामुदायिक विद्यालय नै पर्ने गरेका छन्। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षदेखि एसीसहितको सुविधा सम्पन्न भवन र गुणस्तरीय शिक्षाको व्यवस्था गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २३ लाख ८९ हजार ४८० रुपियाँ नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
करिब ३ दशकपछि सुर्खेत–बाबियाचौर–बेनीघाट सडकको निर्माणको तयारी थालीएको छ । यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा सुर्खेतको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्नुपर्र्ने बाध्यता थियो ।
उमेरले आठ दशक पुग्दै गरेका ज्येष्ठ नागरिक चन्द्रवीरको एउटै सपना छ आफैँले खनेको सडक कालोपत्रे गर्ने। तुलसीपुर उपमहानगरपालिकाका–३, साततलेका चन्द्रवीरले ७१ वर्षको उमेरदेखि राप्ती राजमार्गको तुलसीपुर–सल्यान सडकखण्डको साततलेदेखि खमारीसम्म तीन किलोमिटर सडक खन्नुभएको हो।
मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथमा लाग्ने यार्तुङ मेलाको तयारी सुरु गरिएको छ । पछिल्लो दुई वर्ष कोरोनाका कारण रोकिएको यार्तुङ मेला यस वर्ष यही साउन २३ देखि २७ गतेसम्म आयोजना हुने भएको छ । हरेक वर्षको जनैपूर्णिमाको दिन स्थानीय संस्कृतिसँग जोडिएको यार्तुङसम्बन्धी विशेष कार्यक्रम हुने गर्दछ । धार्मिक तथा सांस्कृतिकका साथै विविध खेलकुद तथा अन्य विविध कार्यक्रमको आयोजना हुने गरेका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ लागू गरेको छ । तीन वर्षअघि सुरु गरिएको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम लागू भएपछि बालविवाह न्यूनीकरण, बालिकाको शिक्षामा पहुँच र चेतनास्तरमा वृद्धि भएको विश्वास गरिएको छ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले चालू आर्थिक वर्षमा सबै वडामा चेतनामूलक कार्यक्रम गर्न लागेको छ ।