हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
देशैभरका चलचित्र घरमा तीन नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘ताराहरू’, ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ शुक्रबारदेखि प्रदर्शनमा आएका चलचित्र हुन् ।
छुदेन काविमोको पुस्तक ‘उरमाल’ लाई मदन पुरस्कार–२०८१ प्रदान गरिने भएको छ ।
सङ्खुवासभा जिल्लाको माघाङ्ग वरपर केन्द्रबिन्दु भएको स्थानीय मापन अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ः१५ बजे भूकम्प गएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुन सक्ने सम्भावित हवाई दुर्घटना न्यूनीकरणका लागि हेलिकोप्टर उडानमा नयाँ नीति लागु गरेको छ । तुलनात्मक रूपमा जोखिम बढी हुने बर्सातको समयमा हेलिकोप्टर उडान नियमन गर्दै प्राधिकरणको उडान सुरक्षा नियमन विभागले हरेक चार उडान–अवतरणपछि हेलिकोप्टरको इन्जिनलाई अनिवार्य ३० मिनेट बन्द गरेर पाइलटले आराम गर्नुपर्ने व्यवस्था लागु गरेको हो ।
सहसचिव खुलाबाट आउने संशोधनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लचिलो नभएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सङ्घीय निजामती सेवा विधेयक–२०८० माथिको छलफल लम्बिएको छ । पछिल्लो दुई वटा बैठकमा सोसम्बन्धी व्यवस्थामा लामो छलफल भए पनि सहमति भएको छैन । सहमति नहुँदा छलफलसमेत अनिश्चित बनेको छ ।
राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक–२०८१ पारित गरेको छ । प्रतिनिधि सभाले गरेको संशोधनमा थप व्याख्यासहित परिमार्जन गरेर माथिल्लो सदनले सो विधेयक पारित गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयक अब राष्ट्रिय सभाले गरेको परिमार्जन स्वीकार गर्न पुनः प्रतिनिधि सभामा पठाइने छ । प्रतिनिधि सभाले राष्ट्रिय सभाको परिमार्जन स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ ।
भारत र चीनले व्यापारिक प्रयोजनमा नेपाली भूभाग प्रयोग गर्ने सहमति गरेपछि सङ्घीय संसद्मा विरोध जारी छ । सबै दलले भारत र चीनको उक्त द्विपक्षीय सहमतिले सार्वभौम नेपालको अपमान भएको बताएका छन् । कूटनीतिक माध्यमबाट उक्त विवाद समाधानका लागि ठोस पहल लिन सांसदहरूले सरकारलाई सुझाएका छन् । भूमि विवादको उक्त घटनामा सत्तापक्ष–प्रतिपक्ष एकै ठाउँमा छन् ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीहरुले मनोबल गुमाउने ‘निरासाको मनोविज्ञान’ मानसिकता राख्न नहुने बताउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ ।
लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि रु आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो ।
शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा मार्ग अवरुद्ध भएका छन् ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशको कार्यावाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ।
डुम्रे–वेशीसहर सडकखण्डमा पर्ने तनहुँको तनहुँ भानु नगरपालिका–२ पाउतुरे खोलाको पुलबाट खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।