वर्षौंदेखि थाती रहेका मुद्दामा छलफल हुने
बुधबारदेखि काठमाडौँमा नेपाल–भारत जलस्रोत सचिवस्तरीय बैठक हुने भएको छ । पहिलो दुई दिन सहसचिवस्तरीय (जेएसटीसी) र तेस्रो दिन सचिवस्तरीय (जेसीडब्लूआर) बैठक हुने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बुधबार र बिहीबार हुने जेएसटीसीको बैठकमा नेपाली पक्षको नेतृत्व जलस्रोत महाशाखाका प्रमुख सहसचिव शिशिर कोइरालाले गर्नुहुनेछ । शुक्रबार बस्ने सचिवस्तरीय समिति (जेसीडब्लूआर)को नवौँ बैठकमा नेपाली पक्षको नेतृत्व जलस्रोत सचिव कुमारसागर राईले गर्नुहुनेछ ।
नयाँ स्टक एक्सचेन्ज खोल्न प्रक्रिया सुरु
अर्काे धितोपत्र बजार (स्टक एक्सचेन्ज)को आवश्यकता छ कि छैन भन्ने लामो समयदेखिको बहस अब भने टुङ्गोमा पुग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनाको प्रक्रिया सुरु गरेपछि यो बहस टुङ्गिएको हो । बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको छ । बोर्डले एकैसाथ वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर)को लाइसेन्सका लागि पनि आवेदन माग गरेको छ ।
सुक्खाग्रस्त क्षेत्रमा खाद्यान्न अभाव
धान खेतीको समयमा वर्षा नहुँदा रोपाइँ हुन नसकेको बाँकेको नरैनापुर गाउँपालिकामा खाद्यान्नको अभाव हुन थालेको छ । स्थानीय सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको सो गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न अभाव भएको भन्दै राहत माग्न आउनेको सङ्ख्या बढ्दै गएको सो गाउँपालिकाले जनाएको छ ।
कफी प्रशोधन उद्योग निर्माण
गुल्मीको सत्यवती गाउँपालिका, ठूलो लुम्पेकमा कफी प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । कफी प्रशोधन उद्योग सञ्चालनका लागि मिश्रित कफी उत्पादक कृषक समूहलाई कफी प्रशोधन उद्योग तथा मेसिन औजार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, गुल्मीले मिश्रित कफी उत्पादक कृषक समूहलाई २३ लाख ५३ हजार ३१६ रुपियाँको कफी प्रशोधन उद्योग निर्माण गरिदिएको हो ।
सुपथ मूल्य पसल कति ‘सुपथ’
चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढी हुने भएकाले उपभोक्ता नठगिऊन् भनेर सरकारले विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले शनिबारदेखि उपत्यकासहित देशका विभिन्न भागमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छन् ।
चाहिनेभन्दा दोब्बर नुन उपभोग
नेपाली उपभोक्ताले शरीरलाई आवश्यक पर्नेभन्दा दोब्बर मात्रामा आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्ययनबाट आयोडिनयुक्त नुन उपभोग धेरै भइरहेको देखाएको हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम आयोडिनयुक्त नुन आवश्यक पर्छ तर सन् २०२० मा प्रकाशित स्वास्थ्य परिषद्को अध्ययनले नेपालीले दैनिक औसतमा ९.१ ग्राम उपभोग गर्ने गरेको पाइएको छ। परिषद्ले सात प्रदेशका ६६ जिल्लाका १५ देखि ६९ उमेर समूहका चार हजार ३६१ जनालाई सहभागी गराएर यो अध्ययन गरेको थियो।
पीपीए खोल्ने तयारी
नेपाल विद्युत् प्राधिकरणले एक हजार पाँच सय मेगावाट क्षमतासम्म जलप्रवाही (आरओआर) आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे सबै अध्ययन सकेर प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पेस गरिसकेको जानकारी दिनुभएको हो ।
नआउने भयो जीटुजी सम्झौताको मल
सरकारले भारतसँग गरेको जीटुजी (सरकार–सरकार) सम्झौताबमोजिमको मल नआउने भएको छ । मलको मूल्यमा कुरा नमिलेका कारण भारतबाट तत्काल मल नल्याउने भएको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले गोरखापत्रसँग भन्नुभयो, “हामीले खुला टेन्डरबाट खरिद गर्नेभन्दा भारतबाट जीटुजी माध्यमको मल लिँदा महँगो भएका कारण तत्काल त्यहाँबाट मल नल्याउने भयौँ ।”
छ कम्पनीविरुद्ध मुद्दा
वैदेशिक रोजगार विभागले पछिल्लो तीन महिनामा छवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा, साउनमा दुईवटा र भदौमा एउटा गरी छवटा म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो । यी छवटा म्यानपावर कम्पनीका १८ जना सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गरी विभागले पहिलो पटक न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।
‘विश्व आर्थिक मन्दीको खतरा’
विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दी सन्निकट रहेको औँल्याएको छ । सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउने सङ्केत गरिरहेको जनाएको हो ।
नेपाल र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु ३४ अर्ब ९६ करोड) र डिजिटल नेपाल गतिवृद्धि (डिएनए) आयोजनाका लागि १४ करोड डलर (रु १८ अर्ब) को सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।
किसानलाई परिचयपत्र दिने तयारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ । हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले जानकारी दिनुभयो । दशैँपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
खोरेतविरुद्ध खोप अभियान सुरु
कर्णाली प्रदेशमा पहिलो पटक पशुमा खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले रुकुमपश्चिमबाट पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु गरेको हो ।
ब्याजदर बढ्ने दिशातर्फ
लामो समयदेखि ब्याजदरलाई नियन्त्रण गर्ने वाणिज्य बैङ्कको प्रयासको अन्त्य भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैङ्कर्स सङ्घले गत माघदेखि गर्दै आएको भद्र सहमतिको नाममा ब्याजदर नियन्त्रणको प्रयास असोजदेखि टुङ्गिएको सङ्केत आएको हो । वाणिज्य बैङ्कका प्रमुखहरूले आफूखुसी ब्याजदर तोक्ने सहमति गरेका हुन् । यो सहमतिपछि शुक्रबार वाणिज्य बैङ्कहरूले असोजका लागि विभिन्न स्किमका बचत तथा मुद्दती खातामा दिने ब्याजदर बढाएको सार्वजनिक गरेका छन् । अधिकांश बैङ्कले नयाँ ब्याजदर व्यक्तिगत मुद्दती खातामा १२.१३, संस्थागतमा १०.१३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३.१३ प्रतिशत कायम गरेका हुन् ।
पाहुना आकर्षित गर्दै होमस्टे
बाँकेका गाउँबस्तीमा सञ्चालित होमस्टे (घरबास)ले आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेका छन् । शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले फरकपन दिने गरेकाले यहाँका होमस्टेमा पाहुना आकर्षित भएका हुन् । पाहुना बढ्न थालेसँगै होमस्टेका सङ्ख्या पनि बढिरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न झन्डै दुई अर्ब खर्च
सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन तथा अलपत्र र बिरामी भएका श्रमिकको उद्धारका लागि दुई अर्बभन्दा बढी रकम खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डले शव ल्याउन, अङ्गभङ्ग भएका बिरामी ल्याउन र अलपत्र श्रमिकलाई स्वदेश ल्याउन वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट दुई अर्ब एक लाख रुपियाँ खर्च गरेको हो । बोर्डले साउदी अरब, कतार संयुक्त अरब इमिरेटस् (यूएई) मलेसिया, कुवेत, ओमन र बहराइनमा अलपत्र ३२ वटा शव नेपाल ल्याउन एक करोड छ लाख रुपियाँ खर्च भएको जनाएको छ ।
छुटसहित सुपथ मूल्य पसल सुरु
उद्योग, वाणिज्य तथा आपूूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुुभयो । थापाथलीस्थित खाद्य कम्पनीको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा शनिबार सुपथ मूल्य पसल उद्घाटन गर्दै मन्त्री बडूले चाडपर्वमा किनमेल बढी हुने हुँदा मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभएको हो ।
घट्यो राजस्व, बढ्यो खर्च
अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व सङ्कलनमा कमी आएको छ । आव २०७८/७९ को साउन र भदौ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ८५ करोड रुपियाँले राजस्व सङ्कलन घटेको हो । यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७९/८० को दुई महिना (साउन–भदौ)मा एक खर्ब ४३ अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये एक खर्ब ३० अर्ब ७० करोड रुपियाँ कर राजस्व उठेको छ । त्यस्तै १३ अर्ब १० करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको छ ।
घरेलु श्रमिकमा युरोप जानेलाई तालिम अनिवार्य
घरेलु श्रमिकका रूपमा युरोपेली मुलुक जाने व्यक्तिले अबदेखि अनिवार्य रूपमा तालिम लिनुपर्ने भएको छ । घरेलु श्रमिकका रूपमा ती देश जान चाहने व्यक्तिले कम्तीमा ३० कार्यदिनको तालिम लिएको प्रमाणपत्र पेस गरेपछि मात्रै श्रम स्वीकृति दिने बाध्यात्मक व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुुभयो । यस्तो प्रमाणपत्रसँग बायोमेट्रिक हाजिरसमेत पेस गर्नुपर्ने उहाँले बताउनुभयो । साइप्रस, रोमानियालगायतका युरोपेली देशमा नेपा
नपाक्दै धानको बाला झर्न थाल्यो
उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल–४, नामको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । यहाँका लगाउने गरिएको रैथाने रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकामा अहिले किसान पछुताइरहेका छन् । दुई दशकअघिदेखि लगाउँदै आएको खुमल–४ को धानमा रोग लागेर बाला झरिरहेको पाटन नगरपालिका–६ का दिनेश विष्टले जानकारी दिनुभयो । १० पाथी बीउ लाग्ने खेतमा खुमल–४ रोप्नुभएका विष्टले धानको बाला सुकेर झर्न थालेको गुनासो गर्नुभयो । धान भित्र्याउने समयमा राम्ररी पुष्ट नभएको बाला पहेँलो भएर झर्न थालेको उहाँको गुनासो छ ।
फूल निर्यातमा उच्च गिरावट
कोरोना महामारीका कारण फूलको निर्यात उच्च दरमा घटेको छ । महामारीअघि वार्षिक २० करोड रुपियाँसम्मको फूल निर्यात भइरहेकामा अहिले एक करोडभन्दा कममा झरेको व्यवसायीले बताएका छन् । “फूलको आयातमा वृद्धि भइरहेको छ तर निर्यात घटिरहेको छ,” फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का महासचिव विश्वमणि पोखरेलले भन्नुभयो । उहाँका अनुसार आव २०७८÷७९ मा ९८ लाख रुपियाँको मात्र फूल निर्यात भएको छ जब कि त्यसअघि १९ करोडदेखि २० करोड रुपियाँसम्मको फूल निर्यात हुन्थ्यो ।
जजिराले थाल्यो भैरहवाबाट दैनिक उडान
जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुुवेतका लागि दैनिक उडान सुरु गरेको छ । गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै कुवेत–भैरहवा साताको तीन उडान गर्दै आएको जजिराले शुक्रबारदेखि दैनिक एक उडान सुरु गरेको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरवेजले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताउनुभयो ।
दशैँलक्षित विशेष बजार अनुगमन
सरकारले आउँदो आइतबार असोज २ गतेदेखि काठमाडौँ उपत्यकामा दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा विज्ञसहितको ११ वटा टोलीले दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको हो । विभागका अनुसार चाडपर्वमा बढी सामान माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन् भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको हो ।
आजदेखि सुपथ पसल सञ्चालन
दशैँ, तिहार र छठलाई लक्षित गरेर शनिबारदेखि काठमाडौँ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुँदै छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पाेरेसन र दुग्ध विकास संस्थान (डीडीसी)मार्फत सुपथ पसल सञ्चालन हुँदै छ । यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्नेछन् ।