नेपालगञ्ज, वैशाख ९ गते । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर बाँके प्रशासनले लाइसेन्स लिएर राखेका हतियार तथा अवैध हतियार प्रहरीलाई बुझाउन दिएको निर्देशनलाई बेवास्ता गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत १६ गते जनताले लाइसेन्स लिएर राखेका हतियार नजिकको प्रहरी एकाइ तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको थियो । तर सो अवधिमा सात वटा मात्र हतियार प्रहरीमा जम्मा गरिएको जनाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अधिकांशले प्रशासनको निर्देशन पालना नगरेको बताउनुभयो । उहाँले बाँकेबाट ५५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको देखिएको जनाउँदै ७ वटा मात्र हतियार बुझाउनुले ती हतियार पनि निर्वाचनमा सुरक्षा चुनौती बन्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । हतियार बुझाउने म्याद सकिए पनि अझै हतियार ल्याएमा बुझेर राख्ने तथा चुनाव सकिएलगत्तै फिर्ता गर्ने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले हतियार बुझाउन सर्वसाधारणलाई फेरि पनि आग्रह गरिएको जनाउनुभयो । उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले निर्वाचन सुरक्षाका लागि निजी हतियार प्रहरीलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म ७ थान मात्र बाह्रबोर बन्दुक बुझाइएकाले अरुलाई पनि बुझाउन फेरि पनि आग्रह गरिएको बताउनुभयो । उहाँले अब प्रशासनबाट हतियार राख्नेहरुको लगत लिएर उनीहरुलाई सम्पर्क गरेर हतियार बुझाउन लगाउने तयारी गरिएको जनाउँदै त्यसपछि पनि नबुझाउनेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । खुला सीमानाका कारण हतियार सजिलै भित्र्याउन सकिने हुँदा लाइसेन्स भएका भन्दा बढी हतियार गैरकानुनी रुपले भारतबाट भित्र्याइएका पनि यहाँ रहेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यस्ता हतियारलाई पटक पटक प्रहरीले पक्राउ पनि गर्दै आएको छ ।
नेपालगञ्ज, वैशाख ७ गते । आसन्न स्थानीय निर्वाचनका लागि नेपाली काँग्रेसले कोहलपुर नगरपालिकाको मेयरमा २३ र उपमेयरमा १६ जनाको नाम सिफारिस गरेको छ । मेयरमा सिफारिस हुनुभएका बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, वर्तमान उममेयर सन्जु कुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निमबहादुर चलाउने (निरज), भुम भण्डारी, चूडामणि कँडेल, नरबहादुर मल्ल र जागेश्वर थारु रहनुभएको छ । यस्तै, उपमेयरमा अन्जना पाण्डे, मीना सिग्देल, द्रोपती वली, केशकुमारी वली र सङ्गीता पौडेलको नाम सिफारिस गरिएको नेपाली काँग्रेस बाँकेले जनाएको छ । नेपालगञ्ज र कोहलपुरको मेयर र उपमेयरका लागि सिफारिस भएका सबै राजनितिक वृत्तमा कुशल मानिन्छन् । काँग्रेसभित्र अब्बल मानिएर सिफारिस भएका सबै नेताको चौतर्फी चर्चा भए पनि मेयर र उपमेयरको टिकट कसले पाउने हुन् भन्ने बारेमा अझै केही भन्न नसकिने अवस्था छ ।काँग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई भएको हुँदा सिफारिस भएर नाम गएका नेताहरु आ–आफ्नो लबिङ गर्न लागिपरेका छन् ।वर्तमान उपमेयर सन्जुकुमारी थारुले आफूले एक कार्यकाल उपमेयर भएर चलाएकोले आफू नै योग्य उम्मेदवार भएको र महिला भएकोले प्राथमिकता पाउनुपर्ने दाबी गर्नुभएको छ । उहाँले कोहलपुरमा नेपाली काँग्रेसको पकड धेरै राम्रो भएको र गत निर्वाचनमा समेत सय मतभित्र नै हारजित भएकोले यस पटक काँग्रेस सबैभन्दा बलियो रहेको बताउनुभयो ।