जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुग्नुभएको छ । उहाँ बिहीबार गुजरात आइपुग्नुभएको भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो ।
श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यू लगाइएको छ । सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कफ्र्यु लगाइएको हो ।
लन्डन, वैशाख १ गते । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू पूरा गरेको पाइएपछि स्वीकृति दिइएको छ,’ औषधि तथा स्वास्थ्य सेवा उत्पादन नियामक निकायले एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।
अबुयोग, वैशाख १ गते । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् ।कैयौ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।