• १५ वैशाख २०८१, शनिबार

बन्दै आँपमा आत्मनिर्भर

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २६ गते । ओखलढुङ्गालाई पुग्ने आँप सुनकोशी गाउँपालिका–१, बलखु ओखलढुङ्गामै फलेका छन्। परम्परागत अन्नबाली भन्दा आँप खेतीबाट बढी फाइदा हुने देखेर बलखुका तीन सयभन्दा बढी घरधुरीले आँप खेती सुरु गरेका छन्। 

आर्थिक वर्ष २०७३/७४ देखि आँप पकेट कार्यक्रममार्फत खेती थालिएको बलखुमा आँप ब्लक कार्यक्रम लागु भएको छ। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले बलखुका विभिन्न कृषि सहकारी, कृषक समूह मार्फत करिब एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक आँप खेती गरिएको छ। 

माल्दा, कलकत्ते, बम्बई, आम्रपाली जातका आँपका १५ हजार कलमी बिरुवा रोपिएको मध्ये पाँच हजार बोट आँप फल्न थालेका छन्। सुनकोशी गाउँपालिका वडा सदस्य डुण्डिराज पहाडीले बाँकी १० हजार आँपका बिरुवा हुर्किने क्रममा रहेको बताउनुभयो।

मिलिजुली कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक दुर्गाहरि जेरोले एक घरधुरीले कम्तीमा १० देखि दुई सय बोटसम्म आँप रोपेको बताउनुभयो। हाल माल्दा आँप प्रति किलो ५० रुपियाँका दरले बिक्री भइरहेको बलखु बेँसीका सहदेव लुइटेलले बताउनुभयो। उत्पादन अनुसार बजार अभाव रहेको लुइटेलको भनाइ छ।

कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हेमबहादुर आलेले बजार व्यवस्थापनमा स्थानीय तह अग्रसर हुनुपर्ने बताउनुभयो। गाउँपालिकाले बजार व्यवस्थापनका लागि पहल गरिरहेको सुनकोशी गाउँपालिका–१ का वडाध्यक्ष तथा प्रवक्ता प्रकाश सापकोटाले बताउनुभयो। आँप सङ्कलन केन्द्र र चिस्यान केन्द्रसाथै यातायातका साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको र यसका लागि योजना बनाइएको वडाध्यक्ष सापकोटाको भनाइ छ। 

अनुमान कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका बागवानी विकास अधिकृत टीकाराम बानियाँका अनुसार सुनकोशी गाउँपालिकाको बलखु बेँसी, सिमलचउर, बलखु गाउँ, आम्बोट, साँधीलगायतका क्षेत्रमा रोपिएको आँपका सबै बोटले उत्पादन दिन थालेपछि आत्मनिर्भर बन्ने छ। पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुसम्म आँपको माग धान्न सक्ने उहाँले बताउनुभयो। ओखलढुङ्गामा आँपको सिजनमा करिब ५० लाख रुपियाँको आँप बाहिरी जिल्लाबाट आयात हुने गरेको अनुमान छ।