• १५ वैशाख २०८१, शनिबार

मिटरब्याजीविरुद्ध दुई हजार उजुरी

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ १८ गते । सर्लाहीमा विभिन्न मिटरब्याजीविरुद्ध एक हजार ९२० वटा उजुरी परेका छन्। मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोगले उजुरी माग गरेदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सो सङ्ख्यामा उजुरी परेको हो। 

ती उजुरी अहिले एक्सल सिटमा प्रविष्ट गरी कुन पालिकाबाट कति उजुरी प-यो र कोविरुद्ध कतिवटा उजुरी परे भनी वर्गीकरण गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वर्गीकरणको काम सकिएपछि जुन पालिकाका उजुरी हुन् त्यही पालिकामा पठाएर स्थानीय स्तरमै पीडक र पीडितलाई बोलाएर छलफल गराउने र नमिले पुनः जिल्ला प्रशासन कार्यालयमा फाइल फिर्ता आउने छ। त्यसपछि जिल्लामा फेरि समाधानको प्रयास गरिने र त्यति हुँदासमेत निकास निस्कन नसके प्रमाण जुटाएर पीडकविरुद्ध ठगी मुद्दा दर्ता गरिने बताइएको छ। 

मिटरब्याजीविरुद्धको उजुरी हेर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति छ। त्यस अन्तर्गत पनि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, जिल्ला सरकारी वकिल, मालपोत तथा नापी कार्यालयका प्रतिनिधिलगायत रहेको सहयोगी कार्यदल निर्माण गरिएको सो कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले कार्यविधि अनुसार उजुरीविरुद्धको छानबिन अगाडि बढाइने बताउनुभयो। जेठ १४ गतेबाट उजुरी दिने अवधि सकिएसँगै जिल्ला प्रशासन कार्यालयका कर्मचारी उजुरीको वर्गीकरण गर्न व्यस्त भएका छन्। 

सहयोगी कार्यदलका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार वर्गीकरणको काम सकिनासाथ मिटरब्याजीविरुद्धको उजुरी सम्बन्धित पालिकामा पठाउने तयारी छ।