• १४ वैशाख २०८१, शुक्रबार

बृहत् स्याउ बगैँचा विस्तार

blog

नेत्र शाही

जुम्ला, वैशाख २२ गते । स्याउले आर्थिक सम्भावना बोकेको जुम्लामा बृहत् स्याउ व्यवसाय सुरु गर्न थालिएको छ । किसान बृहत् व्यावसायिक रूपमा स्याउका बिरुवा रोपेर आर्थिक उत्पादनमा लाग्न थालेका हुन् । जुम्ला गुठीचौर गाउँपालिका–५ का किसान मीनबहादुर भण्डारी नेतृत्वको जलजला, धपडा र काँडाखोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रोफार्ममा ३५ हजार बिरुवा रोपिएका छन् । एकै स्थानमा २८ हजार स्याउका बिरुवा रोपिएका छन् । 

फुजी स्याउ, किङरङ र गोल्डेन जातका स्याउ रोपिएको उक्त बगैँचामा अहिले स्याउ फुल्न सुरु गरेको छ । किसान भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष २०० टन स्याउ फल्ने अनुमान छ ।”  किसान भण्डारीले करिब २२ करोड लगानीमा उक्त बगैँचा व्यवस्थापन गरेको बताउनुभयो । उहाँले गुठीचौर एग्रोफार्ममा एकै बगैँचामा २८ हजार, अर्को ५५ सय र अर्कोमा २८ सय स्याउका बिरुवा रोपिएका छन् । 

पछिल्लो समय व्यवसायी उमेश श्रेष्ठले गुठीचौर एग्रोफार्मको बगैँचामा ५० प्रतिशत लगानी गर्ने सहकार्य भएको स्याउ किसान मीनबहादुर भण्डारीले जानकारी दिनुभयो । 

गुठीचौर एग्रोफार्ममा नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत रु. ४६ लाख ९९ हजार ४५० अनुदान सहयोगसमेत भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमबहादुर शाहीका अनुसार रु. २५ लाख बिरुवामा अनुदान तथा रु. २१ लाख ९९ हजार ४५० सिँचाइ र घेराबारमा अनुदान दिइएको छ । 

गुठीचौर गाउँपालिका–३, तल्लो गुठीचौरमा किसान टङ्क गिरीले २२ हेक्टर जमिनमा १४ हजार स्याउ बिरुवा रोपेर व्यावसायिक कृषि व्यवसायमा लाग्नुभएको छ । उहाँले दुई हजार दुई सय हेक्टर जमिनमा घेराबार गरेर स्याउ लगाउनुभएको हो । 

हिमाली टी एन्ड एग्रो प्रालिको नाममा सुरुवात गरिएको किसान गिरीको बगैँचाका लागि २४ लाख ४९ हजार १५१ रुपियाँ अनुदान प्राप्त भएको सुपरजोन कार्यालयले जनाएको छ । उहाँका अनुसार स्याउबाटै आर्थिक समृद्धि देखेकाले निकै कष्टका साथ बगैँचा निर्माण गरिएको बताउनुभयो । 

गुठीचौर गाउँपालिका–५ मा पनि दुई हजार आठ सय बिरुवा रोपिएको सामुदायिक बगैँचा स्थापना गरिएको छ । स्थानीय धर्म भण्डारीले सामूहिक रूपमा सो बगैँचा स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक बगैँचाको जग्गा ४० जना किसानको रहेको छ । सो बगैँचामा पनि सरकारले लगानी सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले बिरुवाका लागि ५० प्रतिशत अनुदानबापत एक हजार पाँच सय रुपियाँ उपलब्ध गराएको छ । 

हजारौँ बिरुवा रोपेर नमुना बगैँचा सुरुवात गरिएपछि ती बगैँचाहरू अहिले एग्रो पर्यटन तथा अवलोकनको क्षेत्रका रूपमा सुरुवात हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ठूलो लगानीका नमुना बगैँचा सुरु गरेपछि जिल्लामा उत्पादन हुने स्याउमा थप वृद्धि हुने भन्दै प्रवद्र्धन गर्न आवश्यक रहेको बताउँदै आएको छ । कार्यालयले जिल्लाका राजनीतिक दल, जिल्ला समन्वय समिति, स्थानीय सरकार, स्थानीय प्रशासनसहित सरोकारवाला निकायलाई त्यस क्षेत्रमा अवलोकन गराएको छ । 

कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार गत आर्थिक वर्षमा जुम्लाले १८ हजार मेट्रिक टन स्याउ उत्पादन गरेको छ । उहाँले नेपाली बजारमा सबैभन्दा बढी जुम्लाको स्याउ बिक्री हुने गरे पनि अब विदेशबाट आयात कम गर्न जुम्लामा स्याउ उत्पादन तथा व्यवस्थापन महत्वपूर्ण रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बृहत् स्याउ बगैँचाको अवधारणाले अन्य किसानलाई समेत ऊर्जा दिने बताउनुभयो ।