• १५ वैशाख २०८१, शनिबार

राजनीतिक परिवर्तनको अन्तर्य

blog

आज ११ वैशाख । वि.सं २०६३ साल राजाले नागरिकसामु आत्मसमर्पण गरेको दिन । नेपाली नागरिकले तेस्रो पटक लोकतन्त्र बहाल गरेको दिन । माओवादीले १० वर्ष लामो हत्या र हिंसाको राजनीति छाडेर शान्तिपूर्ण ढङ्गमा दलहरूसँग सहकार्य गरेर सफलता प्राप्त गरेको दिन । दोस्रो जनआन्दोलन सफलतापछि १७ वर्ष पूरा भएको दिन । यही जगमा मुलुकबाट २४० वर्ष शासन जमाएको राजतन्त्र समूल नष्ट भएको १५ वर्ष पूरा हुन भने पाँच हप्ता बाँकी छ । बितेका वर्षको गणना नै गर्ने हो भने आफ्ना दाजु वीरेन्द्रको सपरिवार हत्यापछि माहिला भाइ अधिराजकुमार ज्ञानेन्द्रले महाराज हुने अवसर पाएको २२ वर्ष पूरा हुन पनि त्यस्तै पाँच हप्ता बाँकी छ । 

नेपाली आधुनिक राजनीतिमा वैशाख र जेठ महिनामा केही रोमाञ्चक र केही दुःखद् घटनाका संयोग परेका छन् । ती घटनाले नेपालको परम्परागत राजनीतिलाई नै अन्यत्र मोडिदिएको छ । नेपालको पहिलो जननिर्वाचित संसद्ले पहिलो प्रधानमन्त्री पाएको जेठ महिनामा नै हो । नेपाली कांग्रेसका नेता बीपी कोइराला २०१६ साल जेठ १० गते संसद्मा दुई तिहाइ मत प्राप्त पार्टीको हैसियतमा मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । नेपालमा राजतन्त्र अन्त्यको घोषणा पनि संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गरेको हो । राजनेताको लक्षण देखाएका नेपाल कम्युनिस्ट पार्टी एमालेका शक्तिशाली महासचिव मदन भण्डारीको गाडी दुर्घटनामा परेर २०५० जेठ ३ गते देहावसान भएको थियो । 

इतिहासबाट सुरु गर्ने हो भने १९९२ जेठमा मुलुककै पहिलो राजनीतिक पार्टी प्रजा पञ्चायत गठन गरिएको थियो । यही प्रजा पञ्चायतलाई १९९७ भदौ १८ मा अधिवेशन मार्फत राष्ट्रिय प्रजा परिषद् बनाई टङ्कप्रसाद आचार्य सभापति हुनुभएको हो । नेपालको यो पहिलो राजनीतिक सङ्गठनले प्रारम्भ गरेको राणा शासन विरोधी अभियानले नै मुलुकमा प्रजातन्त्रको जग खनेको हो । यद्यपि, यो अभियानमा लागेकै कारण १९९७ साल माघमा चार जनाले सहादत प्राप्त गरेका थिए । 

२००४ जेठ ३ गते राणा प्रधानमन्त्री पद्मशशेरले वैधानिक सुधारको घोषणा गरेका थिए । यद्यपि, त्यसको २५ दिनपछि जेठ २८ गते आफैँ भारत पलायन हुनुप¥यो । त्यही जेठ १५ गते पहिलो कवि सम्मेलन केदारमान व्यथितको नेतृत्वमा सम्पन्न भएको थियो । सोही जेठ महिना सकिएको अर्को दिन असार १ गते जयतु संस्कृतम् नामको विद्यार्थी सङ्गठन गठन गरियो । पूर्णप्रसाद ब्राह्मण यसको पहिलो अध्यक्ष हुनुहुन्थ्यो । नेपालका विद्यार्थी पहिलो पटक प्रजातन्त्रका पक्षमा सङ्गठित भएको यो पहिलो घटना हो । संस्कृत छात्रावास तीनधारमा रहेका विद्यार्थीले राजनीतिक उद्देश्यका लागि यो सङ्गठन गरेका थिए । 

२००६ सालको जेठ महिनामा नै नेपाली राष्ट्रिय कांग्रेसले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको थियो । त्यो बेला बीपी कोइराला जेलमा हुनुहुन्थ्यो । देशभित्रको यो आन्दोलन र भारतीय सरकारको बारम्बारको दबाबपछि बीपीलगायत राजनीतिक बन्दी रिहा हुनुभएको थियो । बीपी जेलमुक्त भएपछि २००५ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकता प्रक्रिया सुरु भयो । अन्ततः यही नेपाली कांग्रेस पार्टीको आह्वानमा २००७ कात्तिक २५ गते क्रान्तिको विगुल फुक्दै वीरगञ्जमा पहिलो आक्रमण भएको थियो । यो आन्दोलनले मुलुकमा राणा शासनको अन्त्य र प्रजातन्त्रको बहाली गराएको थियो । 

२००७ सालदेखि २०१५ सालसम्म राजा त्रिभुवन र महेन्द्रबाट अनेक चाल र खेलहरू चलिरहे । अनेक जालझेलका बीच २०११ जेठ ३२ गते राजा त्रिभुवनले सल्लाहकार सभाको उद्घाटन गर्दै देशमा चाँडै आमनिर्वाचन हुने घोषणा गर्नुभएको थियो तर त्यस्तो हुन सकेन र उहाँको मृत्युपछि राजा महेन्द्रले २०१२ वैशाख २५ मा देशभरका १२९ राजनीतिक दललाई दरबारमा बोलाउनुभयो । यो भेलाको मागअनुरूप सोही साउन २४ गते आमचुनाव गराउने घोषणाका साथ टङ्कप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाइयो । योसँगै २०११ फागुन १९ देखि चल्दै आएको राजा महेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भयो । यद्यपि यो सम्मेलनमा चार राजनीतिक दलले भाग लिएनन् । भाग नलिनेमा नेपाली कांग्रेस पनि थियो । 

२०१५ जेठ ७ गते प्रधानमन्त्रीको सट्टा अध्यक्षमा नेपाली कांग्रेसका सुवर्णशमशेरलाई राखेर सात सालपछिको सातौँ नयाँ मन्त्रिपरिषद् गठन गरियो । यो सरकारले नै मुलुकमा पहिलो आमनिर्वाचन गरायो । यो सरकारमा राष्ट्रिय गोरखा परिषद्का रणधीर सुब्बा, नेपाल प्रजा परिषद्का चन्द्रभुषण पाण्डे र नेपाली राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मी मन्त्री बनाइएका थिए । अरू दुई स्वतन्त्र नागरिक पुरेन्द्रविक्रम शाह र भूपालमानसिंह कार्कीलाई पनि मन्त्री बनाइएको थियो । यो सरकारले गराएको निर्वाचनमा संसद्का १०९ सिटमध्ये कांग्रेसले ७४ सिटमा विजय पाएको थियो ।

२०२७ वैशाख ६ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले पहिलो प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको पहिलो अधिवेशनको विधिवत् उद्घाटन गर्नुभयो । उहाँ केही समयअघि अर्थात् २०२६ चैत २६ मात्र जेलमुक्त हुनुभएको थियो । २०४६ मा चैत २६ गते नै मुलुकमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि कृष्णप्रसाद भट्टराई २०४७ वैशाख ६ गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले सात महिनाभित्रै नेपालको बहुदलीय संविधान जारी गराई एक वर्षभित्रै संसदीय निर्वाचन गराउनु भयो । २०४८ वैशाख २९ गते भएको यो निर्वाचनमा संसद्का २०५ मध्ये ११० स्थानमा नेपाली कांग्रेस विजयी भएको थियो । प्रधानमन्त्री भट्टराई स्वयं भने पराजित हुनुभयो । यो निर्वाचनमा ६५ प्रतिशत अर्थात झन्डै ७३ लाख मत खसेको थियो । त्यसमध्ये कांग्रेसले ३९.५ प्रतिशत अर्थात् २७ लाख ७२ हजार मत पाएको थियो । 

२०३५ सालको विद्यार्थी आन्दोलनको प्रतिफल स्वरूप देशमा पहिलो पटक राजा वीरेन्द्रबाट २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरिएको थियो । जनमत सङ्ग्रह भने २०३७ वैशाख २० गते गराइएको थियो । २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछिको यो पहिलो प्रजातान्त्रिक अभ्यास थियो । जनमत सङ्ग्रहको घोषणापछि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर गराइएको यो निर्वाचनमा व्यापक धाँधलीका बीच बहुदलका पक्षमा २० लाख र निर्दलका पक्षमा २४ लाख मत खसेको देखाइएको थियो । यो निर्वाचनमा बहुदल पक्षलाई हराइए पनि यसले प्रजातन्त्र पुनर्बहालीको आन्दोलनलाई भने मुखरित गरिदियो । 

२०४२ जेठमा नै नेपाली कांग्रेसले प्रजातन्त्रका पक्षमा अहिंसात्मक आन्दोलन स्वरूप सत्याग्रह सुरु गरेको थियो । जेल भर्ने अभियानअन्तर्गत नेपाली कांग्रेसका हजारौँ कार्यकर्ता थुनिएका थिए । सत्याग्रह चलिरहँदा बमकाण्ड भएपछि शान्तिपूर्ण आन्दोलन स्थगित गरियो तर कांग्रेस कार्यकर्ता भने आठ÷नौ महिनासम्म जेलमा थुनिइरहे । यो बमकाण्ड गराउने रामराजाप्रसाद सिंह राष्ट्रपतिको पहिलो निर्वाचनमा प्रत्यासी बन्नुभएको थियो । त्यसबेला नारायणहिटी राजदरबारको गेट, राष्ट्रिय पञ्चायतको मूल ढोका र अन्नपूर्ण होटलमा बम पड्किएका थिए । यी घटनामा एक राष्ट्रिय पञ्चायत सदस्यसमेतको मृत्यु भएको थियो । 

२०५८ जेठ १९ मा नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको वंश नाश हुने गरी हत्याकाण्ड मच्चाइयो । यो घटना अझै रहस्यको गर्भमा छ । राजा वीरेन्द्र र रानी ऐश्वर्यका सबै सन्तानको जीवन लिला समाप्त भएको यो घटनामा कुल १० जनाले ज्यान गुमाउनु परेको थियो । यो घटनाको छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधव नेपाललाई तोकिएको थियो । माधव नेपालले छानबिनको काममा सहयोग गर्न चाहनु भएन । बाँकी दुई जनाले गरेको छानबिनमा युवराज दीपेन्द्रले हत्या गरेको भनियो । 

२०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा ग¥यो । यो घोषणा गर्दा संविधान सभाको अध्यक्षता ज्येष्ठ सदस्यका हैसियतमा कुलबहादुर गुरुङले गर्नुभएको थियो । २०५९ मा भएको राजाको हत्यासँगै गणतन्त्रका पक्षमा आवाज बलियो बन्दै आएको थियो र अन्ततः संविधान सभाले दरबारमा बसेर संविधान सभा बैठक टेलिभिजनमा हेरिरहेका राजालाई अपदस्थ गरेर गणतन्त्र स्थापना गरेको थियो । राजनीतिको यो ऐतिहासिक घटनालाई शान्तिपूर्ण अवतरण गर्न दललाई राजाले सहयोग नै गरे । १५ वर्षको अवधिमा गणतन्त्र नेपालले डा. रामवरण यादव, विद्यादेवी भण्डारी र रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा पाएको छ । 

यसरी २००७ सालको प्रजातन्त्र स्थापनाको आन्दोलनको घोषणादेखि गणतन्त्र स्थापनाका लागि भएका महìवपूर्ण घटना तथा परिघटना वैशाख र जेठ महिनामा नै भएका छन् । यी घटनाले धेरै राजनीतिक फेरबदल भएका छन् । राणाशासन अन्त्य, प्रजातन्त्रको पुनर्बहाली र गणतन्त्रको स्थापनाका तीनवटै घटनामा २००७ सालको पुस्ताले नै नेतृत्व लियो । आजको पुस्ताले राजनीतिक परिवर्तनको नेतृत्व लिनुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिलाई नारा बनाइरहँदा त्यसको प्राप्ति ‘आकाशको फल, आँखा तरी मर’ नहोस् र वर्तमान नेतृत्वले नागरिकका ती आकाङ्क्षालाई ठिक ढङ्गमा सम्बोधन गर्न सकोस् भन्ने मात्र हो । लोकतन्त्र दिवसको सबैमा शुभकामना ।

लेखक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । 

  

Author

डा. सुरेश आचार्य