• १४ वैशाख २०८१, शुक्रबार

थुनुवा कक्ष खचाखच

blog

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख ४ गते । बागमती प्रदेशमा प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई राख्न बनाइएका कतिपय थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राखिएको पाइएको छ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाले प्रदेशका कतिपय जिल्लाको प्रहरी कार्यालयमा थुनुवा कक्षको क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको जनाएको हो।

बागमती प्रदेशका १० जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक) कार्यक्षेत्र रहेको बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहानसम्म रसुवाबाहेकका नौ जिल्लाका जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयमा गरी ३३६ जना थुनुवा रहेका छन्। आइतबार बिहानसम्म रसुवा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा एक जना पनि थुनुवा नरहेको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ। 

नौ जिल्लाका प्रहरी कार्यालयमा प्रहरी हिरासतमा रहेका थुनुवामध्ये सोधपुछका लागि थुनुवा कक्षमा रहेका चार महिलासहित ५० जना र म्याद थपका लागि थुनुवा कक्षमा राखिएका २१ महिलासहित २८६ जना छन्। सबैभन्दा बढी थुनुवा चितवनमा ९३ जना र मकवानपुरमा ८४ जना छन्।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय, हेटौँडाका कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीले प्रदेशभित्रका कतिपय जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको अध्ययन निरीक्षणका क्रममा भेटिएको जानकारी दिनुभयो। उहाँले कारागार र प्रहरी थुनुवा कक्ष आयोगको अनुगमन निरीक्षण नियमित तालिकाभित्र पर्ने बताउँदै अनुगमनका क्रममा काठमाडौँ, मकवानपुर, चितवनलगायतका जिल्लाका थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको पाइएको जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “क्षमताभन्दा बढी थुनुवा राख्दा सुत्ने, बस्नेलगायतका मानव अधिकारका न्यूनतम मान्यताको पालना नभएको पाइने गरेको छ। थुनुवा कक्षको अवस्था सुधार गर्न सुझाइएको छ। भौतिक पूर्वाधार अभावमा क्षमताभन्दा बढी थुनुवा राख्ने गरिएकाले बस्नेहरूलाई समस्या भएको छ।”

यस्तै आइतबार बिहानसम्म नुवाकोटका प्रहरी कार्यालयमा रहेका थुनुवा कक्षमा सोधपुछका लागि ल्याइएका एक र म्याद थपका लागि राखिएका १७ गरी १८ जना, धादिङ जिल्लामा सोधपुछका लागि ल्याइएका १४ र म्याद थपका लागि राखिएका २१ गरी ३५ जना तथा काभ्रेमा सोधपुछका लागि ल्याइएका सात र म्याद थपका लागि राखिएका २० गरी २७ जना थुनुवा कक्षमा छन्।

सिन्धुपाल्चोक जिल्लामा म्याद थपका लागि राखिएका १०, रामेछापमा सोधपुछका लागि ल्याइएका दुई र म्याद थपका लागि राखिएका आठ गरी १० जना, दोलखामा म्याद थपका लागि राखिएका नौ तथा सिन्धुलीमा सोधपुछका लागि ल्याइएका एक र म्याद थपका लागि राखिएका २४ गरी २५ जना थुनुवा प्रहरीको थुनुवा कक्षमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय परिसरमा थुनुवाका लागि चारवटा कक्ष रहेकामा तीमध्ये एउटा महिला थुनुवा कक्षको व्यवस्था गरिएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवा कक्ष सय जनाभन्दा बढी क्षमताको रहेको जिकिर गर्दै उहाँले थुनुवा कक्षमा रहेका थुनुवामध्ये लागूऔषधसम्बन्धी मुद्दाका बढी रहेको बताउनुभयो।

उता मानव अधिकारको क्षेत्रमा क्रियाशील मकवानपुर जिल्ला अदालत बारका अध्यक्ष अप्सरा बस्नेतले मकवानपुरको थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्ने गरेको गुनासो आउने गरेको जानकारी दिनुभयो।

जिल्ला न्याय क्षेत्र समन्वय समितिका सदस्यसमेत रहनुभएका बस्नेतले थुनुवा कक्षमा क्षमताभन्दा बढी थुनुवा राख्ने गर्दा बसाइ असहज भएको र सामान्य सुविधासमेत नभएको भनी समितिको गत चैतमा भएको बैठकमा छलफलको विषय बनेको बताउनुभयो। 

मकवानपुर जिल्ला अदालतका स्रेस्तेदार तीर्थ भट्टराईले थुनुवालाई अदालत ल्याउँदाको समयमा के समस्या छ भनेर सोधपुछ गर्दा बयान ढिलो भयो, समयमा मुचुल्का भएन भन्नेलगायतका गुनासो गर्ने गरेको बताउनुभयो।